वाशिंगटन डिसी महानगर क्षेत्रमा रहेका नेपाली सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले २५ औं ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइएका छन्।
वाशिंगटन डिसी महानगर क्षेत्रमा रहेका नेपाली सञ्चारमाध्यमको पहलमा पेशागत पत्रकारको प्रतिष्ठित सञ्जाल सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजेकी अध्यक्ष रिबेका बेकरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
वाशिंगटन डिसीमा नेपाली अमेरिकी पत्रकारको इतिहासमा यसरी कुनै अन्तर्राष्ट्रियस्तरको संस्था समेतको प्रतिनिधित्वमा प्रेस स्वतन्त्रता दिवस मनाइएको यो पहिलो पटक हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बेकरले यसरी कुनै पनि डायस्पोरा समाजले आफूलाई अतिथिको रुपमा बोलाएको यो पहिलो पटक भएको र आफू नेपाली अमेरिकी पत्रकाहरुसंग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताए।
आफ्नो पहिलो सहकार्यको रुपमा एसपीजेको बुकलेट नेपालीमा उल्था गर्न डिसी क्षेत्रका पत्रकारहरुलाई जिम्मा दिन आफू सहमत भएको र विस्तारै पत्रकारहरुलाई मुल प्रवाहमा लैजान तालिम र अन्य कार्यहरु गर्नको लागि काम गर्दै जाने बचनबद्धता पनि ब्यक्त गरे।
सन १९०९ मा स्थापना भएको सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजे अमेरिकामा पेशागत पत्रकारलाई प्रतिनिधित्व गर्ने धेरै पुरानो संस्थाको रुपमा चिनिन्छ।
एसपीजेले दिँदै आएको सिग्मा डेल्टा पत्रकारिता पुरस्कार संसारकै प्रसिद्ध पुरस्कारको रुपमा मानिन्छ। स्थापनाकालमा सिग्मा डेल्टा ची भनिने यो संस्थाले अमेरिकाको वाक स्वतन्त्रता सम्बन्धी पहिलो संविधान संसोधनको खुलेर समर्थन गरेको थियो।
पत्रकारिताको पढाइ हुने सवै जसो विश्व विद्यालय र पेशागत एवं स्वतन्त्र पत्रकारहरु समेतलाई आफ्नो छातामा समेटेको यो संस्थाका ३ सय बढी शाखाहरु छन् भने तिनमा आवद्ध करिब ९ हजार संचारकर्मीहरु यसका सदस्य छन्।
यस्तो संस्थासंगको सम्बन्धको आधारमा संसारभरनै रहेका पत्रकारहरुलाई लावान्भित बनाउने प्रयास आफूहरुको रहेको विचार आयोजकहरुले व्यक्त गर्ने गरेका छन् ।
अर्का अतिथि भर्जिनियाको जर्ज मेसन युनिभर्सिटीका प्रोफेसर क्रिष्टोफर जे फरेलले पनि अमेरिकी पत्रकारिताको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गर्दै पत्रकारको सवै भन्दा ठूलो कुरा आफूले विचार निर्माण गर्न सक्नु र अरुलाई सही चेतना दिनु भएकोले तथ्यको जड पत्ता लगाउन पत्रकारहरुले जहिले पनि लागिपर्नुपर्ने बताए।
उनले आफ्नो विश्व विद्यालयले अन्तर्राष्ट्रिय पत्रकारहरुलाई गर्न सक्ने सवै सहयोग गर्ने बताए।
उत्तरी भर्जिनियामा लोकप्रिय मानिएको इन्साइड नोभा पत्रिकाका प्रकाशक तथा सम्पादक ब्रुस पोर्टरले आफ्नो स्थानीय क्षेत्रमा रहेका नेपाली पत्रकारहरुलाई निशंकोच आफ्नो कार्यालयमा आउन र छलफल गर्न अनुरोध गरे।
उनले चार पाँच जनासम्म स्थानीय पत्रकारहरुलाई स्वयंसेवक वा तलवी पत्रकारको रुपमा प्रवेश गराउन समेत तयार रहेको बताए। उनले प्रविधि र सञ्चारको परिवर्तन भएकोले आफ्नो संस्थाले अरु संचारका प्रविधिसँग कडा प्रतिस्पर्धा गरिरहनु परेको जानकारी गराए।
कार्यक्रममा पत्रकारद्वय गुणराज लुईँटेल र सच्ची मैनालीले नेपाली अमेरिकी परिवेशमा प्रेस स्वतन्त्रता र व्यवसायिकता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्रमा उनीहरूले नेपाली अमेरिकी पत्रकारले अमेरिकी संचारको मूल प्रवाहमा जान प्रयास गर्नुपर्ने र यसको लागि अन्तर्राष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्नुपर्ने कुरा उठाएका थिए।
अमेरिकामा सन् १९९६ मा पहिलो पटक सगरमाथा नामक टिभी कार्यक्रम सञ्चालन गर्ने पत्रकार राम खरेल, पहिलो नेपाली अनलाइन पत्रिका नेपालीपोष्ट दर्ता गर्ने पत्रकार गिरिश पोखरेलललगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा नेजाका अध्यक्ष भोला आचार्यले यस्तो सफल कार्यक्रम गरेकोमा डिसी क्षेत्रका पत्रकारहरुको प्रशंसा गरेका थिए।
वाशिङटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायहरुलाई सेवा प्रदान गर्दै आएको सबै भन्दा पुरानो संस्था - नेपाल अमेरिका सोसाईटीका तर्फबाट सोसाईटिका अध्यक्ष प्रभा भट्टराई देउजाले एसपिजेसँग नेपाली पत्रकारहरुको सहकार्यले समुदाय लाभान्वित हुने र पत्रकारिता अध्यन गर्दै आएका समूदायका सदस्यहरुलाई तालिम तथा ईन्टर्नशिपको ब्यवस्था गर्न आग्रह गरिन्।
कार्यक्रममा एसपीजे अध्यक्ष बेकरले पेशागत पत्रकारहरुलाई सदस्यताको लागि आह्वानसमेत गरेका थिए। आयोजकले गोष्ठीमा एसपिजेलगायत अन्तर्राट्रिय संस्थासँग भएको अन्तरक्रिया, छलफल र परामर्शको निचोड निकाल्दै चाँडै डिसी घोषणापत्र जारी गर्ने बताएको छ।
हालै भर्जिनियाको रिचमण्डमा भएको एसपीजे र भर्जिनिया प्रेस एसोसिएसनको सम्मेलनमा नेपाली पत्रकारहरु योगेश उपाध्याय, गुणराज लुइटेल, कीरण मरहट्ठा र विश्व थापाले सहभागिता जनाएका थिए।
फोटो : राजीव श्रेष्ठ- फोटो बैंक