‘विश्वको सर्वोच्च शिखर सगरमाथाको फोटो आफ्नै आगनमा हेर्दा मलाई त्यही पुगेको जस्तो महसुस भइरहेको छ’, संयुक्त राष्ट्र संघमा कार्यरत एक कर्मचारी भन्दै थिए । एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको भवनमा गरिएको एभरेष्ट फोटो प्रदर्शनीलाई त्यहाँ कार्यरत कुटनीतिक नियोगका कर्मचारी, राजदूत र भ्रमणकर्ताले निकै उत्साहका साथ अवलोकन गरेका थिए ।
नेपाली महावाणिज्य दूतावास, न्युयोर्कको संयोजकत्वमा यूएस नेपाल क्लाम्बर्स एसोसियसनले आयोजना गरेको सगरमाथा सम्बन्धीले फोटो प्रदर्शनमा पुग्ने जोकोही नेपालीले पनि गर्वको महसुस गर्थे । उच्च राष्ट्रं संघको भवनलाई सगरमाथाको तस्वीरले थप उचाईमा पुर्याएको अनुभव भइरहेको फोटो हेर्न आएका आरोही भन्दै थिए ।
न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखरमा पहिलो पटक मानव पाइला राखेको दिन २९ मे १९५३ देखि विनाशकारी भूकम्पमा सगरमाथा देखिएको दृश्यावलोकनसम्मलाई समेटिएको तस्वीरको विभिन्न देशका राजदूत, अमेरिकामा बसोवास गर्दै आएका पर्वतारोहीलगायतले अवलोकन गरेका थिए।
फोटोमा सगरमाथा वरिपरीका गाउँबाट देखिने सुन्दर हिमाली दृश्यावलोकन, बेस क्याम्पसबाट याकले भारी बोकेर उकालो चढ्दै गरेको तस्वीर आफूलाई निकै राम्रो लागेको कुटनीतिक नियोगमा कार्यरत कर्मचारीले बताए। अमेरिकी पर्वताराही अलाङ आरनेट यूएस नेपाल क्लाइम्बर्स एसोसियसनका पूर्व अध्यक्ष शेराप जाड्बुले खिचेका तस्वीर धेरै अवलोकनकर्ताले मन पराएका थिए ।
राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईले सगरमाथाका इतिहासबारे धेरै विषयबस्तुलाई फोटो प्रदर्शनीमा राखिएको बताए। भट्टराईले नेपालको प्रमुख पहिचान सगरमाथा भएको बताउदैँ फोटो प्रदर्शनीले पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने जनाए।
नेपाली महावाणिज्य दूतावास न्युयोर्कका महावाणिज्यदूत मधुकुमार मरासिनीले फोटो प्रदर्शनले नेपालको पर्यटन प्रबद्र्धनसंगै जलवायू परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर सम्बन्धमा सहयोग जुटाउन महत्वपूर्ण रहने बताए।
न्युयोर्कस्थित महावाणिज्य दूतावासका वाणिज्यदूत कृसु क्षेत्रीले यूएनको प्रधान कार्यलयम गरिएको फोटो प्रदर्शनीले नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठालाई थप उचाईमा पुर्याउन सफल हुने बिश्वास ब्यक्त गरे।
यूएसन नेपाल क्लाइम्बर्स एशोसियसनका अध्यक्ष पासाङ शेर्पाले लामो प्रयासपछि आफूहरुले पहिलो पटक राष्ट्र संघको भवनमा फोटो प्रदर्शन गर्न सफल भएको बताउदैँ भने, “यो पटक सगरमाथा सम्बन्धी मात्र फोटो हामीले राख्यो। भविष्यमा नेपालको पर्यटन प्रर्बद्र्धनमा टेवा पुर्याउने थप विषयलाई समेट्दै जाने छौ।’
यूएस नेपाल क्लाइम्बर्स एसोसियसनका महासचिव आङग्याल्जेन शेर्पाले फोटो प्रदर्शनी निकै सफल भएको जनाउदै सगरमाथाको सम्बन्धमा नाम मात्र सुनेका राजदूतले आफ्नै कार्यकक्षमा फोटो देखेपछि खुसी हुँदै त्यहाँ पुग्नेसम्म इच्छा ब्यक्त गरेको बताए। विनाशकारी भूकम्पले सगरमाथामामा ल्याएको कम्पनको असर र जलवायू परिवर्तनले नेपालको हिमाली क्षेत्रमा परेको असलाई पनि झल्काउन खोजिएको शेर्पाले जनाए।