आउँदो शनिबार र आइतबार (जुन १६ -१७ ) हुने एनआरएन विज्ञ भेला तथा वार्षिक साधारण सभा निर्धारित कार्यक्रम अनुसार नै सम्पन्न हुने एनआरएनले जनाएको छ।
विज्ञ भेला र साधारण सभामा सहभागी हुनका निम्ति अमेरिका भरिबाट जनचासो अत्यन्त बढिरहेको परिवेशमा सो कार्यक्रमलाई प्रभाव पार्ने गरी केही व्यक्तिहरूले एनआरएन अमेरिकाका विरुद्ध मुद्दा दायर गरेको र कार्यक्रम नहुने अफवाह फैलाइरहेको स्थितिमा एनआरएनले एक विज्ञप्ति प्रकाशित गर्दै कुनै पनि प्रकारका अफवाहमा नलाग्न अनुरोध गर्दै सबै कार्यक्रमहरू यथावत रहेको जानकारी गराएको हो।
एनआरएनका क्षेत्रीय संयोजक गौरी जोशी र एनआरएन अमेरिकाका सभापति डा. केशव पौडेलद्वारा सयुक्क्त रूपमा हस्ताक्षरित सो विज्ञप्तिमा दुषित विचार र व्यक्तिगत कुण्ठाबाट ग्रसितहरूले निराधार विषयलाई आधार बनाई अमेरिका बासी हजारौँ नेपाली दाजु भाइ दिदी बहिनीहरूको अधिकारमाथि प्रहार गर्नका लागी मुद्दा दायर तथा सम्मेलन रोकिएका जस्ता हल्लालाई प्रोत्साहन दिएको उल्लेख छ।
‘संस्थाको दिगो स्थायित्व, समाजको समुन्नति, मातृभूमिको सम्बृद्धि र सदस्यहरूको सर्वोपरि हक र हितमा कुठाराघात गर्ने यस्ता दुश्प्रयास र गलत अभ्यासको संस्थाका सबै सदस्य, शुभेच्छुक, अभियन्ता, अग्रज र अगुवाहरू यही जून १६ र १७ मा सनफ्रान्सिस्कोको उपस्थित भई, सक्रिय सहभागिता जनाई साधारण सभा र विज्ञ सम्मेलनलाई भव्य र सभ्यरूपमा सफल पारी गलत प्रक्रियालाई असफल पार्नु हुनेछ भन्ने कुरामा विश्वस्त छौँ’, विज्ञप्तिमा भनिएको छ।
यक्तिगत स्वार्थ भन्दा माथि उठी संस्थाको सर्वोपरि स्वार्थको लागि सदस्यहरूको चिन्ता, चासो, असहमति र उपायहरू छंन् भन्ने तथ्यलाई स्मरण गराउँदै विज्ञप्तिमा 'गलत प्रचार,प्रयास र अभ्यासमा विश्वास नगरी संस्थाको पूर्व निर्धारित मिति, समय र, स्थानमा हुने साधारण सभा र आई सी सी को विज्ञ सम्मेलनको लागि आफ्नो पूर्व निर्धारित योजना अनुरूप सहभागिता जनाई दिन सम्पूर्ण अमेरिकाबासी नेपाली दाजु भाइ तथा दिदी बहिनी लाई आग्रह गरिएको छ।