नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकार गठन भए यता भारत र चीन दुबैसँग आपसी हितका आधारमा अधिकतम फाइदा हुनेगरि नेपाल अघि बढिरहेको जानकारी दिएका छन्।
शनिवार अमेरिकाको डालसमा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको आर्थिक अवस्थामा परिवर्तन र क्षमतामा व्यापक विस्तार गर्न सकेको खण्डमा नेपालप्रतिको छविमा अन्तर्राष्ट्रिय जगतमा फेर्न सकिने उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
नेपालले विभिन्न देशहरूसँग श्रम सम्झौता गरेर नेपालीहरूलाई बढी आर्थिक लाभ दिलाउने तर्फ नीति रहेको, एनआरएनसँग भएका सीप र पुँजी भित्राउन दोहोरो नागरिकता, दोहोरो कर मुक्त सम्झौताका धेरै प्रक्रियाहरू अघि बढेको मन्त्री ज्ञवालीले बताए।
नेपालबाट वैदेशिक रोजगारका लागी लाखौँ नेपालीहरू विदेशिने क्रम जारी रहेको बोध गर्दै मन्त्री ज्ञवालीले "नेपाली भनेको पासपोर्ट समेत मिल्काएर अन्य देशमा शरण लिन इच्छा राख्ने जात हो भन्ने अवधारणलाई हटाउन सरकार लागिपरेको छ" उनले भने । उनले अबको १०-१२ वर्ष देशको आर्थिक विकासमा मात्र केन्द्रित रहनेगरि अघि बढेको पनि बताए ।
‘हामीले ७० वर्षसम्म राजनीतिक लडाई गर्यौँ, २० वर्ष द्वन्द्वमै बितायौँ । अबको हाम्रो ध्यान राजनीतिक मतभिन्नताबिच पनि आर्थिक समृद्धि हासिल गर्नेतिर हुनै पर्छ,’ मन्त्री ज्ञवालीले भने । २०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा जन्मिएको व्यक्ति अहिले २३ वर्षको वयस्क भैसकेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एउटा सिङ्गै पुस्ताको जीवन द्वन्द्व र संक्रमणकालका नाममा बितेकोले अब त्यतातिर कसैको पनि सोचाई जान नहुनेमा जोड दिए ।