अमेरिकामा बसाेबास गरिरहेका नेपालीहरुसँग अन्तर्क्रियाका लागि कलाकार मदनकृष्ण श्रेष्ठ अमेरिका आइपुगेका छन्। गैर-नाफामुलक संस्था नेपा: पासा पुच: अमेरिकाए (एनपिपिए) को निम्तोमा यता आएका उनी करिब तीन साता अमेरिका रहनेछन्।
एक वर्षअघि आत्मकथा सार्वजनिक गरेका श्रेष्ठले अगस्ट चारका दिन मेरिल्याण्ड राज्यको जर्मनटाउन सहरमा नेपालीहरुसँग आफ्ना जीवनका अविष्मरणीय अनुभव साझा गर्नेछन्। दर्शकसँगको अन्तरक्रियाका लागि पत्रकार प्रेम बानियाँ र गायक तथा अवैतनिक महावाणिज्य दूत प्रेमराजा महतले सहजीकरण गर्नेछन्।
'उहाँले महको म पुस्तक, गायन तथा आफ्नो फिल्म तथा टेलिभजन कलाकारिताकाबारेमा अनुभव बाँड्नुहुनेछ, आयोजक संस्थाका प्रमुख राजु जोशीले भने, 'यसै वरिपरि रहेर सहभागीले आफ्नो जिज्ञासा राख्न सक्नेछन्।'
अन्तरक्रियाका साथै कलाकार श्रेष्ठसँग सहभागीले रात्रीभोजमा सरिक हुन पाउने माैका पनि आयोजकले जुराएको छ। अन्तरक्रिया सकिएपछिको साँझ श्रेष्ठसँग बिताएर सहभागीले समयलाई थप यादगार बनाउन सक्नेछन्।
यसका लागि नयाँ सहभागीले ६० डलर शुल्क तोकिएको छ। यसबाट संकलित रकमको केही अंश नेपालका क्यान्सरपीडित र बालबालिकाको शिक्षााका क्षेत्रमा खर्च गरिने आयोजक संस्थाले जनाए।