गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले तीन हप्तादेखि अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षााका निम्ति नेपाल सरकारसमक्ष अपिल गरेको छ।
सर्वसुलभ चिकित्सा शिक्षाका लागि १५ अौं पटक जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसिरहेका डा. केसीलाई बिहिबार सरकारले जबरजस्ती बल प्रयोग गरेर हेलिकप्टरमा काठमाडौं ल्याएको थियो।
'जनताले स्वास्थ्यसम्बन्धी हकको सुविधा सरल, सुलभ, सहज र शीघ्र रूपमा पाउन् भनी डा. केसी सत्याग्रहमा बस्नुभएको र आमरण अनसनका कारण उहाँको स्थिति नाजुक भएको खबर सुनेर हामी गैर-आवासीय नेपाली चिन्तित भएका छौं,' केशव पौडेल अध्यक्ष रहेको परिषद्को विज्ञप्तिमा भनिएको छ, 'व्यक्तिको बाँच्ने अधिकारलाई कहीँ कतैबाट बेवास्ता गरिनु हुन्न भन्ने कुरामा एनआरएनए अमेरिका सधैं प्रतिवद्ध छl हरेक समस्याको समाधानको एक मात्र विकल्प संवाद र सहमति नै होl अत: नेपाल सरकार, संसद र सम्बन्धित निकायले डाक्टर केसीसँग अर्थपूर्ण र फलदायी वार्ता गरी उहाँका जनहितकारी मागको तत्काल सम्वोधन गरी डा. केसीको जीवन रक्षा गर्न एनआरएनए अमेरिका हार्दिक अपिल गर्दछl'
केसीलाई काठमाडौं ल्याउन सरकारले बल प्रयोग गर्दा जुम्ला अस्पताल 'रणभूमि' बनेको थियो। प्रहरीको लाठीबाट दर्जनौं विद्यार्थी, स्थानीय तथा स्वास्थ्यकर्मी घाइते भएका छन्। अस्पतालभित्र प्रहरीले गोली चलाउँदा सादा पोसाकमा रहेका एक प्रहरी गम्भीर घाइते भएका छन्। त्यसो त प्रशासनले उक्त प्रहरीको मृत्यु भएको घोषणा गरेको थियो। भीड नियन्त्रणका लागि यस्तो रणनीति अपनाएको प्रशासनले बताएको छ।