हिन्दुहरूका धार्मिक तथा सांस्कृतिक विशिष्ट चाडपर्वहरू मध्येको नेपाली महिलाहरूका लागि अति नै महत्त्वपूर्ण पर्व “हरितालिका तीज” यतिखेर हर्षोल्लासका साथ सर्वत्र मनाउन थालिएको छ । नेपालका अतिरिक्त अन्य मुलुकहरूमा पनि आजभोली यो पर्वले ठुलै स्थान ओगटेको देखिन्छ ।
नेपालभन्दा सुदूर पश्चिममा रहेको अमेरिका र त्यस भित्रका विभिन्न सहरहरूमा तीजको दिन भन्दा निकै अगाडिबाट मनाउन थालिएको यो चाडले विदेशमा छरिएर रहेका नेपालीहरूलाई आपसमा जोड्ने काम गरेको देखिन्छ भनेँ अमेरिकामै जन्मिएर हुर्कँदै गरेका बालबालिका तथा युवा युवतीहरूलाई समेत नेपाली संस्कृतिको बारेमा परिचित गराउन भूमिका खेलेको छ । नेपालीहरूले अमेरिकामा पनि नेपाली संस्कृतिलाई नेपालमा जस्तै गरी उत्साहपूर्ण ढङ्गले मनाएर यहाँका स्थानीय आदिवासी समुदायलाई समेत तीज कार्यक्रममा उपस्थित गराई नेपाली गीतहरूमा नचाएको देख्दा हाम्रो संस्कृति र नेपाली सभ्यतालाई सलाम गर्न मन लाग्छ ।
सदा झैँ यस वर्षको हरितालिका तीजको व्रत नेपालमा २०१८ सेप्टेम्बर १२ बुधवार परेको छ भने अमेरिकाको समय, तिथि र घडिपला अनुसार अमेरिकामा चाहिँ २०१८ सेप्टेम्बर ११ तारिख मङ्गलवार [September 11 Tuesday 2018] नै यो व्रत लिनुपर्ने देखिन्छ । १२ तारिख बुधवार सूर्योदयकालभन्दा पहिलेदेखि नै भाद्र शुक्ल गणेश चतुर्थी तिथि पर्ने हुँदा भाद्र शुक्ल तृतीया तिथिको समयमा लिनुपर्ने व्रत मङ्गलवार नै लिनु पर्ने देखिएको हो ।
स्थानीय पन्चांगहरूले पनि अमेरिकाका लागि मंगलवारलाई नै हरितालिका व्रत स्पष्ट गरेका छन् तर नेपालमा जुन गते र बार मनाइन्छ १२ घण्टा ढिला गरेर अमेरिकामा पनि त्यही गते र बार मनाउनु पर्छ भन्ने आम जनमानसको सोझो बुझाई ले गर्दा तिथि मुहूर्त जुनसुकै परे पनि त्यसको कुनै वास्ता नगरी सेप्टेम्बर १२ बुधवार नै तीज मनाउने तयारी प्राय अमेरिकाका सबै सहरहरूमा बस्ने नेपालीहरूको रहेको कुरा सामाजिक संन्जालमा देख्न पाइन्छ । जे होस् फेरि पनि म के भन्न चाहन्छु भनेँ ‘नगर्नु भन्दा गर्नु जाती, गर्दा ठिक समयमा गर्नुचाहिँ झनै जाती । सही समयमा गरिएको कर्मले फल पनि सही नै दिन्छ’ । ठाउँ अनुसारको समयमान सबैले बुझ्न जरुरी छ”।
यो विषयलाई धेरै नकोट्याई हरितालिका तीजको धार्मिक सांस्कृतिक पक्षको चर्चा गर्ने प्रयास यहाँ गरिएको छ। हिन्दु महिलाहरूद्वारा वर्षा ऋतुको समयमा ‘हस्ता’ नक्षत्रयुक्त भाद्र शुक्ल तृतीया तिथिका दिनमा व्रत बसी मनाइने हरितालिका तीजमा देवादिदेव महादेवको पूजा आराधना धूमधामसँग गरिन्छ । पौराणिक कथा अनुसार पहिले सत्ययुगमा आद्याशक्ति हिमालय पुत्री पार्वतीले शिवलाई पति पाउँन र भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भन्नका लागि यो व्रत गरेकी थिइन् । पार्वतीले हिमालका फेदीमा गंगाका तटमा बसेर तपस्या गरी श्री महादेवलाई पति पाउने वरदान पाएता पनि पार्वतीका पिता हिमालयराजले पार्वतीको इच्छा विपरीत भगवान् विष्णुसित विवाह गरिदिन खोजेपछि यो कुरा थाहा पाएका साथीहरूले पार्वतीलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएका थिए । संयोगले सो हरण गरेर लुकाएको दिन भाद्र शुक्ल तृतीया परेको र साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको कुरा पुराणहरूले बताएका छन् । “आलिभि:= सखिभि: = सखीहरूद्वारा, हरिता = हरण गरिएकी” भन्ने अर्थमा पार्वतीको नाम नै ‘हरितालिका’ रहने र सबैभन्दा पहिले पार्वतीले लिएको व्रत भएको हुँदा त्यसै दिनलाई आजसम्म हिन्दु नारीहरूले दिनभर निराहार बसेर अथवा जला हार वा फला हार गरेर आआफ्नो अवस्था अनुसार यो व्रत गर्ने गरेका छन् । त्यही समयदेखि हरितालिका व्रत भनेर तीजको व्रत लिने प्रचलन सुरु भएको हो भन्ने घर्मशास्त्रीय मान्यता पनि छ ।
खास गरी हरितालिका तीज पर्व भाद्र शुक्ल द्वितीया देखि पञ्चमी पर्यन्त चार दिनसम्म मनाइन्छ । पहिलो दिन भाद्र शुक्ल द्वितीयामा दिउसोदेखि रातको बाह्रबजेसम्म दर खाने, दोस्रो दिन शुक्ल तृतीयामा व्रत बस्ने, तेस्रो दिन शुक्ल चतुर्थी वा गणेश चतुर्थीको दिन प्रातः: हरितालिका व्रत पारायण गरी दिनमा गणेशको कीर्तन भजन आदि गर्ने र पुन: भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपन्चमीको दिन तीन सय पैँसट्ठी दतिवन सहित नदी वा तलाउमा गएर स्नान गरी अन्धाधुन्ध सहित सप्तर्षिहरूको पूजा गरेर तीज पर्वलाई समापन गर्ने गरिन्छ । यसरी भाद्र शुक्ल द्वितीयाको मध्यरात्री १२ बजेसम्म दर खाएर शुक्ल तृतीया हरितालिका तीजको दिनमा व्रत बसी, भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी ) र भाद्र शुक्ल पञ्चमी ( ऋषिपन्चमी) का दिनसम्मको धार्मिक कार्य सम्पन्न गरिने तीजको यो विशेष अवसरमा मुख्य रूपमा भगवान् शिवपार्वतीको आराधना गरिनुका साथै महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ । उनीहरूले गाउने तीजका गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले गर्दा महिलाहरूलाई अझ सशक्त बनाउँछ । तीज मुख्य रूपले नेपालमा मनाइने चाड भएता पनि हाल आएर भारत लगायत विश्वका अनेकौँ देशहरू अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया लगायत विभिन्न ठाउँमा हिन्दुधर्मावलम्वीहरूको बसोबास बढ्दै गएको रहँदा कुनै न कुनै रूपमा सर्वत्र यो चाड मनाउन थालिएको छ ।
तीजका अवसरमा माइतीले आफ्ना छोरी- चेलीलाई घरमै बोलाउन जाने, छोरी चेलीलाई माइत लिएर आउने र मिठा-मिठा परिकार खुवाउने तथा सुखद:ख साटासाट गरी एउटै ठाउँमा बस्ने र दर खाने गरिनु यो पर्वको सुन्दर पक्ष हो । दरका रूपमा ठाउँ अनुसार विभिन्न परिकारहरू जस्तै खिर, ढकन, सेल रोटी, लगायत विभिन्न मेवा मिष्ठान्न तथा फलफुलहरू खाने खुवाउने परम्परा छ । यसरी माइतीमा आएर आफ्ना पिता माता दाइ भाइ आदि सबै परिवारका साथमा रमाउँदै केही दिनका लागि भए पनि घरायसी समस्याबाट टाढा रही रमाइलो गर्दै बस्न पाउनु महिलावर्गका लागि वास्तवमै खुसीको क्षण हो । यस्तो अवसर हरितालिका पर्वले जुराएको छ । यस्तो आनन्दको दिव्य अवसरमा नारीहरूले आफ्ना पतिको दीर्घायु सुस्वास्थ्यको कामनाका साथै दाम्पत्य सुख र पारिवारिक आनन्दका निमित्त निराहार व्रत बसेर भगवान् शिव तथा आद्याशक्ति पार्वतीको पूजा प्रार्थना गर्नु र पारिवारिक उन्नतिको कामना गर्नुचाहिँ यो तीजपर्वको वैशिष्टय हो । व्रतका समयमा नारीहरूले रातो टीका, रातो कपडा, रातो चुरा, पोते, गरगहना सहित सबै रातै रङ्गमा सजिएर सामूहिक रूपमा रमाउनुचाहिँ तीज पर्वको विशेष सांस्कृतिक रन्को हो ।
व्रतका दिनमा बिहान चाँडै उठी आफ्ना नित्य कर्महरू गरेर दिनभरि जल अन्न ग्रहण नगरी व्रत बसेर बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी कुनै शिवालय मठ मन्दिरमा वा आफ्नै घरमा भए पनि उमामहेश्वरको आराधना गर्ने विधि रहेको छ । व्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई आफ्नो शक्ति अनुसारको दान दक्षिणा गर्ने चलन पनि छ ।
तीजको व्रत अन्य व्रत भन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने पौराणिक मान्यता रहेको भए पनि शारीरिक अवस्था, स्वास्थ्य स्थिति, कामको चाप, परदेशमा बस्नेहरूका लागि अन्य विविध कारणहरू आदि समस्याले गर्दा आज भोलि कतिपय महिलाहरूले महादेवको पूजा आराधना पश्चात् अन्न नखाए पनि फलफुल, जल आदिचाहिँ व्रतालुहरूले खाने गरेको देखिन्छ । यो वैज्ञानिक हिसाबले पनि सान्दर्भिक छ ।
आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको ठुलो महत्त्व रहेको छ ।