नेपाली अमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहरमा मंगलबार सम्पन्न भएको छ।
बोस्टनको हार्वर्ड विश्वविद्यालय मेडिकल स्कूलको सभाहलमा ६५ विज्ञ र दर्जनौं स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिकाका १७ राज्यबाट २४ जना विज्ञद्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो। नेपालको समावेशी विकासमा मानवीय स्रोत विकासलाई संस्थागत गर्ने विषयमा केन्द्रित सम्मेलनको संयोजन युएसएनपीआरसीका सदस्य तथा हार्वर्ड विश्वविद्यालयका बैज्ञानिक दीनबन्धु भट्टले गरेका थिए।
सम्मेलनमा बिज्ञहरु डा. सुरेन्द्रराज देवकोटा, डा. आमोद पोख्रेल, डा. आलोक देवकोटा, डा. यादव पण्डित, डा. सुमन पराजुली, अमेरिकी सरकार डिपार्टमेन्ट अफ कमर्शका डा. अमिताभ दास, डा. तिलक भण्डारी, डा. कूल काप्री, डा. शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंशलाल तामाङ, डा. बिष्णु घिमिरे, डा. अनोवा गुरुङ ,कोविद दाहाल, अजित बराल, राज सर्राफ, मुकेश बराल, नरेन्द्र जोशी, डा. पंकज बराल, डा. लक्ष्मीविलाश आचार्य, डा. प्रकाश श्रेष्ठ, डा. शिवहरि दाहाल, एडा थापा, डा. रुद्र अर्यालले बिभिन्न विषयमा प्रस्तुतीकरण र प्रस्नोत्तर गरेका थिए।
नेपालको लागि र अमेरिका रहेका नेपालीका लागि सम्बन्धित सरकार र सरोकारवाला निकायहरुलाई बिभिन्न नीतिगत विषयमा नेपाली बिज्ञहरुबाट सामुहिक र संथागत सहयोग र सुझाव दिने उद्देश्य रहेको यस संस्थाको तेस्रो सम्मेलन पाँचवटा सत्रमा बिभाजित रहेको थियो।
संस्थागत संरचना र स्थानीय सरकारहरु विषयक सत्रको सभापतित्व डा. राजन पन्त, कृषि, प्रत्यक्ष बैदेशिक लगानी र आर्थिक बिकास बिषयक सत्रको सभापतित्व डा. अर्जुन बन्जाडे, बिदेशमा रहेका नेपाली र सुचना प्रविधी बिषयक सत्रको सभापतित्व डा. देशराज संयोक ,स्वास्थ्य र विकास बिषयक सत्रको सभापतित्व जगदम्वा अधिकारी र युएसएनपीआरसी संस्थाद्वार हाल संचालित र भावी परियोजना सत्रको सभापतित्व तरुण पौडेलले गरेका थिए।
सम्मेलनमा युएसनेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा. आमोद पोखरेलले स्वागत तथा भावी योजना मन्तब्य, कार्यकारी सचिव डा. अर्जुन बन्जाडेले संस्थाका गतिबिधिका बारेमा मन्तब्य राखेका थिए।
युएस नेपाल पोलिसी रिसर्च सेन्टरको आगामी वर्ष चौथो सम्मेलन २०१९को मे अन्तिम साता सानफ्रान्सिस्कोमा गर्ने र सन २०१९ को सुरुतिर काठमाडौमा नेपालमा नयाँ संथागत संरचना अवसर कि संकट विषयमा अन्तर्राष्ट्रिय सेमिनार गर्ने निर्णय समेत भएको छ।