अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका एक बेनामे वरिष्ठ प्रशासकको नामबाट ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक लेखले यतिबेला अमेरिकी राजनीति तरंगित भएको छ। उक्त लेखलार्इ लिएर राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाक्राेश पाेखेका छन्र।
लेखमा भनिएको छ, 'अमेरिकी राष्ट्रपतिले यस्तो तरिकाले काम गर्दै छन्, जुन हाम्रो प्रजातन्तत्रका लागि हानिकारक छ।'
राष्ट्रपति ट्रम्पले यसलाई 'देशद्रोह तथा कायरतापूर्ण' भन्दै ट्वीट गरेका छन्।
‘आई एम पार्ट अफ द रेसिस्टेन्स इनसाइड द ट्रम्प एडमिनिस्ट्रेशन’ नामक लेखमा ती अधिकारीले लेखेका छन्, 'आफू र आफू जस्तै समान विचार भएका सहकर्मीहरूले राष्ट्रपतिको एजेन्डा र उनका गलत आचरणलाई रोक्नका लागि अनुरोध गरेका छौं।' बिना नाम र परिचय नखुलाइएको यस लेखमा लेखकले भनेका छन्, 'ट्रम्प आफ्नो राष्ट्रपतिको पदका लागि यस्तो परीक्षाको सामना गर्दैछन्, जुन यसअघि कुनै पनि आधुनिक अमेरिकी राष्ट्रपतिले गरेका थिएनन्।'
द न्युयोर्क टाइम्सले एक ट्वीट गर्दै लेखकको परिचयका रूपमा 'एक पुरुष' भएको जनाएको छ। मिडियामा विरलै बेनामे लेख प्रकाशित हुन्छ। लेखकको अनुरोध अनुसार ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीको नाम सार्वजनिक नगरेको न्युयोर्क टाइम्सले जनाएकाे छ।
ती लेखकले लेखेका छन्, ‘हामी चाहन्छौं, प्रशासन सफल होस् र उनका धेरै नीतिहरूले अमेरिकालाई सुरक्षित र समृद्ध बनाअाेस्। हाम्रो विचारमा हाम्रो पहिलो कर्तव्य यस देशप्रति छ, तर राष्ट्रपति यस्तो तरिकाले काम गर्दैछन् जुन हाम्रो प्रजातन्त्रका लागी हितकारी छैन।’
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकारहरूसँगको भेटघाट तथा पछि फेरी ट्विटरमा समेत न्युयोर्क टाइम्स माथि आक्रोश पोख्दै भनेका छन्, ‘बिना नामको मतलब हो कायर, सम्पादकीय।’
एक ट्वीटमा उनले द न्यूयोर्क टाइम्सलाई ती बेनामे लेखकको परिचय सार्वजनिक गर्न माग गरेका छन्। उक्त लेखवाट आक्रोशित राष्ट्रपति ट्रम्पले टि्वटरमा लेखेका छन्, ‘देशद्रोह! के यो तथाकथित वरिष्ठ अधिकारी भएको सत्य हो वा एक अर्को फर्जी सूत्रका साथ केवल द न्युयोर्क टाइम्सको विफलता हो? यदि कायर बेनामे व्यक्ति निश्चित रूपले हो भने टाइम्सले राष्ट्रीय सुरक्षाको उदेश्यका लागी त्यस व्यक्तिलाई एक पटक सरकार लाई बुझाउनु पर्दछ।’
ह्वाइट हाउसले यो आलेख लेख्ने वरिष्ठ प्रशासनिक अधिकारीको राजिनामा माग गरेको छ। न्यूयोर्क टाइम्समा गत बुधवार छापिएको यो लेख लेख्ने ह्वाइट हाउसका बेनामे वरिष्ठ प्रशासनिक अधिकारीका बारेमा यति वेला ट्रम्प प्रशासन, सर्वसाधारण लगायत संचारकर्मी तथा सिंगो अमेरिकी राजनितिक विश्लेषकहरूकाे दिमाग रिँगेकाे छ।
यतिसम्म कि ती लेखककाे बारेमा बाजीसमेत परेकाे छ। अनलाइन बाजी बजार ‘माइबुकी’ले आफ्नो वेबसाइटले अाफ्नाे सूचिमा १८ जना वरिष्ठ अधिकारीकाे नाम राख्दै पैसाकाे बाजी थापेकाे छ। उक्त बाजी सूचिकाे पहिलो नम्बरमा उप राष्ट्रपति माइक पेन्सको नाम रहेको छ। दोश्रोमा शिक्षा सचिव बेष्टी डेभोसको नाम छ। तेश्रोमा विदेश मन्त्री माइक पोम्पियो, वित्त सचिव स्टेवन मनुचिन तथा सेनाध्यक्ष जोन केलीसहित तीन जनाको नाम छ।
केही वरिष्ठ माथिको आशंका मध्ये उप-राष्ट्रपति माइक पेन्समाथि पहिलो नम्वरमा छ। उनलाई यसपछिको राष्ट्रपतिको दावेदार मानिएको छ र त्यसैका लागि तथा ट्रम्पको कार्यशैलीमा तथा केही एजेन्डाहरूमा यसअघि असन्तुष्टी जाहेर गरेका कारणले समेत ट्रम्पलाई फ्याल्ने उनको रणनितिका रूपमा राजनितिक विश्लेषकहरूले अनुमान गरेका छन्। तर, पेन्सले उक्त बेनामे अधिकारी आफू नभएको भन्दै स्पष्टिकरण दिइसकेका छन्।
(एजेन्सीहरूकाे सहयाेगमा)