संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक्ट ८ बाट राज्य विधानसभा सदस्यको लागि भएको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्।
साथै भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा पनि निर्वाचित भए।
अमेरिकामा मध्यावधी निर्वाचनका रूपमा लिइने नोभेम्बर ६ मा हुने निर्वाचनमा ह्यारी भन्डारीले रिपब्लिकन पार्टीका उम्मेद्वारसँग स्टेट डेलेगेटका लागि प्रतिष्पर्धा गर्नेछन्। अमेरिकामा पार्टीगत रूपमा राज्यस्तरको विधानसभा सदस्य को प्राइमरी चुनाव र पार्टीको राज्य केन्द्रीय समितिमा निर्वाचित हुने भण्डारी नेपाली मूलका पहिलो हुन्।
नेपालको पर्बत जिल्लाबाट डेढ दशक अघि अमेरिका आएका भण्डारी मेरील्याण्डको बाल्टीमोरमा बस्दै आएका छन्। भण्डारी पेशाले शिक्षक हुन्।
भन्डारीले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५३७६ मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिको सदस्य पदमा ५७६५ मत प्राप्त गरी विजयी भएका हुन्।
भण्डारीको निर्वाचनका सन्दर्भमा अमेरिकाको नेपाली समुदायले चासो र महत्वका साथ लिएका छन्। निर्वाचनमा मेरिल्याण्ड राज्य र वरिपरिका राज्यबाट नेपाली समुदायले मतदान केन्द्रमा र प्रचार प्रसारमा यथेष्ट सहयोग पुर्याएका थिए ।
‘अमेरिका अवसरको भूमी हो र हामी नेपाली आप्रवाशीले पनि भावी सन्ततीको लागि एवम् अधिकारका लागि मिलेर संघर्ष गर्नुपर्नछ,’ निर्वाचनमा जिते पश्चात भण्डारीले भने। भन्डारीले नोभेम्बर ६ मा हुने निर्वाचनमा पनि सहयोग गर्न नेपाली समुदायसँग अपील गरेका छन्।