शेलेन गायडोस अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्स काउन्टी प्रहरीका लागि गुप्तचर अधिकृतका रुपमा काम गर्थिन्।
उनी कामप्रति यति लगनशील थिइन्, एकपटक एउटा कारमा दुई जना शंकास्पद व्यक्ति भागे। उनले तिनीहरुलाई पछ्याइन्। कार रोकेर तिनीहरु पैदल भागे। शेलेन पनि के कम, कार रोकिन् र दुवै जनालाई एकैपटक च्याप्पै कठालोमा समातिन्।
शेलेनका बारेमा फेयरफ्याक्स सहकर्मी प्रहरीहरु स्मरण गर्छन्, ‘दयालु, विचारशील, रमाइली र हँसिली। र, छरितो पनि।’
यो उनीहरुको सम्झनाको कुरा भयो। किनकि, शेलेन यहाँ छैनन्।
शेलेन ठूलो परिवार रुचाउँथिन्। वरिपरि बच्चाहरु झुम्मिएको उनलाई खुब मन पथ्र्यो। काममा जति इमान्दार थिइन्, त्यति नै बच्चाहरुलाई पनि समय दिन्थिन्। आफ्ना तीन छोरीहरु नदिया सोफिया तथा ओलिभियाकी आमा हुन पाउँदा आफूलाई गर्व लाग्ने बताउने गर्थिन्। छोरीहरुलाई इमान्दार, चलाख र छरितो बनाउन उनी अनेक प्रयास गर्थिन्। निःस्वार्थ समाजसेवामा लाग्न प्रेरित गरिरहन्थिन्। स्काउटजस्ता सामाजिक संस्थामा आवद्ध गराएकी थिइन्।
उनलाई तीन छोरीले पुगेको थिएन। उनी अझै बच्चा चाहन्थिन्।
सन् २०१५ को ‘मदर्स डे’ को दिन।
श्रीमान् र छोरीहरुसँग खुसी साटिरहेकी थिइन्। छोरीहरुले उनलाई ‘सप्र्राइज गिफ्ट’ दिए। शेलेना पनि के कम, उनले पनि छोरीहरुलाई अर्कै ‘सप्र्राइज’ दिइन्। सबैको कानमा खुसुक्क–खुसुक्क भनिन्, ‘तिमीहरुका लागि म चाँडै नै बहिनी या भाइ ल्याउँदैछु।’
श्रीमानलाई पनि सुनाइन्।
मदर्स डेको खुसियाली झन् दोब्बर भयो।
त्यसको केही हप्तापछि, शेलेन नियमित चेकजाँचका लागि स्वास्थ्यसंस्था गइन्। पेटमा भएको बच्चाको स्थिति थाहा पाउन अल्ट्रासाउन्ड गरियो।
अल्ट्रासाउन्डले पत्ता लगाइदियो, उनको खुसी त लुटिइसकेको रहेछ। बच्चाको मुटुको धड्कन बन्द थियो। जन्मिनुअघि नै अन्तिम गन्तव्यमा पुगिसकेको रहेछ।
मरेको बच्चा उनको पेटबाट त निकालियो। उनको निद्रा भने हरायो। सधैं अनुहार फैलाएको देखिने शेलेनको दिन दिनै खुम्चिँदै गइन्। हाँसो हरायो। निद्रा हरायो। खाना हरायो।
बच्चा ‘मिस क्यारेज’ भएपछि उनलाई लाग्न थाल्यो, ‘म असफल भएँ।’
कामबाट केही समयका लागि छुट्टी लिइन्। छोरीहरुको रेखेदेखमा समय दिएर पीडा भुलाउने प्रयास गरिन्।
सन् २०१५ जुन १२ का दिन शेलेनले आफ्ना छोरीहरुलाई स्कुल बस चढाउन स्टपसम्म पुगिन्। साँझ सबै छोरी जम्मा भए। खाजा खाए। टिभी हेर्दै बसे। यहाँसम्म सब ठिक थियो।
छोरीहरु जम्मा भएको केहीबेरमा शेलेनालाई के भयो कुन्नि, अर्को कोठाभित्र छिरिन्। चुकुल लगाइन् र आफ्नो जीवनको अन्त्य गरिन्।
परिवारलाई थाहा भएन, के कारणले मृत्यु भयो?
पछि अनुसन्धानबाट थाहा भयो, उनको मृत्युको कारण ‘पोस्टपर्टम मुड डिसर्डर’ रहेछ। यो डिप्रेसनका प्रकारमध्ये एक हो। विशेषगरी गर्भवति भएका महिलाहरुमा यस्तो खाले समस्या देखिने गरेको बताइएको छ। फेयरफ्याक्स प्रहरीले हालसालै शेलेनका बारेमा सामग्री सार्वजनिक गरेको छ।
उनको परिवारलाई यस किसिमको रोगबारे थाहा थिएन। न उनीहरुले यसको नामै सुनेका थिए। जब थाहा पाए, उनीहरु यस रोगबारे जनचेतना जगाउन लागी परेका छन्। उनीहरु हरेक गर्भवति र उनीहरुका परिवारलाई यो रोगबारे जानकारी दिन चाहन्छन्।
किनकि, शेलेनको आत्महत्याको कारण अज्ञानता थियो।
चिकित्सकहरुका अनुसार सातमा एक गर्भवति महिलामा यस्तो किसिमको समस्या देखिन्छ।
तर, चिकित्सकको सम्पर्कमा जम्मा १५ प्रतिशत आउने गर्दछन्। यसको कारण हो, जनचेतनाको कमी। अनिद्रा तथा शरीरमा हुने हर्मोन परिवर्तनले यस्तो हुने चिकित्सकहरुको भनाइ छ।
यही चेतना फैल्याउन भर्जिनियामा ‘शेलेन्स रन पोस्टपर्टम डिप्रेसन अवेर्नेस’ नामक कार्यक्रमको आयोजना भएको छ। अक्टुबर १३ का दिन ‘शेलेन्स रन’ कार्यक्रम राखिएको छ। उनीहरु यस दौडबाट धेरैभन्दा धेरै मानिसमा यो रोगबारे थाहा पाउन् भन्ने चाहन्छन्। अभियन्ताहरु भन्छन्, ‘यो कुनै ठूलो रोग होइन। चिकित्सकको सम्पर्कमा पुगे चाँडै निको हुन्छ। हामी चाहन्छौं, रोगबारे थाहा नपाएर कोही आमाहरुले आफ्नो ज्यान गुमाउन नपरोस्।’
एजेन्सीहरुको सहयोगमा