आफूले लेखेको कृतिबारे बोल्ने म उचित पात्र हुँ जस्तो मलाई लाग्दैन। आफ्नो आलोचना गर्दा कत्तिको निष्पक्ष भइन्छ त्यो पनि भन्न सकिन्नँ। यसका लागि हिम्मतको त्यत्तिकै आवश्यकता पर्छ। प्रशंसामा अहंकार झल्कन्छ। अहंकार कदापि न्यायोचित हुन सक्दैन।
मलाई केही साहित्यका पारखीहरुले अकथा कुन विधा अर्थात जन्न (genre) मा पर्छ भनेर सोध्नुभो । मैले १६० पेज लामो पान्डुलिपी मेरा दाजुलाई पठाएको थिएँ, सम्पादनको लागि भनेर। १६० पेज लामो पान्डुलिपीलाई ५२ पेजमा झारिदिने मेरा दाजु, जो आफूलाई सम्पादक भन्न रुचाउनु हुन्न, उहाँलाई आवेगमा आएर प्रश्न गरेँ, ‘यो के गरेको?’ उहाँले भन्नुभयो, ‘यो कुन जन्न(genre) मा पर्छ म भन्न चाहन्नँ। जुन कुरा तिमी नबोलेर भन्न सक्छौ, नबोल।
जुन कुरा एक लाइनमा भन्न सकिन्छ, त्यसका लागि लाखौं शब्द खर्च नगर। लेखक बन्ने दौड्मा सामेल नहोउ। क्रम भङ्ग गर। आनन्द आउनेछ। बाँकी मेरो भन्नु केही छैन। म पेजको संख्या घटाउनेबाहेक सम्पादन गर्दिनँ। किन भने अकथाको एसेन्स, आत्मा मर्नेछ।’ म नाजबाफ भए।
टेक्निकली भन्नुपर्दा अकथालाई आकारमा निर्ममतापूर्वक घटाइदिएपछि नोवेला (Novella) अर्थात लघु उपन्यास भित्र राख्न मिल्ला। तर म यसलाई कुनै ‘जन्न’ मा राख्न चाहन्न। यो लघु उपन्यास , आत्मवृत्तान्त, कथासङ्ग्रह, यात्रा -संस्मरण , ‘एनेक्डट’ अर्थात् द्रिस्नटाण्ट, सबै थोक हो; र केही पनि होइन।
मैले सामाजिक सन्जालमा नविन प्रयोग गरे भनेर उल्लेख गरे। कतिपएलाई यसमा अहन्कार देखियो। तर त्यसो होइन। मैले अकथामा आफुलाई पात्र बनाए। त्यो पनि मजाकको पात्र। आफूलाई चिरफार गरेँ। आफू माथि हाँस्न हिम्मत चाहिन्छ । मैले दिवाकरलाई पात्र बनाएर, उकुसमुकुस, पीडा, छट्पटाहटमा बाँचेका थुप्रै आत्माहरुको स्वर मुखरित गरेको मात्र हुँ। म एउटा प्रतिनिधि पात्र मात्र भइदिएको हुँ। मैले यति मात्रै गरेँ।
मैले लेखनमा तीन भाषाको प्रयोग गरेँ। तीनै भाषामा मेरो दक्षता छैन। मैले हाम्रो विविधता र भाषाको मिठास अनी सौन्दर्यको सम्मान गरेको मात्र हुँ। मलाई आफ्नो भाषिक अभिव्यक्तिप्रति एक रत्ती अभिमान छैन। न त मलाई बौधिक हुँ भन्ने भ्रम छ ।अकथा व्यक्तिगत इच्छा पूर्ति गर्न लेखिएको होइन। यो लेखिनु पर्थ्यो। लेखियो।
अकथा प्रेम , सद्भभाब , समान्ता र मानवता स्थापनार्थ मेरो शाव्दिक अभिव्यक्ति मात्र हो।
मैले आफ्नी हुन नसकेकी प्रेमिका, जसले मलाई जातीसूचक गाली दिइन्, उनलाई भारतका क्रान्तिकारी कवि अव्तार सिंह सद्धु ‘पाश’ को कविता उपहार दिन चाहेको थिएँ ।
कवितामा एक हरफमा भनिएको छ – ‘मैले यस्तो कविता लेख्न चाहेको थिएँ, जो तिमी जिन्दगीभर पढ्न सक्थ्यौ।’ उनी फेरि भन्छन्’ अब हतियार विरुद्ध युद्व गर्नुपर्छ।’ म यो कविताद्वारा घृणाको निरर्थकता बारे बुझाउन चाहन्थेँ। तर प्रेम गर्न सिकाईदैन। त्यसैले पाश म अब बिदा लिन्छु भन्छन्, उनी भन्छन- ‘मैं अब बिदा लेता हुँ , तु यह सब भुलजाना मेरे दोस्त सिवा इस्के कि मुझे जिनेकी बहुत इच्छा थी कि मै गले तक जिन्दगी मये डुबना चाह्ता था मेरे हिस्सेका भि जिलेना मेरे दोस्त मेरे हिस्से का भि जिलेना।’
आफ्नो जीवन अरूलाई दिन सक्ने यो क्रान्तिकारी को कविताबिना अकथा अर्थहीन हुन्थ्यो। मेरा लागि जिवन लिने होइन, दिनेहरु क्रान्तिकारी हुन् ,र यही प्रेम हो। मैले महिला र पुरुषको वैवाहिक जीवन सफल नहुनुमा आफूभित्रको पुरुषलाई मारेर महिला भएर बोलेको छु। यस्का लागि मन भित्रको ज्वलामुखी निभाउने तागत र अदम्य शक्ति चाहिन्छ। मैले भन्दै आएको ‘टाइगर’ को जस्तो मुटु चाहिन्छ।
अकथा मेरा लागि किताब मात्र होइन। रगत, आसुँ, पसिना , इर्श्या, क्षमाको सम्मिश्रण हो। शायद यहि सम्मिश्रण जीवन हो र जीवन फिक्सन हो - कल्पना मात्र हो। सत्य त अनवरत बगिरहने गंगा मैया हुन्, जसले मलाई चेतना दिइन् कि म नित्य सिद्ध हुँ , म नित्य बुद्ध हुँ , म नित्य मुक्त छु ।
म आफ्नो इच्छाको स्वामी हुँ। यही हो मेरो अकथा - कथा नभएको कथा। यसलाई पढिदिनुभयो, माया गरिदिनुभयो भने मात्र मलाई पुग्छ।
अकथाहरु लेखिईरहनेछन्…अनन्त कालसम्म।