यो तेस्रोपल्ट हो, कफी मेसिनको आवाजले सबै हल्ला पन्छाइदिएको। फुच्चुचुचु... खुसुसुसुस्स... केही वाफहरु उँडे पछिल्तिरको काउन्टर आसपास। ‘बर्बन क्याफे’ बाहिर सडकमा ‘लेज्ली युनिभर्सिटी’का विद्यार्थीहरु देखिए। म केहीबेर तिनीहरुतिरै हेरिरहेँ। म कुनै दिन यहीँ पढ्छु भन्ने लाग्थ्यो एकवर्ष अघिसम्म। साँझको त्यो प्रहर, मध्यान्हको चर्को घाममा जस्तो गाढा छायाँहरु थिएनन्। सुन्दाखेरि अलि नमिलेको जस्तो सुनिन्छ तर गाढा छायाँहरुले मलाई मान्छेका केही धमिला सम्झनाहरुसम्म पु¥याइदिन्छन् र केही मधुरा धुन सुनाइदिन्छन्।
म मेरो प्रोफेसरलाई पर्खिरहेको थिएँ। उनी ‘लेज्ली’कै विद्यार्थी हुन् पहिले, मास्टर भएकै थुप्रो वर्ष बित्यो। विस्तारै मसिनो आवाजमा बोल्ने यी साधुजस्ता मान्छेलाई २०१६ को सेप्टेम्बरमा “क्याम्ब्रिज कलेज”को “ओरियन्टेसन”मा देखेको थिएँ। मलाई हत्पती बीचतिर बस्न मन पर्दैन। कुनै पनि केन्द्रप्रति एक किसिमको अपरिचय जस्तो अप्ठेरो संवेदना छ मसित। कम मान्छेले देख्ने र देखे पनि याद नगर्ने छेउतिरको एउटा कुर्सीमा म चुपचाप बसेको थिएँ।
यिनले सायद जीवनमा यस्ता एकान्तिक क्षणहरु धेरैपल्ट भोगेका होलान्, मन्द मुस्कुराउँदै मतिर आएर उभिएका थिए। मैले परिचयसहित आफ्नो भूगोल पनि बताइदिएको थिएँ। तर किन–किन यीसँग गफ गर्न “बुद्ध” र “एभरेष्ट”को “रेडिमेड डोज” दिनुपर्ला जस्तो लाग्दै लागेन।
एउटा कुर्सी तानेर बसेपछि यी अनायासै खुल्दै गएका थिए। “पुने”मा वर्षौं बसेर “भाष्कर चांदवाड्कर”सँग सितार सिकेको कुरा गर्दै जाँदा मलाई एकफेर सितारको तारले नै छोएर गएजस्तो भएको थियो। यिनका गुरुले “पण्डित रविशंकर”सँग सितार सिकेका हुन् भनेका थिए, त्यतिखेर मलाई “रविशंकर”को सितार र “जाकिर हुसेन”को तबलाको जुगलबन्दी याद आउनैपथ्र्यो। कसो कसो मलाई मेरो तौल नै छैन जस्तो हुन थालेको थियो। निर्धक्कसँग तैरिरहे जस्तो, केही बोल्दा पनि केही छुट्ला जस्तो, मौन हुँदा पनि केही छुट्ला जस्तो। कसोकसो मेरा इन्द्रियहरुले मलाई धकेलेपछि म पनि अनायासै खुल्दै गएछु।
फिल्मका कुरा भएथे। “बर्गम्यान” अनिवार्य रुपमा तानिए हाम्रो संवादमा। “बर्गम्यान”का फिल्महरुको सिनेमेटोग्राफर “स्भेन निक्भीस्ट”को कुरा आउनेबित्तिकै तिनै सिनेमेटोग्राफरले १९७२ को “सिद्धार्थ” भन्ने फिल्म पनि खिचेको भन्ने कुरा गरेका थिए यिनले। मैले भनेको थिएँ, “हर्मन हेस्सेको नोभेलमा बनेको फिल्म, “कनराड रुक्स डिरेक्टर।”
“यस्, “कन्राड रुक्स”। ही इज बरिड् इन माउन्ट अबर्न सेमेट्री। आई प्लेड सितार इन हिज फ्युनेरल।”
“वा...............ऊ!” म त्यही चिहानको पारीपट्टीको एउटा बिल्डिङ्मा बस्थेँ त्यतिखेर।
“आई वाज् वान अफ द सितार प्लेयर्स इन द्याट् फिल्म। “हेमन्त कुमार” वाज् द म्युजिक डिरेक्टर।”
मेरो शरीरभरी कति धेरै काँडा उम्रिएका थिए त्यतिबेला। अचानक ती फिल्मका दृश्यहरु अझ समृद्ध भएजस्तो भएको थियो। म त लठ्ठै परेर यिनका कुरा सुनेको सुन्यै भएको थिएँ।
“हेड् अफ द डिपार्टमेन्ट, अन्डरग्य्राजुएट साइकलोजी प्रोग्राम, डक्टर माइकल सिगेल” भनेर डीनले अर्को एउटा “अनाउन्समेन्ट” गरिदिएका थिए।
यसअघि पनि ३–४ जना “डिपार्टमेन्ट चेयर”हरुले के के बोलेर गइसकेका थिए, मलाई त्यसमा उति चासो थिएन। तर म “साइकलोजी”मा भर्ना भएको थिएँ। आफ्नो “डिपार्टमेन्ट”को “चेयर”लाई हेर्दिऊँ न त भन्ने लागेको हो। मलाई सयौँ भोल्टको करेन्ट लगाइदिएर यिनी “मलाई नबोलाको भए हुन्थ्यो नि” भनेजसरी माइकतिर पो बढे। मेरो कलेजो फड्फडाइरहेको थियो निकैबेरसम्म। त्यस्तो घटना निकै कम हुन्छन् जिन्दगीमा। यिनले माइकमा धेरैबेर बोलेका हैनन् त्यतिखेर, तर मलाई यी मेरा प्रोफेसर अनि “डिपार्टमेन्ट चेयर” हुन् भन्ने कुराले ठूलो भर दिएको थियो।
क्लास सुरु भइसकेपछिका दिनहरुमा यिनले मलाई “फिल्म गाए” भनेर सम्बोधन गरिरहे। सेमेस्टरको “फाइनल प्रेजेन्टेसन”मा मैले “चित्रा सिंह”को गजल बजाएर एउटा दृश्य “न्यारेट” गरेको थिएँ। यिनले बीचमा कुनैबेला उत्साहित हुँदै पूरा क्लासको ध्यान खिचेर भनेका थिए, “आइ टोल्ड् यू ही इज अ फिल्म गाए”। मैले “प्रेजेन्टेसन”को अन्तिम वाक्य बोलेको थिएँ, “सी यू नेक्स्ट सेमेस्टर।” कुर्सीमा एक फन्का घुमेर अगाडि हेरेर यिनले भनेका थिए, “दिस् गाए इज एन आर्टिस्ट।”
...
मौसम फेरि त्यस्तै हुँदै गएको छ, “बब डीलन”को “ट्याम्बरिन म्यान” गाउँदै हिँड्नेजस्तो। “बब डीलन”ले साहित्यतर्फको नोबेल पुरस्कार जितेको विषयमा मलाई माइकलसँग धेरै बेर गफ गर्न मन थियो। तर यिनी त हामीलाई “साइकलोजिकल एण्ड थेराप्युटिक डाइमेन्सनस् अफ दि आर्टस” पढाउँथे। “माइ डिनर विथ आन्द्रे”, “सेइमोरः एन इन्ट्रडक्सन” र “अल द मर्निङ्स इन द वल्र्ड” जस्ता फिल्म हेरेर तिनका पेपर लेख्न लगाउँथे र “गेष्ट प्रोफेसर”हरु पनि ल्याउँथे क्लासमा। बेफुर्सदी थिए। संगीत र दिमागका नशाहरुको सम्बन्धको व्याख्या गर्न एम्.आइ.टी. बाट “डक्टर ग्रेस लेज्ली” लाई बोलाएका थिए। अर्कोपल्ट “पोयट लरेट एलिजाबेथ म्याक्किम” सँग मिलेर माइकलले हाम्रा नामका हरेक अक्षरहरुबाट एक एक हरफ बनाउन लगाएपछि मैले मेरो नामका अक्षरहरुबाट यस्तो कविता बनाएको थिएँ,
तिमीभन्दा पर
कुनै संसार छैन
जहाँ मेरो अस्तित्व जीवित् छ
प्रिय,
अब अँध्यारा दिनहरुलाई विदा गरौँ।
अंग्रेजीमा यो कविता अझ मिठो सुनिएको थियो भन्थे मेरा केही साथीहरुले। “पोयट्री थेरापी” प्रतिको स्नेह त्यतिखेरै भएको हो भन्दा अन्यथा नहोला।
माइकलले क्लासरुमको सेटिङ्मा धेरै मेहेनत गर्थे। आफ्नो छुट्टै ल्याम्प र ल्याम्पलाई पर्दामा च्याप्ने क्लिप लिएर आउँथे हरेक क्लासमा। चर्को उज्यालोले यिनलाई अत्याउँथ्यो, यी दौडेर आफ्नो अफिसबाट ठूला चार्ट पेपर लिएर आउँथे र सिलिङ्का चम्किएका बत्तिको उज्यालो छेकिदिन्थे। प्रशासनका कोही मान्छे क्याम्पसभरी घुमिरहन्थे र केही कुरा बेठिक या बिग्रिएको देखे भने मर्मत गरिदिन्थे। एकजना अक्सर हाम्रो क्लासबाहिर उभिएर अनौठो मानेर उभिन्थ्यो। क्लासभित्रको बत्ती चहकिलो छैन भन्ने थाहा पाउँथ्यो। माइकल त्यस्तो बेला ढोका अलिकति खोलिदिन्थे र पढाउने काम रोक्दैनथे। त्यो मान्छे जान्थ्यो अनि उत्तिखेरै माइकल भन्थे, “ही थिङ्क्स वी ह्याभ अ प्रब्लम।” त्यो मान्छेलाई छक्याउन पाएजसरी एउटा अनौठो मुस्कान छोड्थे र भन्थे, “दे डोन्ट अन्डरस्ट्याण्ड आर्ट।”
“बर्बन क्याफे”मा छिर्दाखेरी यिनको हातमा साइकल चढ्दा लगाउने हेल्मेट थियो। हेल्मेट राखेर झोला अड्काएँ कुर्सीको अडेस लाग्ने ठाउँमा। काउन्टरबाट कुनै “फ्लेवर”को चिया ल्याए। यिनले हार्वड विश्वविद्यालयमा पढ्ने भारतीय नारीसँग विवाह गरेका हुन्। “क्रस कल्चरल साइकलोजी”को रिसर्च र “नर्थ इण्डियन क्लासिकल म्युजिक”को अध्ययनका लागि धेरै वर्ष भारत बसेका थिए। म क्लासमा छिर्ने बित्तिकै “नमस्ते, आइए, बैठिए” भनेर मुस्कुराउँथे। मलाई पनि त्यसै भनौँ जस्तो लागेको थियो तर म त यिनलाई त्यति लामो समयपछि देखेर त्यसै आनन्द मानेर उभिइरहेँ।
उनी एक वर्षको अनिवार्य छुट्टीमा थिए केही महिना अघिसम्म। त्यो बीचमा भारत गएर बसेछन्। “इन्डोनेसिया”को “बाली”मा “रिलिजियस पर्फर्मेन्स” हरुको अध्ययन गर्छु भनेका थिए डेढ वर्षअघि। भन्दै थिए, “बाहिरबाट जानेहरुलाई भारत कति धेरै कलरफूल जस्तो लाग्छ, बाली त्योभन्दा दस गुणा रहेछ।”
मैले उनलाई सोधेको थिएँ, “प्रोफेसर, आर यू सर्प्राइज्ड् द्याट् आइ अल्रेडी ग्य्राजुएटेड्?”
“ओह्, अफ्कोर्स। आई थिंक यू जस्ट वाक्ड इन टु माई अफिस लास्ट इयर।” विस्तारै औपचारिकताहरु हराउँदै थिए। म अलि खुलेरै हाँसिदिएँ। उनले कागजको गिलासको ढकनी खोलेर दुईतीनफेर फू फू गरेर चिया सेलाउन खोजे र दुवै हातले गिलास समातेर सुरुप्प पारे। मैले आफ्नो चियातिर हात बढाएँ। “ब्लू आइज हिबिस्कस टी”– नाम सुन्दैमा मत्याउला जस्तो चियाको अमिलो र बाक्लो खालको स्वाद मुखमा अलिबेरसम्मै खेलिरह्यो।
उनले एकथोक भनेका थिए मलाई, “मलाई कसैले तँ साइकलोजीको मान्छे हो कि आर्टको भनेर सोध्यो भने म ठ्याक्कै भन्न सक्दिनँ। मैले समाजशास्त्र पनि पढेँ, विश्वका धर्महरु पनि पढाइराखेको छु। मलाई धेरै थोक गर्नु थियो, र गरेँ पनि।”
म मुसुक्क हाँसेँ।
“बर्गम्यानले त साइकलोजी पढ्याथेन। तर ऊजत्तिको साइकलोजिस्ट अरु कोही होला त?”
केही मान्छेहरु गाढा छायाँ छोडेर जान्छन्। उनी हेल्मेट लिएर निस्किए। मैले उनलाई “बर्गम्यान”को फ्रेमभित्रको पात्रजस्तै घामछायाँमा देखिरहेँ कतिबेरसम्म।