केही समयएता प्रवासमा रहेको नेपाली डाएसपोरा र नेपालस्थित नेपाली बौद्धिक बर्गको घम्साघम्सी नै चलेको देखिन्छ। नेपालमा रहेको बौद्धिक वर्गले प्रवासी नेपालीले राजनीतिक, सामाजिक विषयबारे केहि बोल्ने बित्तिकै रुस्ट हुने , उनीहरु प्रवासमा रहेकोले उनीहरुको विचार सिधै निषेध गर्ने गरेको र इर्ष्या गरेको जस्तो देखिन्छ।
सामाजिक संजाल अहिलेको समयमा विचार आदान-प्रदानको सशक्त श्रोत रहेकोले त्यतैबाट यी वैचारिक शीत-युद्ध चलेका देखिन्छन् । विशेषत अमेरिकाको पूर्वी-तट (इस्ट-कोस्ट) मा रहेको बौद्धिक समुह (न्यू-योर्क, न्यू-जर्सी) का नेपालीहरूलाई केहि समयएता नेपाली राजनीतिज्ञहरूले खुलेआम प्रवासी नेपालीहरुको नेपाली राजनीतिक/बौद्धिक बहसको सहभागिताको निन्दा गर्ने गरेका छन्। सामाजिक संजालमा एकजना सार्बजनिक व्यक्तित्व डा. सुरेश आचार्यले "कुकुर भुक्ने ", "भाडामा बिक्ने", देशमा टिक्ने हैसियत नभएको इत्यादि लाञ्चनाजनक शब्दावलीहरू प्रयोग गरेर रोष प्रकट गरेको देखिन्छ , यहानेर मलाई एकजना समिक्षक शैलेश श्रेष्ठको प्रश्न र विचार एकदमै जायज लाग्यो, "मेरो देश नेपालको चिन्ता गर्न र चासो राख्न मैले तपाइको अनुमति किन लिनु परयो ?" त्यस्तै केहि समय मात्रै किशोर नेपालले डाएसपोरासँग निहूँ खोजेर उत्पात मच्चाएका थिए।
मैले के बुझ्न सकेको छैन भने विदेशिने बित्तिकै नेपालीहरूले रेमिट्यान्स बाहेक अरू केहि योगदान देशलाई दिने नसक्ने हो कि ? देश छोड्ने बित्तिकै नेपालीहरूले देशलाई "इमोसनल डिभोर्स " नै दिनु पर्ने हो कि ? विदेशिने बित्तिकै नेपालीहरुको बौद्धिकता शुन्य हुने हो रैछ ? खै नेपालमा त्यस्तै सोच्दा रहेछन भन्ने बुझिन्छ।
मेरो देशका विद्वान नेताहरू राजनितिक आलोचना सहन नसक्ने बडो "पातलो छाला " भएको पाएँ। उहाहरू सार्बजनिक व्यक्तित्व हुन चाहनु हुन्छ, त्यो नाम, पद चाहनु हुन्छ तर आलोचना आउने बित्तिकै रिसाएर चुर हुनु हुन्छ, उहाँहरूको अहंकारलाई ठूलो चोट पुग्छ, पर्सनलि लिनु हुन्छ । घरि "पर्सनल " घरि "पब्लिक फिगर" अरे वाह ! यो त बडा "सेलेक्टिव " वा "अवसरवादी " पारा भयो।
एउटा लिडर हुनु र विद्वान हुनु छुट्टा छुट्टै कुरा हुन्। विद्वान् थुप्रै भए तर सच्चा लिडर हुन सकेनन। हामीलाई सच्चा लिडरको आवश्यकता छ। यती धेरै नेपाली विदेसिनु परेको बिडम्बनाको जिम्मेवारी लिन छोडेर, हाम्रा केहि "विद्वान्" हरू उल्टै उनीहरूलाई गाली गर्न होच्च्याउन लालायित देखिन्छन। लिडर भएपछि आलोचना लिन सिक्नुस् विद्वान् मित्रहरू , नत्र लिडरशिपको पदमा नआउनुस। यति फाइदा लिन सकिने डायस्पोरा बर्गको नेपाली राजनीतिमा र अर्थतन्त्रमा लिन सकिने लाभलाई हेर्न छोडेर उनीहरुको सहभागितालाई निरुत्साहित गर्ने सोचलाई बदल्नु आवश्यक देखिन्छ। नेताहरू "स्मार्ट" हुनुस् , डायस्पोराबाट फाइदा लिनुस् , देशलाई राम्रो हुने काम गर्नुस,पटमूर्ख जस्तो बेकार बहसमा न लाग्नुस्।
अन्य मुलुकले प्रवासी नेपालीहरूबाट देशलाई कसरी फाइदा हुन्छ त्यतातिर ध्यान दिएको हुन्छ। उदाहरणको लागि भारतले बिदेसिएका आफ्ना नागरिकबाट फाइदा उठाउन 'भगवती कर' को अवधारणा ल्याएको छ, यो अवधारणा अमेरिकाको नीति , "टोबिन ट्याक्स " बाट अभिप्रेरित छ। प्रवासीबाट देश मा लगानी बढाउन, देशमा उनीहरुलाई फर्काउन थुप्रै नीति ल्याउने गर्छ। नेपालको अर्थतन्त्रमा प्रवासी नेपालीको रेमिट्यान्सको महत्वपुर्ण भूमिका छ। देशले रेमिट्यान्स बाहेक थुप्रै अरु फाइदा लिन सक्थ्यो तर नेपालका बौद्धिक हरूले अहंकार छोडेर, देशको बृहत्तर प्रगतिको लागि सोच्दिने हो भने मात्रै।