नेपालका बिभिन्न ठाउँमा बाढी, खडेरी, भूकम्पजस्ता प्राकृतिक प्रकोपको पूर्वतयारी तथा व्यवस्थापनका लागि खाद्य कार्यक्रम सन्चालन गर्न आर्थिक श्रोत जुटाउने उद्देश्यले क्यालिफोर्नियाको डेविस सहरमा 'स्याक्रामेन्टो नेपलीज लायन्स क्लव' द्वारा नेपाली साँस्कृतिक कार्यक्रम आयोजना सम्पन्न भएकाे छ।
स्याक्रामेन्टोस्थित प्रवासी नेपालीहरुले नेपालकाे सेवा गर्ने उद्देश्यले यो क्लवको यसै वर्ष स्थापना गरेका हुन्। उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै क्लवका अध्यक्ष डा. दुर्गा दाहालले शैशवकालमा रहेको यो संस्था सबैको स्नेह तथा हेरविचार पाएर स्थानिय, मातृभूमि, र विश्वमै पछि परेका समुदायहरुको सेवामा लाग्ने बताए।
डिस्ट्रिक्ट सी ४- ३ र सी ४- ५ का गभर्नरहरु क्रमश: राजन थापा र थोमस निक म्यानिकोलस, कम्युनिटी एन्ड डिजास्टर रेस्पाेन्स टिमका निर्देशक केडिन सुमन, ग्लोबल मेम्बरसिप टिम लिडर माइकल रेजलफ र पास्ट क्याबिनेट सेक्रेटरी एल सताके तथा स्थानिय एवं सानफ्रान्सिसको बे एरियाका लायन्स क्लवका पदाधिकारिहरुको उपस्थितिमा वीज विशेषज्ञ पीताम्बर दाहालले अन्न सुरक्षासम्बन्धि अवधारणापत्र पेश गरेका थिए।
क्यालिफोर्निया विश्वविद्यालय डेविसबाट सुरु भएको यो प्रविधि अांशिक रुपमा काभ्रेपलान्चोकको भुकम्प प्रभावित क्षेत्रमा युनिसेफ-अष्ट-जको संयुक्त तत्वावधानमा प्रदर्शन गरिएको उनले बताए। अन्नको सुरक्षित व्यवस्थापनले प्राकृतिक प्रकोपको असर कम पार्न सकिने कुरामा उनले जाेड दिए।
उक्त भेलामा लायन्स क्लवकी सदस्य रुचि दाहालले युवा पिँढीले पनि सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्न पछि पर्न नहुने बताइन्।
नेपाली र अंग्रेजी राष्ट्रगानहरुबाट सुरू भएको कार्यक्रममा संगीतकार मदन दिपविमसमेतको सहभागितामा नेपाली गीतहरु गाइएको थियो भने स्थानिय कलाकारहरुले मनोरन्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए।
नैना आचार्य, निता थोर्सन, रिमा रे, राज शाही, गीता न्यौपाने, लुना शर्मा, निस्था सिलवाल, प्राची वाग्ले, प्रणव वाग्ले, वेला शर्मा, अनुष्का शर्मा, अनिशा ढकाल, सुनिता तिमिल्सिना, कुमुदिनि वाग्ले र श्रुती गौतमलगायतका कलाकारले नृत्य देखाएका थिए।