शरीरमा रोपिएको गोली सुनीललाई अझै बिझाउँछ।
धातुको गोली न हो, बिलाउने कुरै भएन। ननिकालेपछि त्यसले दुःख दिने नै भयो। न शरीरमा रोपिएको गोली बिलाउँछ, न मनको दुःख।
त्यो दुःख थियो, दस वर्ष लामो सशस्त्र ‘जनयुद्ध’।
युद्धको असर अझै सकिएको छैन, शरीररमा पनि, मनमा पनि।
यदि लडाइँ थाल्नेले भनेजस्तो भएको भए, त्यो बेलाले दिएको दुःखको घाउ पुरिइसक्थ्यो। झरी–बादल, चर्को घाममा घाउभित्रको साह्रो हड्डी करकर खाँदैनथ्यो।
हिजो लडाइँको नेतृत्व गर्नेहरु आज सत्तामा छन्। आफू र आफूजस्तै ‘सर्वहाराको मुक्ति’ का लागि सशस्त्र होस् या असस्त्र लड्नेहरु, अझै पिल्सिरहेका छन्। उनीहरुको चित्कार हावामा अझै बर्बराइरहेको छ।
समयले कोल्टे फेर्याे।
हिजो जसका लागि बन्दुक उठाइएको थियो, आज उनीहरुकै हातमा सरकारी बन्दुक छ। न्याय माग्दा त्यो बन्दुक बेला–बेला जनताको छाती ताक्छ। गोली दाग्छ।
सुनील बुढाथोकी तिनै हुन्, जसले माओवादीलाई शसस्त्र सहयोग गरे। गोली ख्वाए, आफैंले पनि खाए। बाँच्ने इत्ती आश नहुँदा पनि मनमा दुःख थिएन। मरिहाले पनि मनमा कोरिएको सुन्दर भविष्यको कल्पनाले नै उनी खुसी दिन्थ्यो।
तर, सपना ऐंठन बनिदियो।
ऐंठनको रनाहामा उनले दोस्रो पटक ‘मृत्युमार्ग’ रोजे। मृत्युमार्ग अर्थात्, लुकेर अमेरिका आउनु।
...
सुनीलसँगको मेरो पहिलो भेट जेलमा भयो।
उनी तल्लोबाटो अर्थात् मृत्युमार्गबाट अमेरिका पसेका थिए। लुकिछिपी, कहिले समुद्रमाथि तैरिँदै त कहिले चर्को घाम, कहिले दर्के पानीमा घना जंगलको बाटो। अवैधानिक रुपमा अमेरिका छिरेका उनी जेल पुगे। उनको परिवारले मलाई नेपालबाट सम्पर्क ग¥यो। त्यसपछि म उनलाई खोज्दै न्युयोर्कबाट टेक्सास पुगेँ।
यहाँ मेरो कर्तव्य उनको बसाइको लागि सहज तुल्याउनु थियो। नियमअनुसार जेलबाट बाहिर निस्केपछि मेरो सम्पर्कमा रहनुपर्ने भएकाले उनी टेक्सासबाट न्युयोर्क आए।
उनलाई लिन एयरपोर्ट पुगेँ। एउटा ख्याउटे शरीर, व्यायाम गर्दा लगाउनेजस्तो ‘ट्रयाकसुट’ मा थिए उनी। लत्रिएको एउटा हातको पञ्जाले फाइल च्यापेको थियो।
केही दिन उनी र म एकै डेरामा बस्यौं। तब मात्र थाहा भयो, उनको र मेरो जिल्ला मात्र एउटै होइन, हामीबीच नाता पनि रहेछ। तर, देखभेट भएको थिएन। न एकअर्काको पृष्ठभूमि नै थाहा थियो। कामले गर्दा उनको बसाइ फेरियो। भेटघाट र सम्पर्क भने निरन्तर रहिरह्यो।
थुप्रैपटक भेट भए पनि हामीले विगतका कथा साझा गरेका थिएनौं। न उनले सोध्थे, न मै खोतल्थेँ।
एकदिन उनी हिँड्दै गर्दा खुट्टा खोच्याएजस्तो देखेँ।
‘लौ, के भयो,’ सोधेँ, ‘खुट्टा रड्कियो कि क्या हो? कहीँ लड्नुभयो?’
‘नयाँ हैन,’ उनले भने, ‘पुरानै हो। सामान्य दुर्घटनामा परेको थिएँ।’
मैले सोधखोज गर्दा खुलाउन अप्ठ्यारो मानेजस्तो लाग्यो। मैले कर गरिन।
अलि पछि, कुन्नि के विषयमा कुरा हुँदै थियो, फ्याट्ट सोध्न पुगेछु, ‘बन्दुक–सन्दुक पड्किएर लागेको त हैन?’
अनुहार जुधाएर कुरा गरिरहेका उनको आँखा मबाट हट्यो। अलि क्षितिजतिर हेरेजस्तो, लामो सोचेजस्तो देखिए। तर, उत्तर दिन ढिला गरेनन्, ‘त्यसै भन्नुप¥यो।’
छोटो वाक्य, सुस्त स्वर।
मलाई जान्न खुल्दुली भयो। ‘सिकार खेल्दा लागेको त हुँदै है’न, पक्कै पनि यसको गहिरो कथा छ’, मैले यस्तै सोचेँ।
के, किन, कसरी, कहाँ, कहिले, कतिबेला?
सोध्न मन लागेजति जिज्ञासा एकैचोटी गुटमुटिएर आए।
त्यो घटनाको मुच्र्छनालाई पर धकेल्न चाहन्थे सायद, सुरुमा गम्भीर देखिएका उनी एकाएक हलुका शैलीमा भन्न थाले।
‘पहिले म माओवादी लडाकु थिएँ,’ भित्रको जलनलाई फिस्स हाँसेर ढाक्न चाहन्थे सायद, भन्न थाले, ‘युद्ध लड्दा गोली लाग्यो।’
महिनौंको भेटपछि बल्ल उनको बोलीमा गोलीको कुरा निस्कियो।
...
२०५२ सालमा माओवादी जंगल पस्यो।
समाजको जातीय, वर्गीय विभेदलाई जरैदेखि निर्मुल पार्ने भन्दै थालिएको आन्दोलनले बन्दुक भि¥यो। सरकार एकातिर, माओवादी अर्कोतिर।
भन्नलाई जंगल भनिए पनि माओवादी गाउँ–गाउँ पसेको थियो। सामुहिक या व्यक्तिगत, ‘प्रशिक्षण’ दिइन्थ्यो, कार्यकर्ता, लडाकु तयार पारिन्थ्यो।
प्रशिक्षणका क्रममा जात, लिंग, क्षेत्र, वर्गका सम्बन्धमा माओवादीले भनेको कुरा सुनीललाई मन प¥यो। २०५५ सालमा माओवादी प्रवेश गरेका उनी दुई वर्षपछि लडाकु बने।
सोलुखुम्बुको सल्लेरी, दाङको सतवरिया, जुम्लाको खलंगा, अर्घाखाँचीको सन्धिखर्कजस्ता ठूला आक्रमणबाट ‘सफल योद्धा’ बनेका उनी २०६१ साल चैत २५ गते रुकुमको खारा चौकी आक्रमणमा सहभागी भए। १८ घन्टासम्म चलेको यो लडाईँ माओवादी–सरकारबीच भएको ठूलोमध्ये पर्छ।
सुनीलको अनुमानमा बिहान चार बजेको हुँदो हो। चौकी घेरिएको अन्तिम घेरा तोड्ने क्रममा थियो, सुनीलको समूह। सुनील नजिकै प्रहरीले फालेको बम पड्कियो। एकसाथ गोली पनि बर्सिरहेका थिए। छर्रा र गोली एकैसाथ आएपछि सुनील ढले।
त्यतिबेलासम्म उनका थुप्रै साथी ढलिसकेका थिए, थुप्रैको सास फुस्किसकेको थियो। घाइते सुनीललाई उनका साथीहरुले डोकामा बोकेर उपचार शिविरसम्म ल्याइपु¥याए। ढाडको पछाडिपट्टि बिभिन्न भागमा गोलीले प्वाल पारेको थियो, भुलभुल बगिरहेको रगत टालोले टालिनेवाला थिएन।
माओवादीको चिकित्सकीय टोलीबाट उनको उपचार सम्भव भएन। भूमिगत बाटो हुँदै भारतको पञ्जाव लगियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि दिल्ली पु¥याइयो। दिल्लीको उपचारले उनी बाँच्न त बाँचे, तर शरीरभित्र छिरेका केही गोली सुनीलले सधैंभरका लागि बोकिराख्नुपर्ने भयो।
तिनै गोली हुन्, अहिले सुनीललाई सजिलै हिँड्न नदिने। लामो खोक्दा होस् या गहिरो हाछ्युँ गर्दा, शरीर थर्किंदा घाउ दुख्छ। दुखेको घाउ मनको तालमा पुगेर तिप्लिक्क खसिदिन्छ। दुःख बल्झाइदिन्छ।
...
जब मैले उनको युद्ध–कथा सुनेँ, त्यतिबेलै सोधुँझैं लागेको थियो, ‘स्टोरी लेखौं?’
‘भैगो, उनको अमेरिका बसाइलाई अप्ठ्यारो पर्छ,’ आफैंलाई सम्झाएको थिएँ।
आज उनको हातमा ग्रिनकार्ड छ, साथमा परिवार छ।
त्यसपछि लाग्यो, अब त लेख्नैपर्छ!
अनुमति पाएँ।
तर, यो लेख उनको परिचयात्मक हो, अमेरिका आउँदा र आइसकेपछिको भोगाइ बाँकी नै रहनेछन्।
...
गोली खाएको एक वर्षपछि माओवादीले हतियार बिसायो। उनी अस्थायी शिविर पुगे। सैन्य–समायोजनका बेला स्वेच्छिक अवकाश लिएर विसं. २०६८ सालमा उनी घर फिरे। अवकाशका बेला आएको रकमले गाउँमै स्टेसनरी व्यापार गरे।
५५ देखि ६८ को १३ वर्ष, सुनीलको जीवनको सबैभन्दा उथलपुथलको समय थियो। जुनसुकै बेला एउटै गोलीले सास फुस्काउन सक्थ्यो, तर अन्यायमा परेका जनताको मुक्तिको सवाल थियो। धनी–गरीबबीचको रेखा मेटिनेछ, लिंग र जातका आधारमा हुने भेदभावको अन्त्य हुनेछ, यस्तै सोचाइले सुनीलमा मृत्युको डर नै मरिसकेको थियो।
लडाईं गरुन्जेल आशका कुरा भइहाले, लडाईं सकिएर शान्तिप्रक्रियामा गइसकेपछि उनी झन् खुसी भए। उनको पार्टी सत्तामा पुग्यो। उनले देखेको सपना पुरा हुन थालेजस्तो भयो। शिविरमै छउन्जेल पनि त्यो ऊर्जा टिकाउन मुस्किल प¥यो उनलाई।
शिविरबाट निस्किएर आम जनताको जिन्दगी बाँच्न थालेपछि उनी व्यापार गर्न थाले। आममान्छेसँग झन् धेरै घुलमिल भए। स्टेसनरी आफैंमा बहसको ‘लोकल’ केन्द्र थियो। सबैका पहिलेका आशा भत्किँदै गएको उनले देखे। सुने।
‘तर, परिवर्तन नै नभएकोचाहिँ होइन,’ उनी भन्छन्, ‘हामीले परिकल्पना गरेअनुसारको समाज बनेन भन्ने हो। तर, द्वन्द्वसँगै थुप्रै परिवर्तन भएका छन्। हिजो धनीसँग गरीब, कथित ठूला जातकासँग साना जात, पुरुषसँग महिला, बोल्नसमेत डराउने अवस्था थियो। आज समस्या सल्टिएकोचाहिँ होइन, अन्याय प¥यो भनेर बोल्न सक्ने भएका छन्। प्रश्न गर्न सक्ने भएका छन्।’
स्टेसनरी आइराख्ने कसैले सोध्यो, अमेरिका जाने हो?
सोध्नेले नै भनिदियो, चालीस लाख लाग्छ।
यो त्यही देश हो, जुन देशलाई पहिले उनको पार्टीले गाली गथ्र्यो। भित्तामा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लेख्ने काममा त उनी आफैं थुप्रैपटक हिँडेका छन्।
एक मन उनलाई लाग्यो, ‘देशको लडेको मान्छे विरक्तिएर परदेशिने?’
अर्को मन उनलाई लाग्यो, ‘हैन, सन्तानको सुख–सुविधाका लागि भए पनि एकपटक जोखिम त लिनैपर्छ।’
जोखिम लिन डराउने मान्छे हैनन् सुनील। ‘जनताको मुक्ति’का लागि लडेको मान्छेले दोस्रोपटक मृत्युमार्ग रोजे, सन्तानको भविष्यका खातिर।
भारत, दुबई, ब्राजिल, अर्जेन्टिना, चिली, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै पाँच महिनामा उनी अमेरिका आइपुगे।
त्यो यात्रा यति जोखिमपूर्ण थियो, जुनसुकै बेला आपराधिक समूह, प्रहरीबाट मारिन सक्थे। शरीरभित्रको गोलीले दुःख दिइरहन्थ्यो नै, बाहिरको गोली पनि जुनसुकै बेला बर्सिन सक्थ्यो।
‘पहिले कि मृत्यु कि मुक्ति भनेर हिँडियो,’ उनी भन्छन्, ‘अहिले अवस्था बेग्लै भयो। नितान्त व्यक्तिगत सुखसुविधाका लािग मृत्युको जोखिम उठाएँ।’