अमेरिकाको भर्जिनिया राज्यको हेरन्डनस्थित 'सुनोको ग्यास स्टेसन'मा काम गर्दै आएका रेशम बजगाईंको बुधबार बिहान सवा एक बजे हत्या भएको छ।
गोरखा स्थायी घर भई नौ महिनाअघि अमेरिका आएका ४० वर्षीय बजगाईं हप्ताको एक दिन मात्र उक्त ग्यास स्टेसनमा काम गर्थे।
अज्ञात समूहले उनीमाथि कुटपिट गरेको बताइएको छ। टाउकोमा गहिरो चोट देखिएकाले धारिलो हतियार प्रहार भएको आशंका गरिएको छ।
बजगाईंका नातेदार ठाकुर ढकालका अनुसार पोस्टमार्टमको नतिजा आइसकेको छैन। ‘शंकास्पद हत्यारा पक्राउ परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘के कारणले हत्या भएको, पुष्टी भइसकेको छैन।’
ग्राहकले प्रहरीलाई खबर गरेपछि पार्किङ क्षेत्रबाट शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो।
उनी हप्ताको एक दिन मात्र उक्त ग्यास स्टेसनमा काम गर्थे। नौ महिनाअघि अमेरिका आएका बजगाईं श्रीमती र पाँच वर्षीया छोरीसँग बस्दै आएका थिए।
गैर–आवासीय नेपाली संघ, भर्जिनियाले मृतकको परिवारको सहयोगका लागि ‘गोफन्डमी डटकममार्फत्’ सहयोग संकलन सुरु गरिसकेको छ।