अमेरिकाका पुराना नेपाली संस्थाहरू मध्यका तिन संस्थाहरू एएनए, नासा र अन्माले संयुक्त रूपमा पहिलो पटक आयोजना गरेको नेपाली नेशनल कन्भेन्सन आज सोमबार सम्पन्न भएको छ।
“नेपाली समुदायको लागी एकता” भन्ने नारा बोकेको सम्मेलनको शनिवार प्रमुख अतिथि एवं नेपालका पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा अधिकांश वक्ताहरूले तिन वटा संस्थाहरू, एएनए, नासा र अन्माले संयुक्त रूपमा पहिलो पटक संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमले नेपाली डायस्पोरामा अव मेलमिलापको उदाहरण बनेको र यसै गरी धेरै संस्थाहरू मिलेर कार्यक्रम गर्ने हो भने थोरै समय र मेहनतमा नेपाली समाजले निकै ठुलो प्रतिफल हासिल गर्न सक्ने बताएका थिए।
त्यसै गरी धेरै वक्ताहरूले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विधेयकको बारेमा गुनासो गर्दै सच्याउनका लागी आग्रह गरेका थिए। समारोहको अन्तमा बोल्दै नेता नेपालले अमेरिकामा आर्जन गरेको उन्नत ज्ञान, सिप र श्रोत साधनलाई नेपालको हितमा समेत उपयोग गर्न आग्रह गर्नुको साथै उनले गैर आवासीय नेपालीले विमति राखेको नागरिकता विधेयकलाई उनीहरूको मर्म अनुकूल संशोधन गर्ने आफूले सक्दो सहयोग गर्नेप्रतिवद्धता समेत जनाए।
अर्का अतिथि एवं पुर्वअर्थ मन्त्री सुरेन्द्र पाण्डेले सरकार समृद्धिको यात्रामा लागेको बताउँदै विदेशका नेपालीलाई सहयोगको लागी आग्रह गरे। कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली पहिचानको निरन्तर लाइ अवरोध गर्ने नागरिकता विधेयक सच्याउनु पर्ने बताउँदै काँग्रेसले त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपाली अमेरिकी डायस्पोराका प्राज्ञ, व्यवसायी र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको कार्यक्रममा अमेरिकाका लागी नेपाली राजदूत अर्जुन कार्कीले सम्मेलनले नेपाली एकता र भाइचाराको सन्देश दिन सफल भएको टिप्पणी गरेका थिए।
सम्मेलनको मुख्य संयोजक एवं अन्मा अध्यक्ष बाला धिमिरेले तिन वटा ठुला संस्थाहरूको एकताले समुदायमा हौसला जागेको बताएका थिए । “हाम्रो उद्देश्य केवल समाजसेवा हो समुदायको हितमा इमान्दारपुर्वक लाग्ने छौँ ” धिमिरेले भने । नासा अध्यक्ष माधव ढकाल र एएनए अध्यक्ष मेदिनी अधिकारीले एकतालाई दिर्धकालसम्म लैजाने तयारी भइरहेको जानकारी सहभागीहरुलाई दिए।
उद्घाटन समारोहमा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, नेपाली अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महत, एनआरएनए युएसए अध्यक्ष केशव पौडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, व्यवसायी रामसी पोखरेल, नेजाका महासचिव किरण मरहट्ठा, प्राज्ञ तुल्सि धरेल, समाजसेवी खगेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए।
सम्मेलनमा नेपाल फोरम, हेल्थ एन्ड एजुकेसन फोरम, विज्ञ फोरम लगाएतमा फोरमहरु सन्चालन गरिएका थिए। 'समृद्ध नेपाल' मा केन्द्रित रहेर गरिएको नेपाल फोरम मा महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको बारेमा नेपाल फोरममा कार्यपत्र प्रस्तुत गरेका थिए । लगानी तथा रोजगार फोरम, महिला सशक्तीकरण फोरम, विज्ञान तथा प्रविधि फोरम, पर्यटन सम्बन्धी सेमिनार र कानुनी फोरमहरू पनि सञ्चालन गरिएको थियो।
सम्मेलनका क्रममा नेपाली चलचित्र सङ्घले सन् २०१८ को सीने क्षेत्रका विभिन्न विधामा उत्कृष्ट पुरस्कारहरु प्रदान गरेको थियो। जसमा भुवन के सी लाई युग नायक तथा सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।कार्यक्रमको सञ्चालन डा दिवाकर दाहाल, कृष्ण श्रेष्ठ र विजयराज भट्टराई ले सञ्चालन गरेका थिए।