बा!
तिम्रो बारेमा के के मात्रै सम्झुँ, के मात्रै भनुँ?
मेरो पुरै जीवन तिम्रो सम्झनाको रेशा-रेशा मिलेर बने जस्तो लाग्छ। सम्झनाको पल्लो छेउमा, सायद शरदको बिहानी घाममा म तिम्रो हात समातेर हिँडिरहेको थिएँ। अहिले पनि त्यो घामको न्यानो मेरो मनमा छ। गाउँका रातो माटो र कमेरोले लिपिएका भित्ताहरुमा, हाम्रो छायाँ सँगसँगै हिँडिरहेको थियो। मैले सोधेको थिएँ, 'बा, हाम्रो छायाँ किन यति लामा?' तिमी हाँसेका थियौ जवाफमा। मैले जीवनभर अनेकानेक प्रश्नहरु सोधिरहेँ, मागिरहे तिमीसँग। तिमीले सधै दिइरह्याै- मेरो दाता तिमी।
'पढ्छस्र भने पढ, एउटा घडेरी बेचौंला। राखेको पनि तिमीहरुकै लागि हो, पढ्याै भने आफैं किनौंला।" बा तिमीलाई साँच्चिकै विश्वास थियो, पढ्यो भने केही हुन्छ हुन्छ। पढाईको शक्तिमा अटल आस्था र विश्वास थियो। संस्कृत पढेको मान्छेले 'विद्या धनम् सर्व धनम् प्रधानम्" भन्दा साँच्चै भरोसा लाग्थ्यो बा।' तिमीहरु नमात्तिओ, म हाकिम होइन, कायम मुकायम मात्रै हो। आफ्नो काम आफैं गर्न सिक, तरकारी बोक्न लाज मानेर हुन्छ। तानसेन बजारमा टिनेजर' छोरालाई कालो प्लास्टिकको झोलामा तरकारी बोक्न लाज लाग्दा सधैं सुन्नुपर्ने बोली।' खान दु:ख नकाट्नु, सफा लगाउनु, काठमाडौंमा चिसो हुन्छ, गम्म कपडा लगाएर हिँड्नु। पढ्ने कुरामा खर्च चाहिए माग्नु। आफ्नो कर्मचारी संचयकोष रित्तो पारेर हातमा हाल्दिँदै भनेको हिजो जस्तो लाग्छ बा। द्वन्द्कालको उचाइमा बाजुरा जागिर खान जान लागेको छोरोलाई 'जा, आफ्नो देश चिन्नुपर्छ, मैले पनि जाजरकोट, वैतडी बसेको हो, तेरो दाजु कालिकोट बसेकै हो, केही हुँदैन' भन्ने मेरा बा।
पहिलो जागिरबाट फर्केपछि मैले भनेको थिए 'बा, तपार्इंलार्इ एउटा सर्ट किनिदिन मन छ।'
'हा...हा... हा..., तँ पनि कमाउने भइस् अब, मलाई पर्दैन, तेरी आमालाई किन्दे।'
केही प्रतिवाद नगरी मैले हस् भनेथेँ।
'पैसा खाता खोलेर ब्यांकमा राख्नु, पैसाको व्यवहार सफा राख्नु।'
बा जानी नजानी तिम्रा अर्तिहरुको आमाल गरिरहेका छौं। आगोका फिलिंगाजस्ता तिम्रा सम्झनाका कणहरु जम्मा गर्छु। मनभित्र मायाको खलाँती चलिरहन्छ। यी फिलिंगाहरु नहराउन्, यत्नपूर्वक जोगाइरहन्छु। यस्तै झुप्पा-झुप्पा सम्झनाहरू ज्योति बनेर बाटो देखाइरहे जस्तो लाग्छ।
'बा, एउटा सल्लाह गर्नुछ, यो शुक्रबार घर आउँछु।'
साँझको खाना खाएर, तिम्रो सुत्ने खाटको गोडारीतिर बस्दै भनेथे 'बा, अमेरिकाको एउटा कलेजले छात्रवृत्ति दिन्छु भनेको छ। अहिलेको जागिर पनि राम्रो छ, घरबाट नजिकै, जम्मा दुर्इ घण्टाकाे बाटो, आउन्न भनौ कि क्या हो? म त दोधारमा परेँ।
'पढ्न जाने मौका पर्दा जागिर कुरेर बस्ने हो? अमेरिकामा पैसा हालेर पढ्न सकिँदैन, मान्छे मरिहत्ते गर्छन्। तँलाई सजिलै पाएर त्यस्तो लागेको हो। जा, केही हुँदैन, जागिर नाथे पढेपछि जति पनि पाइन्छ।'
'कहिल्यै नबिर्सेस्, परदेश भनेको गार्इवस्तु जंगलमा चर्न गए जस्तै हो, केही समय चरेर साँझ फेरि घर फर्किनु पर्छ।'
बा, आज तिमीले छोडेर गएको दश वर्ष पुग्नै लाग्यो, मलाई चर्न नपुगेको हो वा मेरो दिन एकदम लामो भएको हो, छुट्याउन सकेको छैन। म अझै यतै छु, फर्किने मिति थाहा छैन, सरी बा!
'हैन, तँ आत्तिस कि क्या हो? पढ्न गएको मान्छे, खुरुखुरु पढ्न छोडेर दिन दिनै फोन गर्छ।'
'आत्तेको छैन, के गर्ने, के गर्ने हुन्छ अनि फोन गर्छु।'
'बा, अब चार महिनापछि ग्राजुएसन हुन्छ, आउने हो? म चिठी पठाइदिन्छु।'
'लौ सकिसक्यो? भर्खर एक वर्ष भो त, अहिले आउँदिन, तेरो बिहे गरेपछि आउँला। तलाई राम्रोसँग पकाउन पनि आउँदैन होला, चुरा लगाएको हातले पकाएको पो मिठो हुन्छ।' आफैं अघि सरेर घरका सारा काम गर्ने तिमीले गरेको मजाक म मज्जाले हाँसेको थिएँ। तिमी नहाँसे पनि, तिम्रो बोलीमा खुसी प्रस्ट थियो। बा, आज मेरो घरमा चुरा लगाएका हातले पकाउन थालेको बर्षौं भयो। तिमी कहिल्यै आएनौ, म तिमीसँग रिसाउँ कि आफूसँग। मैले अलि जिद्दी गरेको भए, आउने थियौ होला। यो संसार देख्दा हौ, आफ्नो रिटायर्ड टोलीमा गफ हाँक्दा हौ, अमेरिका यस्तो उस्तो भनेर। सबैका बा-आमा आउँछन् तिमी आएनौ। अभागी तिमी कि म बा।
बा, एउटी केटीको कुरो आ'को छ। यतै पढेकी रे। मैले यति नभन्दै उता फोनमा लामो सास तान्याै?
'मैलेभन्दा धेरै पढिसकिस्। मभन्दा धेरै पर पुगिस्। तिमीहरु जत्तिको मान्छेले बुझ्नुपर्छ, सके देशकै, समाजकै काम लाग्नु। त्यो नसके आफ्ना नातापाता, इस्टमित्रको काम लाग्नु। आफ्नो लागि मात्रै बाँच्न र खान त पशुले पनि जान्दछ। यतै आइज, म केटी खोजम्ला, जस्ती भन्छस् त्यस्तै केटी खोजौंला।'
बा! न तिमीले खोज्न भ्यायौ, न मैले खोजेकीलाई हेर्न भ्याएँ।
'बा बिरामी हुनुहुन्छ, हिजो अस्पताल ल्याएको 'स्ट्रोक' जस्तो छ।' तातो पग्लेको सिसाजस्तो त्यो खबर, फोनबाट कान र मुटुमा पस्यो।'
'अहिले नै आतिएर नदौडिनु, हामी छौं। एक-दुर्इ हप्ता हेरौं। अपरेसन गर्नुपरे आउनु, सल्लाह गरौंला।' पहाडजस्ता दाजुहरुको बोली आयो उताबाट। तिनै भरोसाका पहाडहरुको फेदीमा, म लिलिपुट, एकान्तिक भैरहेँ, बिना आँशु रोइरहेँ।
बिहान फोन गर्छु, साँझ फोन गर्छु, आज कस्तो छ?'
'उस्तै उस्तै हो, अलिक फरक परे जस्तो छ, अलि चले जस्तो लाग्यो आज। नजिक जान पाइँदैन, गाउन/मास्क लगाएर एकैछिन जान दिन्छन्।'
यस्तै अनेक वार्तालापमा बाह्र दिन बिते। तेह्राैं दिन अफिस पुगेर फोन गरे, खबर आयो' बुवा बित्नुभो, हामी देवघाटमा छौं' त्यो आवाज ठूलो बज्र जस्तोगरी कानमा पछारियो। कसै गरी डेरामा पुगेँ, के गर्ने, के नगर्ने थाहा भएन। आखा बन्द गरेँ र सम्झेँ तिमीलाई- सम्झिरहेँ। तिम्रो जीवनका कथा/व्यथाहरु जानेसम्म सम्झिरहेँ। एउटा ठूलो छहारी, बडेमानको आवाज निकालेर ढल्यो। त्यसको छायाँमा बसेका म/हामीहरु अचानक टुहुरा भयौं। आफ्नो सन्तान भएपछि थाहा भयो, सन्तानको माया, माउ हुनुको आनन्दबोध। तिमी अस्पतालको बिछ्याैनामा अचेत लडिरहँदा पनि अवचेतनको कुनै तहमा खोजिरह्याै होला मलाई। म त्यहाँ पुगेर 'बा' भनेको भए उठ्थ्यौ कि आफ्नो बचेरालार्इ हेर्न।
केही घण्टापछि आमाको फोन आयो, आँशु र हिक्काहरुको बीचमा 'दाइहरु छन्, अहिले आतिएर नआउ, एक वर्षपछि बरखीमा आउनु, अहिले त्यहाँ जस्तो सक्छौ त्यस्तै गर्नु" मैले केही भनिन, आमाको आज्ञा शिरोपर गरेँ। मान्छेलाई रुन पनि साथी चाहिने रैछ, तिम्रो काजकिरिया गरिरहँदा म रोइनँ, नि:शब्द टोलाइरहेँ, ती तेह्र दिन सकिँदा मेरा कन्चटका केही रौंहरु सेता भए। तिम्रो कान्छो एक्कासी बुढो भयो बा।
बा मलाई यस्तो पनि लाग्छ। सदियौंखि नेपाली समाज मान्छेहरु निर्यात गरिरहेछ। पहिलो/दोस्रो विश्वयुद्धमा नेपालीहरु संसारभरी पुगेर लडे। अहिले अरबमा, मलेसियामा, संसारभरी पुगेका छन्, मजस्ता मान्छेहरु। कति नेपाली छोरा छोरीले मेरै जस्तो दु:ख दिने दिन भोग्दै होलान्। धेरै धेरै युवाहरु घर फर्किंदा, घर पहिलाजस्तो नहुँदो हो। एक वर्षपछि घर पुग्दा आमाले डाँको छोड्दै भनेकी थिइन्, कस्तो छोडेर गएको थिइस्, कस्तो भयो बाबु।'
बा, नेपाली समाजले सदियौंदेखि भोगिआएको त्रासदी मेरो भागमा पनि पर्यो। संसारका सबै परदेशीहरुको तर्फबाट माया गर्ने मान्छेहरुसँग उनीहरुका सुखमा, दु:खमा, हाँसोमा, भयंकर विपत्तिमा सामेल हुन नसकेकोमा क्षमाप्रार्थी छु।
बा, तिमीले पनि मलाई माफ गर है ।
अन्तमा,
बा हाम्रो नेपाली समाजमा खुलेर माया देखाउने चलन छैन। मैले कहिले पनि तिमीलाई भनिन 'बा म तिमीलाई माया गर्छु।'
नबोलेरै भनिरहेँ र तिमीले कति सुन्याै? त्यो तिम्रो कुरो। मिल्ने भए एकपटक भेट्ने थिएँ, तिमीलाई। तातो तेलले तिम्रो खुट्टा माड्थेँ।
तिमी आफ्नो जनै फेटा जस्तो टाउकोमा बाँधेर हाँस्दै भन्थ्याै होला 'तँलाई देखेपछि मेरो ढाड दुख्छ।'
तिम्रो ढाड माड्दै मैले भन्नेथिएँ, 'आइ लभ यु बा, ह्यापी फादर्स डे।'
तिमी हाँसेर भन्दा हौ, 'केटाले, पश्चिमा संस्कृति भित्र्यायो।'
मलाई थाहा छ बा, त्यो दिन कहिले आउने छैन। आज तिमि छैनौ, तिम्रो सम्झना मात्रै छ।