अमेरिकाको भर्जिनिया राज्यको हरन्डन सहरमा गत शनिबार नेपालीहरु स-सानो समूह बनाएर कुरा गरिरहेका थिए। बर्खायाम भए पनि आकाश खुल्ला थियो। तर, कुरा गरिरहेका अनुहारहरुमा भने अँध्यारो पोतिएको थियो।
त्यो हुलमा म पनि मिसिएँ।
त्यो रेशम बजगाईंको अन्त्यष्टीको दिन थियो। जुलाई ४, बुधबारका दिन फ्र्यांकलिन सुनोको ग्यास स्टेसनमा हत्या गरिएका उनी नौ महिनाअघि मात्र अमेरिका आएका थिए। डिभी चिठ्ठामा आएका बजगाईं पाँच वर्षीया छोरी र श्रीमतीका साथमा बस्थे। करिब १२ वर्ष खाडी मुलुकमा काम गरेपछि अमेरिका आएका उनी ४० वर्षका थिए। घरको गर्जो टार्न दुई ठाउँमा काम गर्ने रेशम उक्त पेट्रोल पम्पमा हप्ताको एक दिन मात्र काम गर्दा रहेछन्।
तर, दुर्भाग्य!
अमेरिकाको स्वतन्त्रता दिवस सुरु भएसँगै उनको स्वतन्त्रता छिनियो। जुलाई ४ को बिहान सवा एक बजे लुटेराको समूहले उनको ज्यान लियो।
सुनिएअनुसार, ग्राहकको रुपमा आएका केही व्यक्तिहरु लुट्न आएको चाल पाउनेबित्तिकै रेशम बजगाईंले प्रहरीलाई फोन गर्न आँटेछन्। जुन गर्नु हुन्थेन! लुटेराले थाहा पायो, उसले अब प्रहरी बोलाउँदैछ। थाहा पाउनासाथ उसले रेशमको ज्यान लिन ढिलो गरेन। आगो निभाउने सिलिन्डरले टाउकोमा प्रहार गरेर रेशमको ज्यान लियो।
अमेरिका आएर यस्ता ग्यास स्टेसन या स-साना स्टोरमा काम गर्ने हरेकले थाहा पाउनुपर्ने कुरा हो- ग्राहकको रुपमा आएका शंकास्पद व्यक्तिसँग प्रतिवाद नगर्नु। यदि ऊ लुट्न खोज्दैछ भने चुपचाप उसले खोजेको दिनु। नबाझ्नु। तुरुन्तै प्रहरीलाई पनि फोन नगर्नु। लुटेर गइसकेपछि या आफू सुरक्षित छु भन्ने महसुस भइसकेपछि मात्र फोन गर्नुपर्छ। प्रहरीले अनुसन्धान गरेर लुटेरालाई पक्रिन सक्छ। तर, आफ्नो ज्यान त फर्काउन सकिँदैन! त्यसकारण, विशेषगरी रातिको समय या एकान्त ठाउँका पसलमा काम गर्नेहरुले यस्ता कुरा ख्याल गर्नैपर्छ।
रेशमलाई यो कुरा म्यानेजर या मालिकले भनेका थिएनन् कि? या थाहा भएर पनि उक्त समयमा बिर्सेर प्रहरीलाई फोन गरे कि?
अमेरिकामा लुटेराहरु पेस्तोल साथमा बोकेर हिँड्छन्। (रेशमको हकमा भने उनीमाथि पेस्तोल प्रहार भएको होइन।) विगतका वर्षहरुमा अमेरिकामा भएका नेपालीहरुको हत्यामा गोली प्रहार प्रमुख देखिएको छ। लुटेराहरुले भनेको नमान्दा, उनीहरुसित बाझ्दा धेरैको ज्यान गएको देखिएको छ। त्यसो त कुनै-कुनै लुटेरा सुरुमै गोली हानेर लुट्ने पनि हुन्छन्। उनीहरु स्टोरमा छिर्छन्, बोल्दै नबोली गोली हान्छन् र लुट्छन्।
अमेरिकामा हरेक वर्ष करिब साढे तीन लाख हाराहारीमा डकैत हुने गर्छ। अरबौं डलरको चोरी हुन्छ। यस्ता लुट प्राय: पेट्रोल पम्प या साना पसलहरुमा हुने गर्दछन्।
एउटा पिजा या दुई डलरका लागि पनि गोली हानेका उदाहरण छन्।
आखिर यस्तो किन हुन्छ त?
त्यति सानो कुराका लागि पनि मान्छेले कसरी हत्या गर्न सक्छ?
तर, कारण सानो छैन। यसको पछाडी निकै गहिरो कुरा छ। मानिसलाई परिस्थिति र वातावरणले बिल्कुल फरक बनाइदिँदो रहेछ। हामीलाई लाग्छ, अमेरिका निकै सम्पन्न छ।
तर, सत्य त्यो होइन।
अमेरिकामा पनि थुप्रै विपन्न छन्। सधैं अभावमा बाँच्नुपर्ने समुदाय यहाँ ठूलो छ। उनीहरु सधैं र सबैतिरबाट हेपिन्छन्। अशिक्षा, गरिबी र बेरोजगारीबाट आक्रान्त त्यस्तो समूहका युवाहरूले सजिलै काम पाउँदैनन्। जब चारैतिरका ढोका बन्द हुन्छन्, मान्छे मर्नुभन्दा बौलाउनु ठिकको स्थितिमा पुग्छ, अनि दुई-चार डलरमा कसैको ज्यान लिन पनि पछि पर्दैनन्।
हेपाई, अविश्वासमा हुर्किकएका उनीहरुको साथी भनेकै लागु पदार्थ हो। उनीहरु आफ्नो जीवनको बारेमा कमै सोच्ने गर्छन्। लागुपदार्थको व्यापार र लुट्नु नै उनीहरुको मुख्य धन्दा हो।
कारण जेसुकै भए पनि रेशमजस्ता गरिखानेहरुको ज्यानको सुरक्षाका लागि हामीले सजगताका कार्यक्रमहरु गरिरहनुपर्छ।
उनको अन्त्यष्टीका दिन त्यहाँ उर्लेको जनमानसले सायद यही कुरा भनिरहेको थियो।
नेपाल सरकारको प्रतिनिधिको रुपमा राजदूत अर्जुनकुमार कार्कीको उपस्थिति र उहाँले बोलेको कुराले हामीलाई अभिभावकत्वको महसुस भएको थियो।
अन्त्यमा, हामी दुःख र पीडामा गुज्रिएका नेपाली एउटा मीठो सपनाका लागि देश-विदेश धाउछौँ। दु:खको कुरा भन्नुपर्छ, संसारको चाकरी नगरी राम्रोसँग खान-बस्न गाह्रो हुने हामी नेपाली संसारको हरेक कुनामा भेटिन्छौँ।
तर काम गर्ने ठाउँमा आफ्नो सुरक्षाका लागि कस्ता सावधानी अपनाउने भन्नेबारे धेरै कमलाई मात्र जानकारी छ। संसारका थुप्रै देशमा नेपालीहरुले आफ्नो संघसंस्था खोलेका छन्। त्यस्ता संघ-संस्थाले नेपालबाट आउने नव-आगन्तुकहरुलाई यस्ता कुराको जानकारी गराउने कार्यक्रम राखे कति राम्रो हुन्थ्यो?
आशा गरौँ, हामी फेरि पनि यस्तो भेटघाटमा जम्मा हुन नपरोस्!