पलायन हुने नेपालीको संख्यामात्रै दिनप्रतिदिन बढ्दो छैन। प्रवासमा जन्मिएका वा प्रवासमा संघर्ष गरेर सफलता हात पार्ने नेपालीको संख्या पनि वर्षेनी बढ्दो छ।
ती मध्ये एक हुन् अमेरिकाको ‘जन् बेट्स क्लार्क मेडल–२०१८’ बाट सम्मानित हुने नेपाली मुलुका अमेरिकन अर्थशास्त्री पराग पाठक।
‘जन् बेट्स क्लार्क मेडल–२०१८’ बाट नेपाली मुलका अमेरिकी नागरिक पराग पाठक सम्मानित भएको समाचार लगत्तै हामीले कुराकानी गरेका थियौ।
'तपाईँसँग कुरा गर्न खोजेका छौ। समाचारको लागि।'
उनले जवाफ फर्काएका थिए 'प्रश्नहरू पठाउनु होला। अंग्रेजीमा प्लीज, म नेपाली धेरै बुझ्दिनँ।'
सम्भवतः पहिलो पटक नेपाली मुलका पाठकले पाएको यति ठूलो पुरस्कारका लागि उनले गरेको लगानी र मेहेनलाई 'इमेलमा प्रश्नउत्तर' मात्र गरेर समाचार छाप्दा उनीप्रति न्याय हुने थिएन।
पाठक कार्यरत म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मै जाने निधो गर्यौ र पुन म्यासेज पठायौं, 'हामी कुराकानी गर्न बोष्टन आउँछौ, समय मिल्छ?'
अन्तर्वार्ताका लागि मात्र?
हामीले हो भनेर पठाएको टेक्ट लगत्तै उनले रिप्लाइ दिएका थिए
'समय धेरै निकाल्न सक्दिनँ। ३० मिनेटमा सकाउने गरि आउनु होला। विद्यार्थीले घेरिहाल्छन् फेरि।'
अर्थशास्त्र तथा प्रविधि क्षेत्रको अध्ययनका लागि विश्वभर लोकप्रिय बोस्टनस्थित 'म्यासाच्युसेटस इन्स्टिच्यूट अफ टेक्नोलोजी' भवन नम्बर ५० मेमोरियल ड्राइभ नजिक पुग्नेबेला उनले रिमाइण्डर म्यासेज पठाएका थिए। ‘बल्ग ई ५२ स्थित कोठा नम्बर ४२६ मा प्लिज।’
माथिल्लो तला जाने बाटोमा राखिएको ठूलो स्क्रिनमा पराग पाठकको फोटोसहित परिचय राखिएको थियो। स्क्रिन नजिकै झुम्मिएका विद्यार्थीहरू परागले भर्खरै पाएको पुरस्कारका बारेमा कुरा गर्दै थिए। ‘हि इज अ जिनियस गाय।’
कोठा नम्वर ४२६ मा पुग्यौँ।
'सेतोपाटी?'
अगाडि राखिएको एप्पलको ठूलो स्क्रिनबाट परागले कुर्सी घुमाए।
नोबेल पुरस्कारपछिको दोस्रो ठूलो सम्मान मानिने 'क्लार्क अवार्ड २०१८' सम्मानित पराग पाठक को हुन्?
पहिलो प्रश्नसँगै उनले ब्रोकन नेपालीमा हामीलाई प्रश्न गरे ‘मेरो नेपाली राम्रो छैन। अंग्रेजीमा बोल्छु। हुन्छ? भारतीय संचार माध्यमले 'पराग पाठक भारतीय मुलको भएको’ भन्ने समाचारको खण्डनबाट उनले आफ्नो परिचय सुरू गरे।
सन् १९७० को दशकमा बाआमा नेपालबाट अमेरिका वसाइ सरेका थिए। सन् १९८० मा अमेरिकाको न्युयोर्कमा पाठक जन्मिए। न्युयोर्क शहरमै विद्यालयको पढाइ र वाल्यकाल बित्यो।
त्यो बेला औंलामा गन्न लायक नेपालीको संख्या मात्र थियो अमेरिकामा। ‘त्यसैले धेरै नेपालीहरुसँग समय बिताउन सकिनँ। अहिले राम्रोसँग नेपाली बोल्न पनि जान्दिनँ,' उनले भने।
कलेज सकाउन्जेलसम्म उनी धेरथोर अमेरिकी अर्थशास्त्रका फरक 'डाइमेन्सनहरु' बुझ्ने भैसकेका थिए। अमेरिकी अर्थनीतिमा देखिएको वदलावले उनलाई चुम्वकजस्तै तान्न थाल्यो।
हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर सकेर पाठकले जब ‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाए। त्यो बेलै उनलाई लागेको थियो 'नयाँ खोजका लागि अमेरिकी अर्थशास्त्र 'भर्जिन ल्याण्ड' हो।
अर्थशास्त्रको अध्ययन र अनुसन्धानमा बिशिष्ट योगदान पुर्याएबापत प्रदान गरिने ‘जन् बेट्स क्लार्क मेडल–२०१८’ यसको प्रमाण हो। नीति तथा बजार डिजाइनबारे उनले गरेको अध्ययन उत्कृष्ट रहेको रहेको बताउँदै अमेरिकन एसोसियसन अफ एकोनोमिक्सले बताएको थियो 'पराग पाठकले गरेको खोज अमेरीकन अर्थशास्त्रीका लागि मात्र होइन, इन्फर्मेशन टेक्नोलोजीको दुनियाँका लागि पनि नयाँ र प्रयोगशील छ। उत्कृष्ट छ,' सम्मानमा भनिएको छ।
अर्थशास्त्र सम्बन्धी अध्ययन गर्ने खोजकर्ता तथा विद्यार्थीका लागि यो पुरस्कारको महत्व ठूलो भए पनि पराग पाठकले यसैका लागि भनेर लागिपरेका थिएनन्।
'यही पुरस्कारकै लागि भनेर मैले यो खोजमा यति धेरै समय र मेहनत लगाएको भने होइन,’ पाठक यो पुरस्कारको विषयलाई प्रष्ट्याउँदै थिए, ‘यो पुरस्कार प्राप्त गर्न चिश्चित सीमा तोकिएका छन्। ४० वर्षभन्दा मुन्तिरको हुनुपर्ने भन्ने बिशेष सीमाका कारण यो पुरस्कार मलाई प्राप्त भयो।'
पाठक ३७ वर्षका भए।
उनको अध्ययनले सार्वजनिक विद्यालयका शिक्षा प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने एसोसियसन अफ एकोनोमिक्सले बताएको थियो।
उनले विद्यालयको शिक्षा प्रणाली र नीति तथा बजार डिजाइनबारे गहन अध्यन गरे। सार्वजानिक विद्यालय र शिक्षा क्षेत्रको गुणस्तरलाई कसरी उत्कृष्ट बनाउने भन्ने बिषयमा केन्द्रित रहे। ‘यो पुरस्कार पाउनुको पृष्टभूमि यत्ती हो,'उनले प्रष्ट्रयाए।
पाठक नेपालमा जन्मेका होइनन् तर, उनी नेपाली मुलका हुन्। नेपाली नागरिक नभए पनि नेपाली बाआमाको छोरोको रुपमा नेपालीहले चिने। ‘अब त नेपालमा पनि केही गर्न पर्छ है' सम्म भने।
उनले गरेको खोज आवश्यकताका हिसावले हेरियो भने नेपालमा यसको झन बढी महत्व छ। 'शिक्षासँग जोडिएको मेरो खोज नेपाल जस्ता कम विकसित मुलुकहरुका लागि अझ महत्वपुर्ण हुनसक्छ। तर यो सार्थकता बनाउन फेरि पनि शिक्षा नीति मै फेरवदल हुन जरूरी छ। नेपालको आर्थिक विकासका लागि शिक्षाको प्रवर्द्धन महत्वपुर्ण खम्वा हुनसक्छ,' उनले भने।
कुनै दिन नेपालमै गएर काम गर्न मन छ?भन्ने प्रश्नमा उनले भने-
'मैले सरी भन्नैपर्छ, नेपालको बारेमा मैले धरै अध्ययन गर्न पाएको छैन। काम गर्नलाई त्यहाँको समस्या के हो त्यसको पहिचान हुन जरूरी छ।
पाठकको दाहिनेतिर राखिएको परिवारको फोटो देखाउँदै ब्रोकन नेपालीमा भने 'मेरो श्रीमतीको घर पाटनमा हो। उनको परिवार नेपालमा छ। नेपालसँग मेरो नाता गाढा छ भन्ने उदाहरण हो। तर, मेरो विशेषज्ञता अमेरिका माथिको हो। मैले म नेपालमै गएर काम गर्छु भनेछु भने त्यो झुटो हुन्छ,’ उनले भने, ‘नेपालका लागि चाहिने सर सल्लाह र सहयोगका लागि मेरो कार्यालय र मेरो घरको ढोका सधै खुला छ। तर अहिले नेपालमा गएर गर्छु भन्ने मनस्थिति बनाएको छैन।'
यसो भनिरहँदा पाठकका आखाँमा नेपालप्रतिको माया झन प्रगाढ देखिन्थ्यो। 'तर जीवनको कुनै मोडमा अब म नेपालमै केही नयाँ गर्छ' भन्ने समय आउन सक्छ। त्यो समयको कुरा अहिले म कसरी भनौ,' उनले भने।