अमेरिकाका नर्थ क्यरोलाइना राज्यस्थित मोरिसभिलमा शनिबार भब्य रूपमा नेपाल दिवस मनाइएको छ।
स्थानीय नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन सी) को आयोजना र अमेरिकास्थित नेपाली दूतावास र अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली मूलका संघसंस्थाहरूको सक्रिय सहभागितामा कार्यक्रम आयोजना भएको थियो।
कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्किने विभिन्न भेषभुषामा सजिएका करिब सात सय पचास जति नेपाली मूलका र अन्य समुदायका व्यक्तिहरूको उपस्थिति थियो।
तीन चरणमा बाँडिएको कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवनदेखि चर्चस्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकी सहित परेड प्रस्तुत गरिएको थियो।
झाँकीमा नेपालको विविध सांस्कृतिक परिचय झल्कने गरी गौतम बुद्ध, शिव, पार्वती आदिको स्वरुपमा सजिएका कलाकारहरूले दर्शकको ध्यान तानेका थिए भने सहभागीहरूले पनि नेपालको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको विभिन्न परम्परागत जातजातिको प्रतिनिधित्व हुनेगरी पोशाकमा सजिएर विविधतामा एकताको संदेश प्रबाह गरेका थिए। परेड चर्चस्ट्रिट पार्कमा पुगेपछि सभामा परिणत भएको थियो।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा सञ्चालित नेपाली पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली र अमेरिकी राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र अमेरिकी सरकारका विभिन्न तहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।
एन सी एन सीका बोर्ड अफ ट्रष्टी तथा नेपाल दिवस कार्यक्रमका सहसंयोजक डा ठाकुरबाबु कार्कीले मोरिस्भिलमा यस वर्ष दोस्रो नेपाल दिवस मनाउन लागिएको बताए।
मोरिसभिल टाउनका पूर्वमेयर मार्कले एक लिखित सन्देश मार्फत नर्थ क्यरोलाइनालाई आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा धनि बनाउन नेपाली मूलका समुदायको महत्वपूर्ण भूमिका रहेको र त्यसैको सम्मानस्वरुप मोरिसभिल टाउनले अप्रिलको तेस्रो सनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको स्मरण गराए।
कार्यक्रममा नर्थ क्यरोलाइनाका सिनेटर जय चौधरी, वेक काउन्टीकी कमिस्नर जेसिका होल्म्स, मोरिस्भिलका मेयर टि जे कवली, मोरिस्भिलका काउन्सिल मेम्बर स्टिभ राव लगायतले नर्थ क्यरोलाइनामा नेपाली समुदायको पहिचान उच्च रहेको र आफ्नो सांस्कृतिक पहिचान जोगाइराख्न नेपाल दिवस जस्ता कार्यक्रम फलदायी हुने बताए।
कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले बिदेशमा बसेर आ-आफ्नो कर्म गर्दै व्यस्त रहेर पनि नेपाली संस्कृतिको प्रवर्धन गर्नको लागि सामुहिक स्तरमा भएका प्रयासको प्रसंशा गरे।
उनले विदेशमा रहेर नेपाली संस्कृतिको प्रवर्धनको लागि प्रयास गर्ने सबैजना नेपालको सद्भावना दूत हुन् भन्दै गैरआवासीय नेपालीहरूको भूमिका देशको आर्थिक विकाशमा मात्रै हैन, हाम्रो सांस्कृतिक विस्तारमा पनि महत्वपूर्ण रहेको बताए।
नेपाल सेन्टर अफ नर्थ क्यरोलाइनाका अध्यक्ष डा. बटु शर्माले नेपाल दिवस सम्पन्न गर्न विविध तरहले सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई धन्यवाद दिंदै मोरिस्भिल टाउनबाट नेपाल दिवसको घोषणा हुनु यहाँ नेपालीको पहिचान स्थापित हुनु भएको बताए।