नेपाल अमेरिका जर्नलिस्ट एसोसिएसन (नेजा) ले नेपालको राजनीतिक आन्दोलनमा योगदान पुर्याएका देशान्तर साप्ताहिकका प्रधान सम्पादक कबिर राणासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ।
गत आइतबार निर्वाचित नेजाको नयाँ कार्यसमितिले न्यूयोर्क आइपुगेका राणासँग भेटघाटको व्यवस्थापन मिलाएको हो।
ज्याक्सन हाइटमा आयोजित अन्तरक्रियामा न्युयोर्कमा कार्यरत पत्रकार, गैर आवासीय नेपाली संघ अमेरिका र न्यूयोर्क च्याप्टरका प्रतिनिधि, बिभिन्न राजनीतिक दलका संगठनमा आवद्ध व्यक्ति र समाजिक अभियन्ताहरुको सहभागिता थियो ।
सहभागीहरुले नेपाली सञ्चारमाध्यम स्वतन्त्र र निश्पक्ष हुन नसकेको गुनासो गरेका थिए। पछिल्लो समय प्रविधिको विकाससँगै मौलाएको अनलाईन पत्रकारिताको अगाडि छापा सञ्चारमाध्यमको भविश्य जोखिममा पर्दै गएको अवस्थाबारे उल्लेख गर्दै छापा माध्यमको भविश्य कस्तो होला? भन्ने सहभागीको जिज्ञासामा राणाले भने, ‘अझै पनि प्रिन्ट मिडिया अनलाईनभन्दा निकै उत्तरदायी र लोकप्रिय छ। अनलाईनमा अहिले राखेको समाचार तुरुन्तै हटाउन सकिन्छ। पत्रपत्रिका जति जिम्मेवार अनलाइन छैन। त्यसले कहिलेकाँही पाठक र आम सर्बसाधारणलाई अफ्ठेरो पनि पारिरहेको छ। आफैंले रेकर्ड राख्न सकिएन भने अन्यायमा परेकाले न्याय पाउन निकै मुस्किल पर्छ। तर, पत्रपत्रिकामा छापिइसकेको कुरामा सम्पादक, सञ्चारमाध्यमका मालिक र पत्रकार सँधै जिम्मेवार हुनुपर्छ। वर्षौपछि पनि पत्रिका हेर्न र पढ्न मिल्छ।’
राउण्ड टेवल कार्यक्रममा सहभागीका जिज्ञासालाई मेटाउँदै राणाले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन सिङ्गो समाज र व्यक्तिको हात हुने पनि बताए। नेपालको पत्रकारिता अझै पनि पूर्ण स्वतन्त्र र निश्पक्ष नभएको बताउँदै सबैले मिसन पत्रकारिता गरिरहेको उल्लेख गरे। ‘तर, मिसन पत्रकारिता गर्दैगर्दा कुनै व्यक्ति, संघसंस्था, राजनीतिक दल, समाज कसैप्रति पनि आग्रह पुर्वाग्रह राख्नु चाँहि हुदैन,’ उनले भने।
प्रवासको पत्रकारितामा आर्थिक विषयले महत्वपूर्ण अर्थ राख्ने भएकाले पूर्णकालिन पत्रकारिता गर्न निकै अफ्ठेरो र चुनौतूपूर्ण रहेको पनि उल्लेख गरे । थोरै समय छुट्याएर गरिने पत्रकारितामा नेपालको समाचार भन्दा यहीका स्थानीय समाचारलाई बढी प्राथमिकता दिन पनि उनको आग्रह थियो।
अन्तरक्रियामा एनआरएनए अमेरिकाका महासचिव बिआर लामा, जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुबेदी, एनआरएनए आइसीसी सदस्या बन्दना कोइराला, नेजाका पूर्वमहासचिव किशोर पन्थी, नेजाका पूर्वकोषाध्यक्ष गिता पन्त, प्रजातान्त्रिक युवा फोरमका अध्यक्ष प्रमोद सिटौला, नेविसंघ अमेरिकाका सभापति प्रभात सापकोटा, क्विन्स कम्युनिटि बोर्ड सल्लाहकार नवराज केसी, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारि, गोर्खा समाजका सल्लाहकार खमलाल भट्टबाग्लुङ समाजका अध्यक्ष चन्द्र जिसीलागायतले पत्रकार र सामाजिक संस्थाको सम्बन्धको बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेजाका नव नियुक्त पदाधिकारीहरु महासचिब किरणबाबु मरहठ्ठा, कोषाध्यक्ष मच्छे गुरुङ र पूर्व क्षेत्रीय संयोजक कल्पना घिमिरेको सहभागीता थियो ।