नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको पछिल्लो गतिविधिबारे विरोध जनाएको छ।
सरकारको अधिनायकवादी, जनविरोधी असंवैधानिक क्रियाकलापको बिरूद्धमा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा पुगेर वाणिज्य दूत पुष्प कुमार भट्टराईमार्फत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सांकेतिक विरोधस्वरूप ज्ञापन-पत्र बुझाइएको छ।
नेपाली जनसम्पर्क समितिका सभापति एवम् नेकाका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको ध्यानाकर्षण गराउन उक्त बिरोध पत्र बुझाएको हो।
ज्ञापन पत्रमा सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमा गरेको अन्यायपूर्ण राज्यआतंक, अनियन्त्रित बजार मूल्यबृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिका माथि गरेको ठाडो आक्रमणलगायत संविधानको मर्म र भावनालाई मिचेर गरेका निर्णय, व्यवहार र सरकारी नितिको नेपाली जनसम्पर्क समिति अमेरिकाले घोर निन्दा र बिरोध गरेको छ ।
ज्ञापन पत्र बुझाउने टोलीमा संस्थाका केन्द्रीय सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास लामा, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति अमर तामाङ, सदस्य उमेश थापा, शिव बानियाँ, संस्थाका सल्लाहकार आङदावा शेर्पा, महिला संघका केन्दीय सदस्य राजन बिश्वाकर्मा लगायत थिए।