अमेरिका लैजाने प्रलोभनमा परी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखिएका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा नेपाल फिर्ता भएका छन्।
उनीहरूका अनुसार अमेरिका जान भनि बागलुङका जेशन श्रीससहितको टोलीले जनही ३५ लाख रूपैयाँ नेपालमै लिएको र पछि बिच बिचमा खाना र अरू खर्च गरि ५० लाख खर्च भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाको प्रयास र सहयोगमा उनिहरू काठमाडौ फर्किएका हुन्। पासपोर्टसमेत साथमा नरहेका उनीहरूलाई इजिप्टस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्कने व्यवस्था मिलाएको हो।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंककहुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेका थिए। ती मध्ये १२ जनालाई अमेरिका लैजान ब्राजिल उडाइएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनीहरु सम्पर्कमा आएका छैनन्।
गत महिना पनि थापाको संयोजनमा टोगोबाट यही समूहका ५ जनालाई उद्दार गरी नेपाल फर्काइएको थियो।
थापाले उनीहरुको फिर्ताका लागि सहयोग गर्ने इजिप्टस्थित नेपाली दुतावास, एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यवाद दिएका छन्।
बिबिन्द्र र जगनसमेत गत मे महिनामा मात्र एनसिसि नाइजेरियाको सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए।