लेखेर छाडेको कुरा पढेर मात्रै पूरा नहुने रै’छ। त्यसमा आउने प्रतिक्रिया, को मान्छेले कसरी सदर या बदर गर्यो भन्ने कुरा पनि हेरे/पढेपछि बल्ल अलि धेरै पढिने रैछ क्यारे! हरेकपल्ट नयाँ–नयाँ कोणमा लेखोटलाई ठोक्काइराख्नु पर्ने त्यही भएरै होला। “भानुभक्त” राष्ट्रिय मानक बनेको कुरालाई अर्कै ढंगले पढ्न सकिन्छ भनेर “प्रयुष वन्त” ले तथ्यहरु देखाइदिएको गजबको अन्तर्वाता पढेपछि म ढुक्क भएँ, पूरा पढाई त कहिल्यै नसकिने सिलसिला पो हुँदो रै’छ।
लेख्नेभन्दा पढ्ने नशाले विस्तारै छोप्दै लगेपछि एउटा मान्छे अर्कै किसिमले सक्रिय हुन थाल्दो रैछ। तर म केही वर्ष पहिला अलि ओइलाएको थिएँ। लेखनको नाममा फेसबुकमा केही हरफहरु छोड्ने गर्थेँ। म यहीँ छु, यस्तै टुक्राटाक्रीमा सग्लो कथा खोज्छै छु भन्ने अस्तित्व दाबी थियो एक किसिमको। “चम्पारन ब्लुज” पढिसक्दा मलाई रोशन शेरचनको अलि पहिलेको निबन्ध कृति “मस्तिष्कहरुको मृत्यु” पनि पढ्न मन लाग्यो। त्यही किताब खोजिहिँडेकै बेलातिर हो क्यारे, टुक्राहरुलाई सग्लो आकृति दिने बाटो पनि अलि धमिलै देख्दै थिएँ, आफैंलाई सोधिबसेको थिएँ कति प्रश्नहरु।
“अक्षरहरु पकडमा छैनन् अचेल” – यो एक टुक्रा लिएर फेरि म फेसबुकमै ओल्यास्स परेँ। रोशन शेरचनले एउटा “कमेन्ट” लेखिदिनु भयो, “यही शीर्षकमै केही लेख्न सकिन्छ।” एकखालको भाइब्रेसन जस्तो भयो र तत् समयका लागि त्यो एउटै “कमेन्ट” ले मलाई मुर्झाइरहन दिएन। त्यसपश्चात् कति वर्ष बिते, आज बल्ल सम्झिएर त्यसकै सेरोफेरोमा केही लेख्न खोजेँ। अक्षरहरु त फेरि पनि पकडमा छैनन् नै। लेख्छु भनेर संगालेका शब्दहरु छैनन्, शब्दको रवाफ छैन।
...
देखिनेभन्दा नदेखिने कुराहरु धेरै भएछन्। सिकाई, उपलब्धी र ज्ञानको प्रदर्शनी पनि त्यस्तै पो भइदियो कि भनेर कसैले नदेख्ने गरी सोचिबस्छु। देखिने गरी न बौद्धिक भइयो, न विद्वान। न मैले गर्ने ठ्याक्कै यही हो भन्न सकियो, न घुँडा धसेर कुनै एकैथोकमा साधना गर्न नै सकियो। बतासे भइयो भन्ने पनि हैन, तर खै के के नमिलेजस्तो भइदियो।
भर्खरै अक्षरका एकजना साधक “नील साइमन” ९१ वर्ष यहाँ बाँचेपछि यो संसारभन्दा अन्तैको “कमेडी” खोज्न कतै निस्किए। अमेरिकी नाट्यक्षेत्रका गजबका हस्ताक्षर थिए तिनी। “नील साइमन”का “म्युजिकल” र “कमेडी”ले निकै वर्षसम्म “ब्रोडवे”मा आफ्नो उपस्थितिको ओज देखाइरहे। “ब्राइटन बीच मेमोयर्स”को १२ वर्षे ठिटोमा “द मिडल” भन्ने “टिभी सिरिज”को कान्छो छोरो “ब्रिक हेक”को अनुहार कल्पना गरेर समुना जी र म कति दिनसम्म हाँसेका थियौँ। “आइ अट् टु बी इन पिक्चर्स”की युवती र कृष्ण धरावासीको एउटा कथाको पण्डित बालक मलाई उस्तै लागे। दुवैका तर्क गर्ने कला र इमान्दार चट्पटेपनाले मलाई केशर पुस्तकालयमा वर्षौँअघि विजय दाइसँग हाँस्दै धरावासीको कथा संग्रह पढिसकेको याद गाढा भएर आयो। “द अड कपल”लाई त समुनाजी र मैले नेपाली “कन्टेक्स्ट” मै मिलाउँदै पढ्दै गरेको पनि हो। हामीलाई चाहिएको सिर्जनशील ऊर्जा “नील साइमन”को लेखनीले दिएकै हो त्यतिबेला।
“द मिडल” र “नील साइमन” यति प्रिय हुनुमा हाम्रो मध्यमवर्गीय पहिचान, सोच र हुर्काइका वास्तविकताहरु बढी प्रखर भएका रहेछन्। “यो एउटा टिभी सिरिजको भरमा हामीलाई जज नगर है” भनेर डाक्टर जोन्स्टन मज्जाले हाँसेका थिए मिजोरीमा। उनले मलाई केही “सोफेस्टिकेटेड” प्लटहरु सुनाउँदै भनेका थिए, “एउटा साइकोप्याथको चरित्रमा अभिनय गरेको कलाकार नाटक पश्चात् वास्तवमै साइकोप्याथ भएपछि के होला!” म प्रतिक्रिया दिन नजानेर भन्दा पनि उनले थप अरु केही भन्लान् कि भन्ने आशमा केहीबेर वाल्ल परेछु। मेरो मौनता चिर्दै उनले भनेका थिए, “यू क्यान राइट अ स्क्रिप्ट अन दिस थिम्।” उनले सही “कन्सेप्ट” दिएका थिए मलाई, तर लेख्ने नै कुरा आउँदाखेरिचाहिँ मलाई त्यो आफूले नभेट्ने गरी टाढा लागिदियो। त्यस्ता कति धेरै “कन्सेप्ट” बसिबियाँलोमा आउँछन् जान्छन्, खास त्यसमा केही गर्नै पर्ने भन्ने पनि हँुदैन। तर म अक्षरले गर्न सक्ने यात्राको अनन्तताबाट डराएछु। एकफेर प्रश्न खेलिदिएछ मनमा, “मलाई गर्नु छ त त्यस किसिमको यात्रा?” सायद मैले “नील साइमन” का लेखाईहरुमा आफूलाई धेरै “कनेक्ट” गर्न सकेँ। एकखाले “कम्फर्ट जोन” फेला पारेजस्तो लाग्यो मलाई।
....
तिमी के हुन्थ्यौ रे दाइ? भनेर सुमनले केही वर्ष पहिला सोधिदिन्थ्यो। “रन्थनिन्थेँ नि मुला” भनेर म घुतुतुतु हाँसिदिन्थेँ। म अक्सर धेरै कुराले रन्थनिन्थेँ। यसको सट्टा “छोइन्थेँ”, या अरु शब्द रोज्दाखेरी उति मजा लाग्ने “एक्स्प्रेसन” आउँदैन। म कहिले “नन्दिता दास”को “अटोग्राफ” लिएर, कहिले “गोविन्द निहलानी” सँग फोटो खिचाएर रन्थनिएको देखेका थिए केही साथीहरुले। विचित्रका चित्रहरुले ठुंग्न आइपुग्छन् कोही बेला त्यस्सै। म यादहरुको सचित्र वयान गर्ने अक्षरहरु सँगेल्न खोज्छु, ती फेरि ठेगानमा बसिदिँदैनन्।
अक्षरको यात्रा अब निरन्तर बनाउनु पर्छ भन्नेमा कुनै सन्देह रहेन। र, दैनिक रुपमै ३ वटा भाषामा पढ्ने, सोच्ने र बोल्ने गरिसकेपछि अक्षरहरु उतिसाह्रो आफूबाट नउछिट्टिएलान् कि भन्ठान्छु। तर, अक्षरहरुसँगको सम्बन्ध कहिलेकाहिँ अभिभावक र छोराछोरीको सम्बन्ध जस्तै अनौठो लाग्छ। “प्यारेन्टिङ्” को सवालमा अभिभावकले बच्चाबच्चीलाई खुला छोडिदिँदा या “कन्ट्रोल” गर्दा– के गर्दाचाहिँ खास ती आफ्नो पकडमा हुन्छन्? कि “प्यारेन्टिङ्” का ४ सिद्धान्तहरुको अलिअलि गुणदोष मिसिँदाखेरि चाहिँ त्यसो हुन्छ? म अक्षरको सीमा तोकेर आफ्नो सीमा तोकौँ या तिनलाई फैलाएर आफू पनि फैलिऊँ? के गर्दाचाहिँ ती आफ्नो पकडमा हुन्छन्, त्यो त फेरी पनि म ठ्याक्कै यस्तै हुन्छ भन्न सक्दिनँ।