तीन वर्षमा गरिनुपर्ने जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन समयमै नहुनुले हामी सबैलाई चिन्तित तुल्याएको छ।
कुनै पनि संगठनले गर्नुपर्ने अधिवेशन, महाधिवेशन समयमै गरियो भने त्यो सङ्गठनले गति लिनसक्छ। त्यसमा आबद्ध सदस्यहरू सङ्गठित र क्रियाशील हुन्छन्। तर, यहाँ हाम्रो कार्यकाल बितेर पनि १ वर्ष पुग्न लाग्दा यस सम्बन्धी कुनै काम नगरिनुले अन्यौलता छाएको हो ।
चिन्तित सबै देखिन्छन्, तर जिम्मेवारी लिएर समस्याको समाधानका आवश्यक पहल नहुँदा संस्थाको भविष्य नै खतरा पर्ने जोखिम छ।
नेपालको राजनीतिक परिवर्तनको महान् उद्धेश्य लिएर बिश्वेश्वरप्रसाद कोइरालाद्वारा सुरु गरेको भए पनि संस्थाको मूल्य र मान्यताको परिधि भन्दा बाहिर रहेर पदाधिकारीले आफ्ना कार्य सम्पादन गरिरहेकाले स्थापना हुँदादेखी नै विवादमा रहेको जनसम्पर्क समिति सदैव विवादमा रहँदा अमेरिकामा रहेका जनसम्पर्क समितिमा आबद्ध साथीहरूलाई संस्थाप्रति नै वितृष्णा पैदा गर्ने खतरा बढ्दै गएको छ।
नकारात्मक सोच र आपसी खिचातानीले संस्था रुमलिलिएको छ।
त्याग र आपसी छलफल बिना कुनै पनि संस्थाको हित हुँदैन, हामीले कसैले पनि त्याग गर्न पनि नखोज्ने अनि मेरो गोरुको बाह्रै टक्का भने जस्तो सबै आफ्नो अडानमा रहेर अब जनसम्पर्क समितिको भविष्य झनै खतरामा पर्नेछ।
नेपाली कांग्रेसको भातृ संस्थाका रूपमा रहेको जन सम्पर्क समितिले नेपालमा हालै सम्पन्न निर्वाचनमा काँग्रेसले सामना गर्नु परेको पराजयलाई आफ्नो पराजय मानेको छ र मान्नुपर्छ। अहिले जसरी पार्टी केन्द्रमा चुनावदेखि सगंठनको बारेमा समीक्षाको बहस तातेको छ र यहाँ पनि हामीले यो सगठनको वर्तमान दुर्दशा ,तीन वर्षसम्म भए गरेका क्रियाकलाप र यसको भविष्यका बारेमा बहस गर्न उपयुक्त समय हो।
त्यसैले यति बेला हामीले हाम्रो काम ,हिजो के भएको थियो भन्दा पनि विगतलाई राम्ररी समीक्षा गरेर अब कसरी अगाडि बढ्ने, सगठनलाई कसरी मजबुत बनाउने विषय महत्त्वपूर्ण हो।
तीन वर्षअघि टेक्सासमा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पुराना तिक्तता सदाका लागि अन्त्य होला भन्ने सबैमा विश्वास थियो। अधिवेशनका क्रममा स्वस्फूर्त कांग्रेसीजनमा देखिएको अगाध विश्वास र संस्थाप्रतिको मायाले दिएको ऊर्जाबाट संस्थालाई केही हदसम्म जीवन दियो। तर, सुझावलाई आलोचना मान्ने नेतृत्वले दुरदृष्टि नपुर्याउँदा हामीले आजको दिन देख्नु परेको हो।
विगतका नेतृत्वहरूले गरेका केही महत्त्वपूर्ण कामहरू र भएका प्रयासलाई हामीले स्वामित्व ग्रहण नगरी अगाडि बढ्न खोज्नु पनि मुर्खता थियो। त्यसै गरी टेक्सस अधिवेशनबाट बनेको नयाँ नेतृत्वलाई पनि सुरुदेखि नै सहज रूपमा काम गर्ने दिएर समस्याको समाधान निकाल्न तर्फ भन्दा पनि हाम्रा केही साथीहरू नेतृत्वलाई फेल गराउने तर्फ लागेको तितो अनुभव पनि सबैले आत्मसात् गर्नुपर्छ।
यही कुराको जरोमा टेकेर आफूले गर्न नसकेका राम्रा कामको लागि अरू माथि दोष थोपरेर पानी माथिको ओभानो बन्न खोज्नु नै संस्थाको अधोगति हुनु हो।
नेपालमा गएको महाभूकम्पका बेला जनसम्पर्कका साथीहरूले मातृभूमि प्रति देखाएको माया र लगनले उठाएको आर्थिक सहयोगले हामीलाई एक हदसम्म नेपालसँग जोड्यो। तर, सँग-सँगै त्यही महाभूकम्पका लागि उठेको रकममा भएको भनिएको आर्थिक हिनामिनाले संस्थाले कमाएको थर-बहुत इज्जत पनि गुम्यो। यो कार्यले हाम्रो संस्थालाई तहस नहस पारेको छ ।
अहिले हामीसँग निर्वाचित समितिको म्याद पुरा भइसको छ। पार्टीले तत्काल कुनै काम नगर्नु भनेर पत्र गसिकेको अवस्था र निर्वाचित अध्यक्ष आनन्द विष्ट पनि आमन्त्रित केन्द्रीय सदस्यमा पदोन्नति भएको कारणले आम सदस्यहरू बिच अबको निकास के भन्ने विषयले थप चर्चा पाउनु स्वाभाविक हो।
के हामी पदमा बस्ने साथीहरूले भर्जिनिया साधारण सभाले दिएको म्याण्डेट अनुरूप काम गर्यौं? तीन वर्षसम्म एउटा पनि च्याप्टरको अधिबेशन गराउन नसक्नु लाक्षीपन होइन? सुतेको मानिसलाई ब्यूताउन सकिन्छ तर, सुतेको भान गर्नेलाई केही गरे पनि उठाउन सकिँदैन।
यो सङ्गठन बनाउने जिम्मा तपाई हाम्रो हो। त्यसमा मैले मेरो जिम्बेवारी कति पुरा गरे भनेर छातीमा हात राखेर सबैले सोचौँ ।
अब पनि हामीले यो संस्थालाई संस्थागत गर्ने त्यस समयमा देखिएका खराब कुराहरूलाई सुधारेर नयाँ तरिकाले अगाडि जान सकेनौँ भने जनसम्पर्क समिति अमेरिका अझै कमजोर, लथालिंग र विस्थापनको सँघारमा पुग्ने निश्चित छ। यति बेला धेरै साथीहरू पार्टीले के पत्र पठाउला वा केन्द्रका कोही नेता आउँदा के बोल्लान् भनेर आशा गरी प्रतीक्षा गरेको देखिन्छ।
आज अमेरिकामा यो सङ्गठन लथालिंग छ। सबै च्याप्टरहरूको नेतृत्वविहीन छन्। तीन वर्षमा हामीले अघिबेशन गरेर नयॉ नेतृत्व लाई समिति सुम्पिन न सक्नु वर्तमान समितिको सबैभन्दा ठूलो कमजोरी हो।
हामीले अब अर्को निर्वाचनमा दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई हराउन मातृ पार्टी नेपाली कांग्रेसलाई धेरै टेवा पुर्याउन सक्ने जनसम्पर्क समिति निर्माण गर्नु जरूरी छ।
चुनाव हारेको यो ५ वर्षलाई सगठित् र एकतापूर्वक काम गरेर यसलाई उपलब्ध समयको रूपमा उपयोग गरेर काम गर्न सकेनौ भने हाम्रो संस्था मात्र होइन माउ पार्टीलाई पनि धेरै घाटा पर्नेछ। त्यसैले सबै साथीहरूले अब यो समयलाई जनसम्पर्क बलियो बनाउने संस्थाको रूपमा लिन आवश्यक छ।