अमेरिकाका लागि पहिलोपल्ट सांगीतिक यात्रामा निस्केको कन्दरा समूह जुलाई २८ का दिन टेक्ससको डालस सहरमा प्रस्तुत हुने भएको छ। करिब एक महिनादेखि अमेरिकाका बिभिन्न सहरमा कन्सर्ट दिइरहेको कन्दरालाई डालसमा एनएसी एन्ड डिटी इन्टरटेन्मेन्टले पिक रेष्टुरेन्टको सहकार्यमा प्रस्तुत गर्न लागेको हो।
मंगलबार कन्सर्टबारे जानकारी दिन कन्दरा समूह फिसटेल नेपाली रेष्टुरेन्टमा उपस्थित थियो। समूहका मुख्य गायक विवेक श्रेष्ठले कन्सर्टमा आफ्ना नयाँ-पुराना हिट गीत मात्र नभई आफ्नो समयका चर्चित अरुका गीत पनि गाउने बताए। तगारोमा रुमाल राखी, लेककी हे माया, हिउँ हैन थप्रेको डंगुरलगायत गीत हिट छन्।
यो समूह उतिबेला मोफसलको सबैभन्दा चर्चित थियो। त्यतिबेला अरु समूह काठमाडौं केन्द्रित छँदा कन्दराले भने आफूलाई पोखराबाटै स्थापित गरेको थियो। स्थापनाको साढे दुई दशक लामाे यात्रामा यो समूह बीचमा सुस्ताउन पुगेको थियो। समूहका मुख्य गायक विवेक श्रेष्ठ १२ वर्ष बेलायत बसेर देश फर्केपछि ब्यान्डले आफूलाई फेरि फैलाउन सुरु गरेको छ। अमेरिका यात्रा त्यसकै निरन्तरता हो।