अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो भएको समाचार छ।
अमेरिकामा रहेका तर कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका छोराछोरीलाई आमाबाबुबाट छुट्याएर अलग्गै गर्ने नीति राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो।
राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो। यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो।
अमेरिकाजस्तो देशले पनि आफ्ना आमाबाबुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उनको व्यापक मात्रामा विरोध भइरहेकै बेला उनले उक्त निर्णयलाई उल्ट्याउने भएका हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र केटाकेटीलाई पनि साथैमा रहन अनुमति दिने आदेश दिने भएका छन्। उनले यस नयाँ नीति समेटिएको आदेशमा बुधबारै हस्ताक्षर गर्ने बताइएको छ।
यो निर्णय उनको नीति विरोध भएकोले भन्दा पनि त्यहाँका केटाकेटीको तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन्।
सो नीति उल्टिनेगरी बुधबार हस्ताक्षर भएपछि राष्ट्रपति ट्रम्पले परिवारलाई एकै ठाउँमा बस्न दिइने पनि वासिङ्टनबाट प्राप्त भएका समाचारहरुमा बताइएको छ।
तर ती समाचारमा उक्त आदेशहरु कहिलेदेखि लागू हुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन।
यो आदेशपछि पनि आफ्नो प्रशासनले अमेरिकामा आप्रवासीहरूको बढ्दो सङ्ख्या रोक्ने कार्यमा भने कुनै बाधा नपुग्ने पनि अधिकारीहरुले बताएका छन्।
परिवारहरूलाई सँगै बस्न दिने त हो तर पनि हामी हाम्रो सीमा बलियो बनाउन चाहन्छौँ–अमेरिकी राष्ट्रपतिले भनेका छन्।
यसरी आगामी दिनमा पनि यस नीतिमा कडाई नगर्ने हो भने पनि वर्षेनी दशौँ लाख आप्रवासी अमेरिका आउनसक्ने र अमेरिका देश नै आप्रवासीले भरिने खतरा रहने राष्ट्रपति ट्रम्पले बताए।
उनले भने– परिवारहरू सँगै बस्न त पाउने भए तर पनि आफ्नो देशको सीमा बलियो बनाउने र आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्ने पनि हाम्रो अधिकार हो।