मिस नेपाल युएसए २०१८ को उपाधिका लागि अन्तिम १८ प्रतिस्पर्धी प्रशिक्षणमा जुटेका छन्।
अगष्ट १९ मा र्याम्पमा उत्रनुअघि आफ्नो क्षमता अभिवृद्धिका लागि प्रतियोगितामा सहभागी भएकालाई पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले विभिन्न विद्यामा प्रशिक्षण दिइरहेका छन्।
अन्तिम प्रतिष्पर्धाका लागि अदिति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरूङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई छानिएका हुन्।
उनीहरूको आइतबार परिचयात्मक कार्यक्रम राखिएको थियो। सो अवसरमा सहभागिले मिस नेपाल युएसएमा आफ्नो सहभागितालाई अवसरको निर्माणको आधार भएको बताए।
उनीहरुले यस्ता प्रतियोगितामा सहभागिताले संजाल निर्माणमा सघाउ पुग्नेमा जोड दिँदै भविष्यमा नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति काम गर्ने सोँच रहेको सुनाए।
उनीहरुले नेपालका ग्रामिणको महिलाको स्वास्थ्य सेवामा टेवा पुऱ्याउने योजनादेखि सडक बालबालिकालाई विद्यालयसम्म पुऱ्याउने मार्ग खोज्न पहल गर्ने सम्ममा योजना बुनेको जनाए।
नेपालमा मात्र होइन अमेरिकामा रहने नेपाली विद्यार्थीदेखि आमा बुवाहरुले भोग्नु परिरहेको समस्यालाई समाधान गर्न केही कार्यक्रमहरू गर्न सकिने र त्यसका लागि आफूहरूलेसमेत केही योगदान पुऱ्याउन सक्ने बताए ।
इभेन्ट प्लानेट इंकले इ प्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल-युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले जनाएको छ।
टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ।
यो प्रतियोगितामा मिस नेपाल-युएसएको उपाधिका साथैं फस्ट रनर अप र सेकेण्ड रनर अपसमेत घोषित गरिनेछ भने मिस पब्लिक च्वाइस, मिस कल्चर, मिस पर्सनालिटि, मिस क्याटवाक, मिस ट्यालेन्ट,मिस फोटोजेनिक, मिस डिसिपिलिन, मिस एकेडेमिक एक्सिलेन्स, मिस सोसल एक्सिलेन्स र मिस नेपाल टेक्सस विधामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसैबीच, यस मिस नेपाल-युएसको यात्राले सामाजिक सहकार्यमा समेत हात अघि बढाएको छ।
नेपालको सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेको नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीले नेतृत्व गरेको र्सोर्वे फाउण्डेशनसग सहकार्य गरेको छ। यस प्रतियोगितामा मिस पब्लिक च्वाइस बन्ने फाउण्डेशनको सद्भावना दूतसमेत बन्नेछिन्।
भोट मार्फत यो विधाको विजेता छान्न लागिएको छ। भोटका क्रममा भोट दिनेबाट उठ्ने रकमबाट यस प्रयोजनका लागि खर्च हुन आउने रकम कट्टा गरी बचेको रकम फाउण्डेशनलाई उपलब्ध गराइने बताइएको छ ।
यस्तैं, अगष्ट १९ मा हुने मिस नेपाल-युएसको मुख्य कार्यक्रमका दौरान विक्रि हुने हरेक टिकटबाट प्रति टिकट १ डलर नेपाली समाज टेक्ससलाई उपलब्ध गराउने आयोजक मध्येका एक प्याट्रिक सुवेदीले बताए।
पछिल्ला पाँचौं संस्करणमा पहिलोमा डिसीकी सुजिता बस्नेत, दोस्रोमा भर्जिनियाकी आस्था श्रेष्ठ, तेस्रोमा न्यूयोर्ककी वर्तिका राई, चौथोमा ओहायोकी खुश्वु मिश्र र पाँचौंमा नर्थ क्यारोलिनाकी प्रियंका थपलियाले ताज जितेका थिए।
यसैबीच, मिस नेपाल युएसका संस्थापक अध्यक्ष अमित शाहले मिस नेपाल युएस सौन्दर्य प्रतियोगिता नभई अमेरिकामा बस्ने नेपाली मुलका युवतीहरुको क्षमता अभिवृद्धिका लागि प्लेटफार्म भएको बताए।
अन्तिम प्रतिष्पर्धामा रहेका सहभागिलाई स्वागत गर्दै उनले मिस नेपाल युएसमा सहभागिता समाजमा केही गर्नका लागि एउटा यात्रा भएको बताउँदै कार्यक्रमलाई समुदायको साथमा निरन्तर अघि बढाइएको जनाए।