अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार अमेरिकाको न्युयोर्कमा २०५ औं भानुजयन्ती तथा नवरत्न पुरस्कार समर्पण कार्यक्रम आयोजना गर्यो।
अनेसास न्युयोर्क च्याप्टरको संयोजनमा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा नायव महाबाणिज्यदूत पुष्पराज भट्टराई, अनेसास केन्द्रका अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष पदम विश्वकर्मा, अनेसास बोर्डअफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री तथा दीपा राईलगायतले पुरस्कृतलाई सम्मान गरेका थिए।
नेपाली साहित्य, संगीत, समाजसेवा, कला र व्यबसायमा संग्लग्न सफल महिलालाई सम्मान तथा प्रोत्साहन स्वरूप प्रत्येक २/ २ वर्षमा दुई सय अमेरिकी डलर नगद सहित यो पुरस्कार प्रदान गर्ने गरिएको छ।
सम्मानित हुनेमा नायिका मनिषा कोइराला, गायिका हरिदेवी कोइराला, साहित्यकार उन्नती बोहोरा शीला, पुनम काफ्ले र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षेत्री र कला खरेल तथा युवा रंगमञ्च निर्देशक सम्पदा मल्ल छन्।
यसै गरि जापानमा बसेर लामो समयदेखि सितार बादनमा संलग्न सुष्मा ओमातालाई ‘अनेसास नवरत्न विशिष्ट साधक सम्मान’ द्वारा सम्मानित गरिएको छ। बालसाहित्यका क्षेत्रमा समर्पित बिमला निरौलालाई ‘अनेसास बाल साहित्य सम्मान’ द्वारा सम्मानित गरिएको छ।
कार्यक्रममा नृत्य, चित्रकारिता र कलाकारिताका क्षेत्रमा संलग्न बालिकाहरू सिमरन अधिकारी, अरमानी महर्जन र श्रीनिति रिजाललाई प्रोत्साहन स्वरूप नवरत्न बाल प्रतिभा पुरस्कार प्रदान गरियो।
पुरस्कार समितिका संयोजक शकुन्तला ज्ञवालीले यस किसिमको पुरस्कारले पुरस्कृतलाई आ-आफ्नो क्षेत्रमा अझ समर्पित हुन ऊर्जा मिल्ने बताउँदै पुरस्कारको निरन्तरताको कामना गरिन्।
कार्यक्रममा पुरस्कार चयन समितिका संयोजक गीता खत्रीले नवरत्न पुरस्कार साहित्यका अलावा समाजका बिभिन्न क्षेत्रमा समर्पित महिलालाई प्रदान गरिने उद्धेश्य अनुरुप यस वर्ष नौ महिलालाई नवरत्न सम्मान, दुई लाई बिशेष सम्मान र तीनजनालाई बालप्रतिभा पुरस्कार प्रदान गरिएको बताइन्।
साहित्यकार किसन सिंह धामीले आदिकवि भानुभक्तका बारे प्रकाश पारेको कार्यक्रममा साहित्यकार सीता खरेलले अनेसासको गतिबिधिलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अनुरोध गरिन्।
आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण गरेर सुरु भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए।
अनेसास केन्द्रका उपाध्यक्ष प्रकाश नेपालले भानुभक्तका बिबादका बारेमा बोलेका थिए।
गायक तथा संगीतकार गणेश पराजुलीको संगीतमा तयार पारिएको न्युयोर्कका गीतकारहरू बिनोद रोका, गीता खत्री, परिता राजभण्डारी , पुनम काफ्ले,ज्योति पौडेल र राजेन्द्र श्रेष्ठको शब्द रचना रहेको सिडी एल्बम बिमोचन गरिएको उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी कविहरूले सिर्जना बाचन गरेका थिएँ।