हिन्दुहरूका धार्मिक तथा साँस्कृतिक चाडपर्वहरू मध्येको एक विशिष्ट पर्व श्रावणीपूर्णिमा (जनै पूर्णिमा) हो। यस दिन हिन्दु धर्मावलम्वी विद्वानहरूद्वारा अध्यायोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ।
यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य (सूर्य)बाट वेद प्राप्त गरेका थिए। अतः यस दिनलाई वेदजयन्तीको रूपमा पनि चिनिन्छ। यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ।
अभिमन्त्रित नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी अंकूर उम्रिएको क्वाँटी खाएर यस पर्वलाई धुमधामका साथ मनाइन्छ। वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, पूर्णिमाका दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव नभए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्नुपर्ने शास्त्रीय विधान छ।
त्यस पछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ लिने र सन्ने सुनाउने गरिन्छ। त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीत अभिमन्त्रण (जनै मन्त्रने काम)गर्ने तथा जनै फेर्ने परम्परा छ।
उपाकर्मणि चोत्सर्गे गतेमासचतुष्टये !
नवयज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत्।
अर्थात्
उपाकर्म, उत्सर्ग- आशौचान्त आदि र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँजनै (यज्ञोपवीत)फेर्नु भन्ने वचन छ। यसदिन मन्त्रण गरेको यज्ञोपवीत (जनै) वर्षदिनभर लगाउन मिल्दछ।
यस वर्ष अमेरिकाको स्थानीय समय अनुसार अगष्ट २५ शनिबार नै अमेरिका र क्यानाडामा जनै पूर्णिमा परेको छ।
अमेरिकाको स्थानीय समय अनुसार २५ अगष्ट शनिबार प्रात: ०४:५५ बाट नै श्रावण शुक्ल पूर्णिमा तिथि सुरू हुन्छ। सो दिनको डालासको सूर्योदय ०६:५७ मा मात्र हुने देखिन्छ।
नाग पन्चमी, जनैपूर्णिमा, कुशेऔंसीजस्ता पर्वहरू मनाउन कम्तिमा सूर्योदयकालमा सम्बन्धित तिथि हुन जरूरी छ तसर्थ पश्चिमी मूलुकहरूमा २५ अगष्ट शनिबार नै जनै पूर्णिमा मनाउनुपर्ने हुन्छ। नेपालका लागि भने २६ अगष्ट आइतबार नै पर्ने स्पष्ट छ।
अमेरिका क्यानाडा आदि मुलुकहरूमा अगष्ट २६ आइतबारको प्रातकालीन सूर्योदय भाद्र कृष्ण प्रतिपदामा हुने देखिन्छ। रक्षा बन्धन र श्रावणी तथा जनै अभिमन्त्रण भाद्र कृष्णप्रतिपदामा गर्ने विधान होइन, यो त श्रावण शुक्ल पूर्णिमा तिथिमा सूर्योदय भएको शुभ तिथि र घडिपला भित्रमा गर्ने शास्त्रीय विधान हो। यस संम्बन्धमा शास्त्रहरूको वचन यस्तो छ:-
सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनोदये।
स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानत:।।
उपाकर्मणि कर्तव्यम् ऋषिणां चैव पूजनम्।
ततोऽपराह्णसमये रक्षापोटलिकां शुभम्।। इति
नेपालको पात्रो अमेरिका, क्यानाडा आदि मूलुकहरूमा नेपालभन्दा करिब १० देखि १३ घन्टा सम्मको समय अन्तरका कारण जस्ताको तस्तै मिल्दैन तसर्थ यहाँ पश्चिमी मूलुकहरूमा तिथिको घडिपलालाई विचार गरी स्थानीय समय संस्कार गरेर मात्र पर्वहरू मनाउनु पर्छ भन्ने मेरो बुझाई छ।
यस विषयमा अनलाइन पञ्चाङ्हरूले पनि अझ प्रष्ट पारेका छन्। यस विषयमा कुनै जिज्ञाँसा भएमा हजुरहरूले पनि आ-आफ्नो स्मार्ट फोनमा google मा गएर
www.drikpanchang.cam / or
www.mypanchang.com/ or
www.hindilok.com/
आदि कुनै पनि पन्चांगहरूमा आफू बसेको देश र शहर छानेर त्यस ठाउँमा हाम्रा तिथिपर्वहरू कहिले कहिले पर्छन् तुरुन्त हेर्न सक्नुहुनेछ।
यहाँका भारतीय समाजहरूले बनाएका ठूला ठूला हिन्दु मन्दिरहरूका वेवसाइटमा राखिएका पात्रोहरूमा पनि स्थानीय समय अनुसार नै पर्वहरू मनाउने कुरा देखाईएको छ।
अमेरिकामा भूटान, बर्मा आदि मूलुकहरूबाट आएका हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरूले पनि स्थानीय समयअनुसार नै घडिपला विचार गरेर चाडपर्वहरू मनाइरहेको देखिन्छ तर नेपालबाटै आएका विद्वत् वर्ग होस् वा हिन्दुधर्मानुरागी अन्य दाजुभाई दिदीबहिनीहरू सवैले काठमाडौंको सूर्योदय र समयमान हिसाव गरेर नेपालका लागि बनाइएको पात्रोलाई स्थानीय समय संस्कार नगरीकन जस्ताको तस्तै रूपमा यहाँ पनि प्रयोगमा ल्याउन खोजेको देखियो जुन युक्तिसंगत देखिदैन।
यदि जस्ताको तस्तै नेपालका चाडहरू मनाउने हो भने अमेरिका क्यानाडा आदि देशमा बस्ने नेपालीहरूले हरेक चाडहरू रातको समयमा मनाउनुपर्ने हुन्छ जो सम्भव छैन। नेपालमा मनाएको भोलिपल्ट अमेरिकामा पर्वहरू मनाउँदा प्रायजसो तिथिको घडिपला कटिसकेको हुने गर्छ।
धेरैको तर्क छ अमेरिका र क्यानाडामा त झन ढिला आउनुपर्ने चाडपर्वहरू कसरी छिटो पर्यो त ? भन्ने।
यो ज्योतिषको गहन विषय हो। यसले अक्षांश देशान्तर र मानक समयसँग सम्बन्ध राख्छ। यो कुरा बुझ्न छुट्टै रूपले पन्चांगकारहरूसहित बसेर छलफल गर्नुपर्ने हुन्छ। यहाँहरूले स्वयं पन्चांगकारहरूलाई नै सोध्न पनि सक्नुहुनेछ।
साधारणतया एउटा तिथिले ६० घटि वा २४ घण्टा भोग गर्दछ। अहिलेको नेपाली पञ्चाङ्गहरूको स्थिति हेर्दा नेपालमा जुन समयमा तिथि सुरु हुन्छ सोही समयमा अन्यत्र पनि सुरू हुन्छ र जुन समयमा सकिन्छ अमेरिका लगायत अरु देशहरूमा पनि त्यही समयमा सकिन्छ।
जस अनुसार यस वर्षको जनै पूर्णिमाको घडि नेपालमा अगष्ट २६ आइतबार बेलुका ०४:१८ मा सकिने छ जुन बेला अमेरिकाको टेक्सासमा अगष्ट २६ आइतबार करिब बिहानको ०५:३०बजेको हुन्छ जुन बेला पूर्णिमाको समय सकिएर भाद्र कृष्णप्रतिपदा लागिसक्छ।
तसर्थ रातको समयमा चाडपर्वहरू मनाउन असम्भव भई दिउँसोको समयमा मनाउनुपर्ने हुनाले तिथिको करिब २४ घन्टाको समयमा पछिल्लो १२ घण्टाको समयमा नेपालमा र अघिल्लो १२ घण्टाको समयमा अमेरिकामा प्रायजसो चाडपर्वहरू मनाउनुपर्ने अवस्था देखिएको हुँदा यहाँ पहिले आएको जस्तो अनुभूति हुन्छ।
तर अगष्ट २६ आइतबारमा चाँहि डालास, टेक्सासको सूर्योदय ०६:५७ मा मात्र हुन्छ जस अनुसार आइतबारको सूर्योदयकालमा अमेरिकामा पूर्णिमा तिथि नपर्ने र शनिवारचाँहि पूर्णिमा तिथिमा सूर्योदय हुने हुँदा जनै पूर्णिमा शनिवार नै मनाउनु पर्नेमा कुनै शंका देखिदैन।
यो केवल जनै पूर्णिमाका लागि मात्र नभएर सवै चाडपर्वहरूका लागि देखिएको समय भिन्नता हो।
यस वर्षका प्रमूख चाडहरू ‘हरितालिका तीज’ ‘घटस्थापना’ ‘विजयादशमी’ तथा ‘लक्ष्मीपूजा’ जस्ता विशिष्ट चाडहरू पनि स्थानीय समय अनुसार अमेरिका र क्यानाडावासी नेपालीहरूले नेपालमा भन्दा एकदिन अघि मनाउनुपर्ने देखिएको छ। जुन कुरा विदेशवासी नेपालीहरूले स्वीकार्न गाह्रो पर्नसक्छ।
जे होस् स्थानीय समयलाई विचारगरेर जुन दिन पर्छ त्यही दिन मात्र चाडपर्वहरू मनाउनु पर्छ अन्यथा फलदायक हुदैन भन्नेमा म विस्वस्त छु।
यी सवै कुराहरूलाई ध्यानमा राख्दा यो विदेशमा रहेको नेपालसँगको समयान्तर र विदेशका लागि नेपाली चाडपर्वहरूका विषयमा अहिले प्रचलनमा आएका ‘हाम्रो पात्रो’, ‘नेपाली पात्रो’ लगायत नेपालीअनलाइन पात्रोहरू तथा ‘नेपाल पञ्चाङ्ग निर्णायक समिति’ र नेपाली पञ्चाङ्गकारले विचार पुर्याउनुपर्ने कुरा अत्यावश्यक बनेको छ।
आजको नेपालीहरूको विश्वव्यापीकरण सँगै नेपाली चाडपर्वहरू पनि संसारमा फैलिदैछन्। तर हाम्रो पात्रो, नेपाली पात्रो आदि नेपाली आनलाइन पञ्चाङ्गहरूले नेपालका लागि देखाएका तिथि र चाडपर्वहरूका घडिपाला नेपालबाहेकका अरू देशहरूमा समयमान, अक्षांश, देशान्तर, डेलाइट सेभिङ आदिको फरकले गर्दा जस्ताको तस्तै मिल्दैनन् ता पनि नेपालीहरूले हुबहू त्यसलाई नै पछ्याईरहेको अवस्था छ।
तसर्थ:- जसरी अरू सयौं गुगलमा भेटिने अनलाइन पञ्चाङ्गहरूले स्थानीय समय, तिथि र घडिपला निकाल्न तत् तत् देश र त्यहाँका प्रसिद्ध शहरहरू गुगल म्यापबाट छानेर राख्न अवसर दिएका छन्।
त्यसैगरी “हाम्रो पात्रो” “ नेपाली पात्रो” लगायत नेपाली अनलाइन पञ्चाङ्गहरूले पनि आ-आफ्ना कुण्डली भन्ने स्टेपमा जन्मस्थान हाल्न दिइएको अप्सनझैं स्थानीय पञ्चाङ्ग र तिथिमितिको घडिपला समय निकाल्नमा पनि पञ्चाङ्गको सेटिङमा स्थानीय शहर राखेर सही तिथि पर्वहरू देखाउने व्यवस्था मिलाउन अति जरुरी देखिएको छ। सम्बन्धित पक्षको यो बिषयप्रति ध्यान पुगोस् भन्ने चाहन्छु।
यसैगरी ‘नेपाल पन्चाङ निर्णायक समिति’ ले पनि नेपालबाट प्रकाशित हुने पञ्चाङ्गमा विदेशवासी नेपालीहरूले मनाउनुपर्ने चाडपर्वको समय, तिथि र घडिपलालाई अब कुनै न कुनै रूपले संकेत गर्नुपर्ने अवस्था छ। विगतका पञ्चाङ्गहरूमा यसो नहुनाले गर्दा विदेशमा जन्मिनेको नाम जुराउनदेखि लिएर विदेशमै देहावसान हुनेहरूको मृत्युतिथि किटान गर्न लगायत वार्षिक चाडपर्वहरू उचित समयमा मनाउनसमेत अहिले समस्या देखिएको छ। आसा छ आगामी दिनमा प्रकाशित हुने नयाँ सालका पञ्चाङ्गहरूमा यी विषयहरूलाई अवस्य सम्बोधन गरिनेछन्।
यस्ता समयान्तर सम्बन्धी देखिएका समस्याहरूलाई संबोधन गर्न म आफैंले पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सँग केही दिन अघि मात्र गहन कुरा राखिसकेको छु। वहाँले यो विषय छलफलमा लाने आश्वासन दिनुभएकोमा आभारी छु। साथै विदेशबाटै प्रकाशित हुने नेपाली पञ्चाङ्गका पञ्चाङ्गकार ज्योतिषीहरूलाई पनि आफ्नो पात्रोका विषयमा समाजलाई शंकामुक्त गराउनका लागि “नेपाल पञ्चाङ्ग निर्णायक समिति” बाट पात्रोका लागि संम्मति लिएर मात्र पञ्चाङ्ग निकाल्न अनुरोध गर्दछु। यसले विदेशमा बस्ने नेपालीहरूलाई चाडपर्व संम्बन्धी भएको कन्फ्यूजन हटाउन ठूलो सहयोग गर्नेछ।