पहिलो प्रसंग:
त्यस दिन एउटा पारिवारिक डिनर पार्टीको अवसर थियो। परिवारसहित वरिपरि बसेका उनीहरू आपसमा बाझ्दै थिए। बुवा आमाबीचको अपशब्द प्रहारमा बेखबर झै टुलुटुलु हेरिरहेका थिए। छेउमा बसेका छोराछोरी, सुनेको नसुने झै गरेर बुवा आमातर्फ पुलुक्क हेर्दै खाना खाँदै थिए।
सायद, उनीहरुका लागि बुवाआमाको यो झगडा कुनै नयाँ र नौलो थिएन। तर, हाम्रा लागि नौलो थियो। मन मनै लाग्यो, लोग्ने स्वास्नीबीच जे जस्तो विवाद भए पनि बाहिरी मान्छे र छोराछोरीको अगाडि आपसमा किन बाझ्नु? मेरो चिन्ता थियो, यस्तै वातावरणमा छोराछोरीले घरेलु संस्कार सिके भने?
करिब एक घन्टा लामो विवादले त्यस दिनको पार्टीलाई नै बिथोलेको थियो।
उनीहरू दुवै त्यस घरमा पार्टीका लागि पाहुना थिए। त्यसपश्चात दुवै पतिपत्नी पार्टी छाडी आ/आफ्नो बाटो लागे। मनमा नमिठो लाग्यो। म पनि खाना खाइसकेर कुनै बहाना बनाउँदै घरतर्फ लागे।
दोस्रो प्रसंग
बीस वर्षअघि अमेरिका आएका एक जोडी सम्बन्ध बिच्छेदका लागि अदालतमा पुगेका रहेछ्न्।
आफूलाई जन्म दिएकी आमा तथा छोराछोरी सबैलाई पत्नीसँगै राखी आफू भने अर्कै महिलासँग अन्यत्र बस्दै आएका पतिबाट दिनहुँ मानसिक तनावले ती महिला पीडित छन् रे।
तेस्रो प्रसंग,
‘छोरो कुलतमा फस्यो, ड्रग्स लिन्छ, पढाई सबै बन्द छ, उसको गर्लफ्रेन्डले पनि छोडी, आजकाल उसको रिह्याबमा उपचार गर्दैछु,’ यो हो मेरा एक मित्रको समस्या।
प्रवासमा सुरूका दिन नयाँ र नौलो वातावरणका बीच छोराछोरीलाई ध्यान दिन नसक्दा यति बेला आफूले पछुताउनु परेको उनी बताउँछ्न्।
चौथो प्रसंग,
‘मेरो सर्वश्व लुटेर स्वास्नी अर्कैसँग टाप कसी, अलिकति भएको सम्पत्ति पनि उसैको नाममा थियो, साना दुई छोराछोरी आफूसँगै छन्, छोराछोरीको हेरचाहको लागि आमा बुबासँग राखेको छु, अदालत र मुद्दा मामिलाले फुर्सद पाएको छैन। दिनहुँको तनाव छ यार’, नेपालस्थित एक मित्रले दुःखेसो पोखे।
फेसबुकको अनुचित प्रयोगले एक जना पुरूषसँग उसकी पत्नी सल्किएकी रहिछ। दुवैबीचको पाँच वर्ष अगाडिको फेसबुके रोमान्स उसले भागेपछि मात्र थाहा पाएको रहेछ। ऊ भन्छ, ‘मलाई नराम्ररी चक्मा दिई यार।’
हाम्रो समाज भित्रका यी केही सामान्य र साधारण लाग्ने प्रसंगहरू मात्र उठान गरेको हुँ। यीबाहेक अन्य धेरै यस्ता घटना र गतिविधि दिनहुँ जसो हाम्रो समाजभित्र देख्न र सुन्न पाइन्छ्न्। आखिर किन यस्ता गतिविधि हाम्रो समाजभित्र मौलाउँदै छन्, यसतर्फ केही आफ्ना विचारहरू राख्ने जमर्को गरेको छु।
परिवार नै पहिलो पाठशाला
जसरी राम्रो र सर्लक्क हुर्कने रूखका लागि कसिलो जरा चाहिन्छ, त्यसरी नै मान्छेको सफलता र सुख शान्ति उसको परिवारमा निर्भर गर्छ। यदि रूखको जरा कमजोर, अव्यवस्थित, अथवा अनुपयुक्त छ भने त्यो रूख कुनै पनि अवस्थामा विकसित हुन सक्दैन।
यस्तै प्रकारले परिवार अव्यवस्थित, कुसंस्कृत तथा अनुपयुक्त भयो भने हाम्रो जीवन पनि सुसंस्कृत तथा उन्नतिशील हुन सक्दैन। मान्छेको जीवन विकासमा परिवारको ठूलो र महत्त्वपूर्ण योगदान हुन्छ। त्यसैले हामीले आफ्नो परिवारको निर्माण र विकासमा धेरै नै होसियारी पुर्याउनुपर्छ।
व्यक्तिगत तथा सामाजिक जीवनमा व्याप्त कष्ट, कठिनाइहरू तथा समस्याको समाधानका लागि सर्वप्रथम आफ्नो समाजमा सुसंस्कारिताको वातावरण सृजना गरियो भने समाजका सबै बासिन्दाहरूमा सुसस्कृत प्रवृत्ति अनुशरण गर्नका लागि प्रेरणा र प्रोत्साहन मिल्नेछ।
हाम्रा बुवा बाजेले भन्दै आएका हुन् कि बच्चाहरूका लागि उसले जन्म लिएको घर र त्यसभित्र बसोबास गर्ने परिवार नै उसका लागि पहिलो पाठशाला हो।
सायद बच्चाहरूले बामे टेकेको, तोते बोली फुटेको, खानपिन सिकेको, घरको रहनसहनमा हुर्केको र घरका अग्रज वृद्धवृद्धा, बुवाआमाको नैतिक शिक्षा प्राप्त गर्ने भएकाले बच्चाका लागि परिवार नै पहिलो पाठशाला भनिएको होला। तर, प्रश्न उठ्छ कि के घरका बुवाआमाले हामीहरूलाई यी सबै नैतिक शिक्षाका अलावा जीउने कला र आफ्नो कर्तव्यका बारेमा सिकाए?