अमेरिकाको राजनीतिमा हयारी भण्डारी अर्थात एचवि भण्डारी नेपाली अमेरिकनको तर्फबाट आगामी वर्ष हुने निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
अमेरिकामा नेपाली आप्रवासीको तीन दशकको इतिहासमा मूलधारको राजनीतिमा होमिएका औंलामा गन्न सकिने मध्ये एक हुन ह्यारी भण्डारी। मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ अन्तर्गतको स्टेट डेलिगेटसमा डेमोक्रयाट पार्टीको तर्फबाट निर्वाचनमा होमिएका ह्यारीले जीत हासिल गर्न सके नेपाली अमेरिकनको एउटा प्रतिनिधिको रुपमा उनले ईतिहास रच्नेछन्। त्यसो त उनले सन् २०१४ को निर्वाचनमा पनि उमेदवारी दिएका थिए,तर त्यो पराजयको अवस्थालाई पाठ सिकेर थप रणनीति बनाइएको एचविको दाबी छ।
ह्यारीको उम्मेदवारीको बारेमा चर्चा गर्नु अगाडि पछिल्ला नौ महिनामा अमेरिकामा आएको डेमोक्रयाटको लहरलाई सरसर्ति हेरौं ।
अमेरिकी सञ्चार माध्यमले सन् २०१८ लाई डेमोक्रयाट पार्टीको वर्षको रुपमा हेरेका छन्। यस वर्ष विभिन्न ३३ सिनेटरको चुनाव हुँदैंछ भने राज्यस्तरका चुनावले पनि अमेरिकाको सिनेट र कंग्रेसमा डेमोक्रयाट पार्टीको र्वचस्व रहने अँकलन छ। यसलाई बल दिने गरि भर्जिनिया र अल्वामाको चुनावलाई उदाहरणको रुपमा लिने गरिएको छ।
यी दुई राज्यमा रिपव्लिकनलाई पछाडि पार्न सफल भएपछि डेमोक्रयाट पार्टीको देशव्यापी लहरले सन् २०१८ को नतिजा उक्त पार्टीको पक्षमा जाने धेरैको विश्वास छ। अल्वामामा सिनेट जितेर डेमोक्रयाट पार्टीले कूल १०० सदस्यको सिनेटमा ४९ सिट बनाउन सफल भएको छ।
ह्यारीको अवस्थाअघिल्लो पटकसम्म हयारीले चुनाव लड्दा उनी आफ्नै बलबुताको भरमा चुनावी मैदानमा होमिएका थिए। नेपाली समुदायको सहानुभूति र डेमोक्रयाट पार्टीका स्थानीय नेताहरुको सहयोगले गर्दा उनले मैदानमा मजवुत उम्मेदवार त बने तर जीत हात पार्न सकेनन्। यद्यपी उनलाई वाल्टिमोरको चर्चित पत्रिका वाल्टिमोर सनले उदयीमान नेताको सूचीमा राखेर ईण्डोर्स गरेको थियो।
यो पटक उनको अवस्था मजवुत हुनुमा तीन पक्षले काम गरेको छ। पहिलो उनी डेमोक्रयाट पार्टीको आधिकारिक उमेदवार बन्न सफल भएका छन्। दोश्रो उनले वाल्टिमोर काउन्टीको विभिन्न कार्यक्रमहरुमा आफनो उपस्थितिलाई खदिलो बनाएका छन्। तेश्रो उनलाई डेमोक्रयाट पार्टी भित्रै एक सम्भावना भएको व्यक्तिको रुपमा हेर्ने समूहको दायरा विस्तारित भएको छ।
आफ्नो उपस्थितिलाई मजवुत बनाउन उनले पछिल्ला चार वर्षमा निकै खटेर काम गरेका छन्, नेपाली समुदायको लागि अमेरिकी सरकारसँग जोडने काममा होस या डेमोक्रयाट पार्टीको लागि सहयोग पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गरेर होस् उनी अहोरात्र खटेका भेटिन्छन्, देखिन्छन्। उनले आफ्नो पहलमा नेपाली फर हिलारी भनेर अभियान मात्र चलाएनन् त्यसलाई डेमोक्रयाट पार्टीसँग आधिकारिक रुपमा जोडन सफल समेत भएका थिए।
त्यसैले उनले आधिकारिक रुपमा नै डेमोक्रयाट पार्टीको लोगो र प्रचार सामाग्रीहरुमा नेपाली फर हिलारी भनेर लेखाउन सफल भए, यो उनको एउटा सफलता हो भने डेमोक्रयाट पार्टीको नेशनल सम्मेलनमा सहभागी भएर उनले पार्टीको केन्द्रीय निकायसम्म आफ्नो उपस्थिति जनाउन सफल भएका छन् यो उनको राजनीतिक भविष्यको लागि एउटा महत्वपूर्ण खुटकिलो हो।
कस्तो पद हो त ?ह्यारीले अहिले उम्मेदवारी दिन लागेको पद भनेको हाउस अफ डेलिगेटस हो, वाल्टिमोर राज्यको विभिन्न ४७ क्षेत्रबाट १४१ जना प्रतिनिधीहरु निर्वाचित हुने मध्ये डिष्ट्रिक ८ बाट उनले उम्मेदवारी दिन लागेका हुन्। यसलाई मेरिल्याण्ड राज्यको तल्लो सभाको रुपमा लिईन्छ। अहिलेको अवस्थामा यसमा ९१ सिट डेमोक्रयाट पार्टीको रहेको छ भने ५० सिट रिपव्लिकनले जितेका छन्।
यो संरचना अन्तर्गत राज्यको कानून निर्माण गर्ने, राज्यको कानूनको संशोधन गर्ने साथै विभिन्न उपसमितिहरु मार्फत राज्यको सामाजिक आर्थिक शैक्षिक विषयमा नीतिहरु बनाउने परिमार्जन गर्ने जस्ता काम गर्छ। क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोलको आधारमा त्यस राज्य भित्रको प्रतिनिधित्व हुने गरि प्रतिनिधि चयन गरिन्छ।
सहयोग गर्न अपिलमेरिल्याण्ड राज्यको स्टेट डेलिगेटसको रुपमा उम्मेदवार बनेका ह्यारीलाई सहयोग गर्न अपिल गरिएको छ। उमेदवारको आधारशीला भनेको उसले के कति व्यक्तिहरु परिचालन गरेर आफनो कोष सञ्चालन गरेको छ भन्ने महत्वपूर्ण पाटो रहेको छ। खासमा अमेरिकाका नेपालीहरुले यहीनेर ह्यारीलाई आफ्नो हातमा हात साथमा साथ दिन सक्छन् । नेपाली समुदायलाई अमेरिकी मूलधारमा जोड्न जसरी ह्यारीले कस्सिएर लागेका छन् उनको मनोवललाई उच्च पार्न सबैंले सहयोग गर्नु दायित्व पनि रहेको बताउँछन् मेरिल्याण्डका तरुण पौडेल।
पौडेलले अगाडि भने,‘अघिल्लो पटकभन्दा यसपटकको चुनावमा ह्यारीको आधारशिला मजवुत भएकाले भोलि नेपालीले गौरव गर्ने क्षणको अभियानको रुपमा सवैलाई मनन गर्न मेरो अनुरोध छ। यसको लागि उनलाई सहयोग गर्न बनेको समितिले गो फण्डमा समेत एकाउन्ट खोलेको छ भने वेभसाईट मार्फतवाट पनि सहयोग प्रदान गर्न सकिन्छ।’
त्यसैले अमेरिकामा रहेका नेपालीहरुले गर्ने साथ र सहयोगले नै ह्यारीले एउटा ईतिहास रच्न सफल हुने अपेक्षा गरिएको छ। तर निर्वाचनको नतिजा नआई अनुमान गर्न नसकिए पनि उनी एक मजवुत उमेदवारको रूपमा देखा परेका छन्।
स्मरणीय छ उनले उम्मेदवारी दिन लागेका डिष्ट्रिक ८ मा गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाट पार्टीकी हिलारी क्लिन्टनले १२०० मतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेकी थिईन्।