हालै गठन भएको अन्तर्राष्ट्रिय पत्रकार संघ (इन्जा) ले आफ्नो धारणा सार्वजनिक गरेको छ। शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक सञ्जालमा चलेका हल्लाले भ्रम सिर्जना गरेको भन्दै संस्था कुनै संगठनबाट टुक्रिएर बनेको नभई छुट्टै स्वतन्त्र संस्था भएको जनाएको छ।
‘यो गैह्र–नाफामूलक व्यावसायीक संस्था हो,’ संघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘संसारभर छरिएर सञ्चारकर्म गरिरहेकालाई एक ठाउँमा गोलबद्ध गर्ने उद्देश्यले खोलिएको संस्था हो। पत्रकारिता गर्दै आएकाहरुको सहजताका लागि खोलिएका पत्रकार संगठनबीच समन्वय गर्ने, विभिन्न विषयमा छलफल गर्ने संघको नीति रहेको छ। तसर्थ, हामी यो जानकारी गराउन चाहन्छौं कि यो कुनै पत्रकारहरुको संस्थाबाट टुक्रिएर बनेको होइन। संस्था सबै संगठनहरुको सहयोगी भूमिका निभाउन चाहन्छ।’
संघले बिभिन्न देशमा केन्द्रित रहेर मूलधारको पत्रकारिताका लागि नेपाली पत्रकारहरुलाई सहयोगी भूमिका खेल्ने जनाएको छ। ‘प्रवासका मूलधारका सञ्चारसंस्थासँग नेपाली पत्रकारहरुको सीपलाई प्रयोग गर्न संघले पहल गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताका लागि मात्र नभएर प्रवासी नेपालीको हकहितका लागि पनि संघले अहम् भूमिका खेल्नेछ। त्यसका लागि प्रवासी नेपालीका संघसंगठन, विद्यार्थी, लेखक, मजदुर, कलाकारहरुसँग पनि नियमित छलफल गर्नेछ।’
अमेरिकामा गठन भएको संघले छिट्टै नै पाँचै महादेशमा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।