सन् नब्बेको दशकमा लेककी हे माया...’, ‘हङकङ पोखरा...’, ‘तगारोमा रुमाल राखी...’, ‘तिमी पारी त्यो गाउँमा' जस्ता गीतका लागि लोकप्रिय पोखरेली सागीतिक समूह 'कन्दरा'ले अमेरिकामा सागितिक कार्यक्रम गर्ने भएको छ।
विगत पच्चिस वर्षदेखि सांगीतिक यात्रामा रहेको ‘कन्दरा’ ब्यान्ड पछिल्लो समय म्युजिकल टुरहरूमा व्यस्त छ ।
'कन्दरा' पहिलो पटक अमेरिकामा प्रस्तुति दिन लागेको ब्यान्डले जानकारी दिएको छ । कन्दराले अमेरिकाका विभिन्न शहरमा एक महिना लामो सागीतिक यात्रा गर्दै आफ्ना लोकप्रिय नयाँ पुराना गीतबाट दर्शकलाई मनोरञ्जन दिनेछ। लोक शैलीका आधुनिक र पप गीतका लागि ब्यान्ड दर्शकमाझ परिचित छ ।
कन्दराले जुन ३० अर्थात् असार १६ मा वासिङ्टकन डीसीमा पहिलो प्रस्तुति दिनेछ । नेपाली अमेरिकन कन्भेन्सनको दोस्रो दिन हुने उक्त कन्सर्टलाई लिएर आफूहरू निकै उत्साहित रहेको ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठले बताएका छन् । त्यस्तै उसले जुलाई १६ (असार ३२) मा लस एन्जलस र २१ (साउन ५) मा ओहायोमा कन्सर्ट गर्दैछ । डलास र न्यु योर्कका कार्यक्रम पनि तय भएका छन् ।
एफ वान ग्रुपको आयोजनामा ‘कन्दरा युएसए टुर’ गर्न लागेको ब्यान्डले आफ्ना सदाबहार गीतहरू सुनाउनेछ । सात सदसिय ब्यान्ड कन्सर्टका लागि यसै साता अमेरिका उडिसकेको छ ।
सन् १९९० को दसकमा कन्दरा सर्वाधिक चलेको ब्यान्डमध्ये एक थियो । काठमाडौं बाहिरबाटै यसले ‘नेपाली मेनस्ट्रिम म्युजिक’ मा आफ्नो पकड जमाउन सफल थियो । ब्यान्डले सरुभक्त, विनोद गौचन, रमेश श्रेष्ठ जस्ता दिग्गज गीतकारसँग सहकार्य गरेको छ ।