हामीमध्ये धेरै सोच्छौं, अमेरिकामा सबैले खर्रर अंग्रेजी बोल्छन्। तर, त्यसो होइन। यहाँ ‘हाई हेल्लो’ समेत अंग्रेजीमा भन्न नजान्ने थुप्रै छन्।
कसैसँग संवाद गर्नुपर्दा कि त आफ्नो भाषा, कि अंग्रेजी हुनुप¥यो। कि भने हातको इशारालाई संवादको सहारा बनाउनुपर्छ।
यो लौराको कथा हो।
मेक्सिकोबाट आएकी लौराको एक्लो कथा भने होइन। अंग्रेजी नजान्ने नेपालीहरुको पनि कथा हो। अझ यो कथा ती मानिससँग नजिक छ, जोसँग वैधानिक रुपमा काम गर्ने, बस्ने, आफ्नो नाममा कुनै सम्पत्ति जोड्ने अनुमति छैन। त्यसैले यो संसारभरबाट अमेरिका आएका आप्रवासीको साझा कथा हो।
अमेरिकामा अंग्रेजीपछि बोलिने ठूलो भाषा हो, स्पेनिस। मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, डोमिनिकन रिपब्लिकजस्ता देशका धेरै मानिस यो भाषामा संवाद गर्न सक्छन्। धेरैले स्पेनिस बोल्ने भएकाले यी देशका मानिसलाई बोलिचालीमा ‘स्पेनिस’ भन्न गरिन्छ। कामकाजी भाषामाचाहिँ ‘हिस्प्यानिक।’
तर, यी देशका सबैलाई स्पेनिस भाषा आउँछ भन्नेचाहिँ छैन।
मेक्सिकोकी लौरालाई यही भाषा पनि सहज छैन। अलिअलि मात्र आउँछ उनलाई। मेक्सिकोको रैथाने भाषा मेक्सटिक बोल्छिन्। न्यूयोर्कनजिकै इस्ट हार्लेममा बस्ने २७ वर्षीया लौरालाई घरबाहिर निस्कन पनि अत्यास लाग्छ। कसैले अंग्रेजीमा सोधिहाले कसरी जवाफ फर्काउने भन्ने चिन्ताले उनलाई सधैं गाँज्छ। बाहिरफेर घुम्न मन लाग्दो हो, तर हराइन्छ कि भन्ने डर। सोधौं, आफ्नो भाषामा बुझाइदिने कोही हुँदैन।
‘म मानिसहरुसँग कुरा गर्न सक्दिन,’ मेक्सटिक भाषामा उनले भनिन्, ‘यसकारण म सधैं निराश हुन्छु। मानिसहरुसँग कुरा गर्दा म केही पनि गर्न सक्दिन भन्ने हीनतवोध हुन्छ।’
उनको आफ्नो भाषाको यहाँ कुनै महत्व छैन। न बोलेर चल्छ, न लेखेर। त्यसैले उनी निरक्षरजस्तै छिन्। ‘अंग्रेजी नबुझ्दा आफ्नो जीविकापार्जनका लागि पनि ठूलै युद्ध लड्नुपर्ने रहेछ,’ उनी भन्छिन्।
अंग्रेजी नहुँदा न्यूकोर्क जस्तो सहरमा काम पाउन सजिलो छैन। औषधी उपचार गर्न सकिन्न। प्रहरीको सहयोग पाउन गाह्रो पर्छ। योभन्दा ठूलो युद्ध आप्रवासीका लागि के नै पो हुनसक्छ र? अंग्रेजी भाषा नजान्नेलाई आप्mनो आधारभूत आवश्यकता पूरा गर्न पनि गाह्रो छ।
यस्तो स्थितिलाई भाषाले एक्ल्याएको भनिन्छ। दिनदिनै विश्वको विभिन्न भूभागबाट भित्रिएका आप्रवासीलाई भाषाले निकै प्रभाव पारेको छ। हजारौं मानिसको पहिलो चुनौती नै भाषा हो।
अवैध आप्रवासीको संख्या ठूलो भएकाले ठयाक्कै कति मानिस भाषाको चुनौती भोगिरहेका छन्, ठम्याउन सकिन्न। तर, पक्कै पनि यस्तो संख्या सानो भने छैन। त्यसैले त अमेरिकाको राज्य संयन्त्र र स्थानिय प्रशासनको मुख्य चासो भाषा हुन पुगेको छ।
न्यूयोर्कमा यस्तो समस्या सम्बोधन गर्न प्रयास नभएको पनि होइन। अंग्रेजी बाहेकका ६ वटा भाषालाई सार्वजनिक संस्थाहरुमा उल्था गरिदिने व्यक्तिको व्यवस्था पनि गरिएको छ। तर, ८०० भन्दा बढी रैथाने भाषा बोलिने सहरमा जाबो ६ वटा भाषाको मात्र उल्था गरिने व्यवस्थाले कसरी समस्याको समाधान गर्न सक्थ्यो र?
अंगे्रजी जान्ने मानिसलाई सामान्य लाग्ने काम, रैथाने भाषा बोल्ने मानिसको लागि असामान्य भइदिन्छ। आपूmलाई चाहिएको चिज किन्न होस् वा हाकिमले भनेको काम गर्न नै किन नहोस् इसाराले कुरा गर्नुपर्छ।
इसाराले बोल्दा अरुलाई यो मानसिक रुपले असक्षम मानिस त होइन भन्ने भ्रम पर्छ। यसले झन् आपूm अपमानित भएको महसुस गराउँछ।
भाषाका कारण विषेश गरी महिलाहरुले बच्चा स्याहार्नेजस्ता काम गर्नुपर्छ। जसकारण, उनीहरुको बाहिरी संसारसँग सम्पर्क हुँदैन। उनीहरुका श्रीमान् प्रायः रेस्टुरेन्ट वा निमार्ण कम्पनीको लागि काम गर्छन्। दिनभरि बाहिरै रहन्छन्। यसरी बाहिर काम गर्दा अलिअलि अंग्रेजी सिक्ने सम्भावना हुन्छ। तर, घरमै बस्ने महिलाहरुको बाहिरका साथीहरु हुँदैनन्। अवैध रुपमा बसिरहेकाहरुलाई अंग्रेजी सिक्नको लागि कतै स्कूल, कलेजमा जाने विकल्प नै हुँदैन। कतिलाई समय मिल्दैन। अर्कोतिर भाषा कक्षा निकै महँगो पर्छ।
लैराको श्रीमान पनि बाहिर काम गर्न जाने गर्थे। उनी आफ्नो दुई वर्षे छोरासँगै दिनभर घरमा बस्छिन्। तर, पनि उनलाई एक्लोपनले सताइरहन्छ।
एकदिन लौरा र उनको श्रीमानबीच ठाकठुक प¥यो। हल्ला बाहिरसम्म सुनियो। छिमेकीले प्रहरी बोलाइदिएछन्। उनको श्रीमानलाई प्रहरीले जेल हाल्यो।
लौरालाई थाहा छ, जेलै हाल्नुपर्ने खालको गल्ती उनको श्रीमानले गरेका थिएनन्। तर, भन्ने कसरी? कसलाई? कुन भाषामा?
जतासुकै भाषा नै तगारो बनिदिन्छ।
दुई वर्षे छोराबाहेक उनको भाषा बुझ्ने त्यही एउटा श्रीमान थिए। उनैलाई पनि प्रहरीले लग्यो। जीवन झन् जटिल बन्यो।
श्रीमानको साथीले वकिल त खोजिदिए। तर, यहाँ पनि भाषाकै समस्या। न वकिलले आफ्नो भाषा बोल्छन्, न आफू वकिलले बुझ्ने भाषामै बोल्न सकिन्छ।
उनलाई यत्ति भन्न मन थियो, मेरा श्रीमानले ठूलो गल्ति गरेका होइनन्। असल मानिस हुन्। तर, अदालती प्रक्रियाको कुरा। यति छोटो कुरा भन्न पनि लामो प्रक्रिया पार गर्नुपर्छ। सोधेको जवाफ फर्काइरहनुपर्छ। वकिलसँग भेट गरिराख्नुपर्छ। दोभाषे बनिदिने श्रीमानका साथी सँगै साथमा हुँदैनन्।
श्रीमान साथमा भएको भए भाषाले निम्त्याउने यस्तो समस्या अलि कम हुन्थ्यो। जो, अंग्रेजी पनि बुझ्थे। तर, के गर्नु? त्यही श्रीमानको लागि यत्रो समस्या भोगिरहनु परेको छ।
न्यूयोर्क सहरको भीडमा लौरालाई भाषाले झन् झन् एक्ल्याइरहेको छ। निराश भएर भन्छिन्, ‘जीवनलाई संकटको भूमरीमा भाषाले नै ठेल्दो रहेछ।’
भावानुवाद: न्युयोर्क टाइम्सबाट