संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा आएको नेपाल सरकारको टोली सेप्टेम्बर २३ देखि संयुक्त राज्य अमेरिकामा छ। अक्टोबर २ सम्म रहने टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएपछि अहिले उनी नेपाली समुदायसँग भेट तथा संवाद गरिरहेका छन्। यही सिलसिलामा टेक्सस राज्यको डालसमा रहेका मन्त्री ज्ञवालीसँग सेतोपाटीका लागि यम घिमिरेले सरकारका समसामयिक काम र एनआरएनका अधिकार लगायतका बिषयमा गरेको कुराकानीको सम्पादित अंश।
मन्त्रीज्यू, संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थिति र प्रस्तुतिको प्रभाव कस्तो रह्यो?
हाम्रो ठूलो राजनीतिक संक्रमण र रुपान्तरणपछि नेपाल दिगो शान्ति र समृद्धिको यात्रामा अग्रसर हुन थालेको परिप्रेक्षमा प्रधानमन्त्रीको तहबाट नै अन्तराष्ट्रिय समुदायमा नेपालको प्रस्तुति आउनु उपयुक्त हुन्छ भन्ने ठान्यौं हामीले। फलस्वरुप प्रधानमन्त्रीज्यूले नेपालले शान्ति प्राप्तिका लागि गरेका अभ्यास र प्रगति, प्रजातन्त्र, मानवअधिकार, समावेशीतामा मौलिक र अनुपम उपलब्धी हासिल गरेको हाम्रो देशको अनुभव बडो सन्तुलित, व्यवस्थित र प्रभावकारी रुपले विश्व समुदायसमक्ष राख्नुभो। संयुक्त राष्ट्रसंघका अन्य प्राथमिकताका कार्यक्रमहरु जस्तै: जलवायु परिवर्तनको चुनौतिलाई न्यूनीकरण गर्ने, आतंकवाद, गरिबी आदिका विषयमा पनि नेपालको अडान र धारणा प्रस्तुत भए। नेपालको युद्धपछिको मौलिक शान्ति स्थापनाको बाटोबाट अन्तर्राष्ट्रिय समुदायले सिक्न सक्ने कुरा हामीले त्यहाँ राख्यौं। अन्तर्राष्ट्रिय नेताहरुले पनि विगतको भन्दा यसपाली नेपालको प्रस्तुति, धारणा र अडान निकै नै सशक्त भएको भनेर प्रशंसा गर्नु भएको छ।
प्रधानमन्त्रीको प्रस्तुतिको पृष्ठभूमिमा नेपालको परराष्ट्रमन्त्रीको रुपमा तपाईंसँग पनि तपाईंका समकक्षी अन्य देशका मन्त्रीहरुले नेपालले कसरी शान्ति प्राप्तिको संक्रमणलाई पार लगायो भनेर केही सिक्न चाहेको भनेर कुराकानी गरे?
अवश्य पनि। मैले आफैँ पनि दस जना विभिन्न देशका मन्त्रीहरुसँग कुरा गरेँ।
कुन देशका, क-कसले चासो राखे,नाम लिइदिनुस न?
नर्वे, आयरल्याण्ड, बेलायत, पाकिस्तान, भारत, अजरबैजान लगायतका विदेशमन्त्रीहरुसँग मेरो कुराकानी भयो। नेपालले हासिल गरेका थुप्रै राजनीतिक उपलब्धि र सफलतामा उहाँहरुले हामीलाई शुभकामना दिनुभयो, प्रगतिमा अघि बढ्छ नेपाल अब भन्ने कुरामा विश्वास प्रकट गर्नुभयो र साथ र सहयोगका लागि आफ्ना देशका सरकारको प्रतिबद्धता जाहेर गर्नुभयो।
तपाईं विकसित देशमा हुनुहुन्छ। भर्खरै न्युयोर्क सहरमा बसेर आउनु भयो। राजनीतिलाई सही बाटोमा हिँडाएर मान्छेले आर्जन गरेको मानवीय सम्पदा र वैभवको न्यूयोर्क नमुना देख्दा यति लामो समय हामीले, हाम्रो राजनीतिले खास गर्नु पर्ने कामचाहिँ नगरेर समय खेर फालेको महसुसहुँदैन? तुलनामा कहाँ चुकेका छौँ हामी?
म पहिले पनि र अहिले परराष्ट्रमन्त्रीको रुपमा पनि धेरै देशहरु पुगिरहन्छु, मैले युरोपको विकास, सानफ्रान्सिस्कोको वैभव र सुडानको डाफरको मानवीय त्रासदी पनि देखेको छु। अमेरिकाको विकास हेरेर नेपालमा किन यस्तो भएन भनेर तुलना गर्ने कुरै ठिक हुँदैन। म युरोप र अमेरिकालाई हेरेर नेपाल खत्तम छ भन्ने मान्यता राख्दिन। हरेक देशका आफ्नै परिस्थिति र पृष्ठभूमि हुन्छन्। नेपालमा प्रजातन्त्र र राजनीतिक स्थायित्वकै लागि धेरै लड्नु परेको छ। विकासका मामिलामा हामीले अमेरिका युरोपबाट सिक्न त सकिन्छ। अब सिक्ने पनि हो, अब छोटो समयमा आफ्नै ढंगको मौलिक विकासमा अघि जाने पनि हो।
अमेरिकासँग नेपालको तुलना गर्नु ठीक होइन भन्नुभयो। न्यूयोर्कका जस्ता महल बनेनन्, १० लेनका चिल्ला फराकिला सडक किन छैनन् नभनौंला। तर, सुधारिएको राजनीतिक आचरण, कानुनी राज्य, पारदर्शीता,जनताप्रति उतरदायी हुने शासन त सिक्न सकिन्छ नि?
यहाँबाट हामीले सिक्ने कुराहरु छन्। तर कतिपय कुराहरु यस्ता छन् जुन नेपालबाट अरुले सिक्नुपर्छ। हामीले मौलिक ढङ्गले शान्ति प्रक्रिया सम्पन्न गर्यौँ, शान्तिपूर्ण ढंगले यत्रो ठूलो राजनीतिक परिवर्तन ल्यायौं, महिलालाई राष्ट्रपति बनाएका छौं, राज्यका समावेशी संरचनाहरु निर्माण गरेका छौं, ४१ प्रतिशत महिलाको सहभागिता छ, हाम्रा जनप्रतिनिधिमूलक निकायमा। यी सब कुरा नेपालबाट अरुले सिक्ने कुरा हुन्। यस्तो प्रश्न मात्रै नगरौं कि नेपालले खाली अरुबाट सिक्ने मात्रै हो। नेपालसँग केही छैन ‘सेयर’ गर्ने भन्ने यो हीनतावोध हामीले पाल्नुहुँदैन। विकासका मामिलामा, विधिको शासनका कुरामा, प्रशासनको प्रभावकारिताका कुरामा हामीले उहाँहरुबाट सिक्ने नै हो। कतिपय सामाजिक पारिवारिक मूल्य मान्यताका कुरा, सद्भाव र सहिष्णुताका कुरामा हामीले अरुलाई सिकाउने कुरा पनि छन्। नेपालले सधैं एकोहोरो अरुबाट मात्रै सिकिरहने भन्ने सोच उपयुक्त हुँदैन।
तपाईं विदेशका जहाँजहाँ जानुहुन्छ, त्यहाँत्यहाँ नेपालीहरु आफ्नो मौलिक पहिरन, भाषा, भात-भान्छा, चाडपर्वमा रमाएको, परिवार, समाज बनाएको देख्नुहुन्छ। नेपालबाहिर पनि यस्तो वृहत नेपाल पाउँदा कस्तो लाग्छ?
खुसी लाग्छ। नेपालीहरु जहाँ बसे पनि नेपालप्रति नेपालीको असाध्यै ठूलो माया छ। भौतिक रुपले नेपालबाहिर रहे पनि उहाँहरुको मन नेपालमै छ जहिले पनि। एकाध केही जहिले हुन्छन्, सधैं कुण्ठा पोख्ने, नकारात्मक चिन्तन मात्रै गर्ने, नेपाललाई गाली मात्रै गर्ने। अधिकांश गैर-आवासीय नेपालीमा कहिले नेपालमा राम्रो होला भन्ने सोच र चिन्ता सधैं हुन्छ। मैले त्यो पाएको छु। नेपाल प्रगतिको दिशामा अघि बढे हाम्रो पनि यहाँ प्रतिष्ठा बढ्ने थियो भन्ने छ उहाँहरुलाई। धेरै त नेपाल नै फर्केर केही गर्न पनि तयार हुनुहुन्छ। विभिन्न प्राथमिकता र वाध्यताले विदेश बस्ने नेपाली समुदायलाई नेपालकै एक अंग रुपमा हामीले बुझ्नुपर्छ। नेपाल प्रगतिको मार्गमा अघि बढ्दै छ अहिलेको घडीमा। यो स्थितिमा बाहिर बसे पनि नेपाललाई असाध्यै माया गर्ने नेपालीले आर्जन गरेको धन, सीप र ज्ञान तीनवटै कुरा नेपालको विकासका लागि आवश्यक पर्छ र त्यसको उच्चतम उपयोग गर्न नेपाल सरकारले कार्यक्रम बनाउँछ।
नेपालबाहिर गैर-आवासीय नेपालीहरुको एउटा ठूलो शिक्षित संख्या छ। यो समुदायले नेपालको दैनिक राजनीतिक घटना र परिवेशका राम्रा-नराम्रा पक्षमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको हुन्छ। नेपाल बस्नेले 'तिमीहरु भागेका हौ, तिमीहरुले धेरै नसिकाओ, तिमीहरुलाई धेरै बोल्ने अधिकार छैन नेपालको बारेमा' भनिदिन्छन्। गैर-आवासीय नेपालीलाई यसरी बोल्न पाउने अधिकार छ कि उनीहरुले बिना अर्थको छुच्चो मुख मात्रै गरेका हुन्?
गैर-आवासीय नेपालीलाई नेपालको बारेमा बोल्ने अधिकार नहुने कुरै भएन। जहाँ माया छ, सरोकार छ त्यहाँ मान्छेले चासो राख्ने टिप्पणी गर्ने गर्छ। खाँचो नभएको र लगाव नभएको कुरामा मान्छे बोलिरहँदैन, त्यसलाई ‘इग्नोर’ गर्छ मान्छेले। गैर-आवासीय नेपालीले नेपालको विषयमा बोल्नु भनेको उहाँहरुको नेपालप्रति आफ्ना आशा र अपेक्षा प्रकट गर्नु हो। नेपाल बस्ने नेपालीले नेपालबाहिर बस्ने नेपालीलाई गाली-गलौज गर्नुपर्ने कारण म देख्दिन। भू-मण्डलीकरणको युगमा मान्छे अनेक वाध्यताले विदेस बस्न पुगेको हुन्छ। रिसराग गर्नुभन्दा नेपालबाहिर बसेका नेपालीबाट सिक्न सकिने कुरा सिक्ने र सिकाउनु पर्ने कुरा सिकाउने गर्दा दुवैतिर फाइदा हुन्छ।
मेरो एउटा आग्रह- प्रवासी नेपालीलाई के भने अमेरिका र क्यानडाले दुई सय वर्षमा गरेको विकास र प्रगतिलाई हेरेर नेपाल र नेपालीको अवमूल्यन हुने गरेर नबोल्दिनु होला। स्वदेश बस्ने नेपाली र प्रवासमा बस्ने नेपाली एकअर्काका पुरक हुन्, निषेधकारी होइनन्। नेपाल सरकारले नेपालको विकासका साझेदारको रुपमा बुझ्छ प्रवासी नेपालीहरुलाई।
एनआरएनलाई नागरिकता दिने विषयलाई अलिक जटिल बनाइयो भन्ने गुनासो आइरहेको छ। यस विषयमा नेपाल सरकारको ‘अपडेट’ के छ?
जटिल पटक्कै बनाइएको छैन। गैर-आवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको ‘गैर-आवासीय नेपाली नागरिता’ दिने कुरा संविधानमै तोकिएको छ। संविधानको यो व्यवस्थाबाहिर गएर एनआरएनका लागि कुनै कानुन बन्दैन र बनेछ भने त्यसलाई सुधार गरिनेछ। कानुन बन्ने क्रममा संशोधन आउनु, फरक मत आउनु सामान्य कुरा हो।
म तपाईंमार्फत विश्वास दिलाउन चाहन्छु, एनआरएनलाई सहज र सुलभ ढङ्गले एनआरएन नागरिकताका तोकिएका अधिकार प्राप्त हुने र उहाँहरु नेपालको विकासको एउटा साझेदार बन्न पाउने कुराको ग्यारेन्टी गरिनेछ।
गैर-आवासीय नागरिकता प्राप्त गर्नलाई साबिकको नेपाली नागरिकता त्यागेको प्रामाण पेश गर्नु पर्ने भन्ने कानुनको मस्यौदामा राखिएको छ। यसो गर्दा कानुन आवश्यकता भन्दा बढी नै प्राविधिक भई मानवीय मूल्यको पक्षमा साह्रै कठोर भएन र?
तपाईंले भन्नु भएको कुरामा ध्यान गएको छ। गैर-आवासीय नेपालीहरुले राख्नु भएको चासोलाई हामीले ध्यानपूर्वक सुनेका छौं। नागरिकताको मामिला गृह मन्त्रालयको कार्यक्षेत्र भए पनि हामी सबै यो गैर-आवासीय नागरिकताको विषयमा काम गरिरहेका छौं। छलफल संवाद जारी छ।
एनआरएनले गैर-आवासीय नागरिकता पाउन केन्द्रमा गृह मन्त्रालयमा आवेदन गर्नुपर्ने कुरा छ। यो एनआरएनका लागि झन् जटिल हुने देखिन्छ। एनआरएन नागरिकता जारी गर्न केन्द्रमा गृह मन्त्रालयलाई मात्रै निर्विकल्प बनाइयो भने त फाइल बढ्ने र सुनुवाई हुने बेला कुर्दै छुट्टी सकिने होला। यो व्यावहारिक कठिनाईको कुरा हो यसमा के गर्ला सरकारले?
अहिले कानुनको मस्यौदा मात्रै बन्ने क्रममा छ। यसलाई नै ‘फाइनल’ नमानिदिन म सबैलाई आग्रह गर्छु। बिभिन्न चरणमा बहस र छलफल जारी छ। एनआरएन नागरिकता पाउन र त्यसले निर्दिष्ट गरेका अधिकारहरु उपभोग गर्न बिना कठिनाई र झन्झट व्ववस्था मिलाइने छ। यसमा सबैले ढुक्क भए हुन्छ।
अब नेपालको राजनीतिमा जाऊँ। अहिलेको नेपाल सरकार २०१५ सालको बिपी कोइरालाको सरकारपछिको लोकप्रिय मतले चुनिएको, सर्रवाधिक शक्तिशाली सरकार हो। तर, जताततै निराशाले छोप्न थालेको छ। किन यति छिटै आशा मार्ने बेला भएको?
बिल्कुलै आशा मार्ने बेला होइन यो। म तपाईंमार्फत आश्वस्त पार्न चाहन्छु कि यो सरकारमार्फत नेपाली जनताका सम्बृद्धि र प्रगतिका जुन आकांक्षा छन् तिनलाई जुनसुकै मूल्यमा पनि हामी पुरा गरेरै छाड्छौं। सरकारलाई अहिले नै असफल भयो भनेर हल्ला गर्नु र त्यस्तो धारणा बनाउनु विल्कुलै उचित हुँदैन। गएको छ-सात महिनामा अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठालाई उँचो बनाउने काम भएका छन्। चुनावी प्रक्रियाबाट राज्यका संरचनाहरु क्रियाशील भएर देश स्थिरताको बाटोमा गएको छ। संघियताको जग बसाल्ने काम भएको छ। बजेटमार्फत् सरकारका कार्यक्रम र प्राथमिकताहरुले बाटो पकडेका छन्। यसै वर्ष ६० हजार बालबालिकालाई विद्यालयमा भर्ना गर्न सफल भएका छौं। एकाध घटनाहरु जुन अति नै संवेदनशील छन्, त्यसमा सरकार अति नै गम्भीर छ। त्यतिका आधारमा सरकारका राम्रा कामहरुलाई नजरअन्दाज गर्नु हुँदैन।
तर, निर्मला पन्तको बलात्कार र हत्या काण्ड, यातायातको सिन्टिकेट काण्ड, सुन काण्ड आदि त विवेकशील नागरिकका लागि र न्यायका आकांक्षी जनताका लागि त अति नै पीडादायी कुरा हुन् नि? यस्ता स-साना कुराहरुमा पनि सरकारको ‘एक्ज्युकेटिभ पावर’मा पकड नभएको जस्तो त देखियो?
निर्मला पन्तको बलात्कारपछिको हत्या समकालीन नेपालको अति नै पीडादायी घटना हो। सरकार आफैं यो घटनाबाट अति नै आहत भएको छ। प्रधानमन्त्रीज्यूले यो विषयलाई निकै नै गम्भीरतापूर्वक लिनु भएकोछ। उहाँले भनिसक्नु भएको छ, निर्मला पन्त हामी सबैकी छोरी हुन् उनको हत्यारालाई जुनसुकै हिसाबले पनि न्यायको कठघरामा ल्याइने छ भनेर। सुरुको अवस्थामा जनताले भरोसा गरेको प्रहरीबाट यो विषयमा गम्भीर लापरवाही भयो। लापरवाही गर्नेहरु कारवाहीमा परिसकेका छन्। उच्चस्तरीय अनुसन्धान टोली बनेको छ सरकारको ढिलोचाँडो अपराधीलाई जसरी पनि न्यायालयमा उभ्याइने छ।
तपाईंको पाटीकै वरिष्ठ नेताले 'मेरो देश डुब्न लाग्यो कोही माझी आएर बचाइदेऊ' भनेको सुनियो, तपाईंहरुकै नेताले सरकारको काम कारबाहीले नाकमुख देखाएर हिँड्नै लाज भइसक्यो भन्न थाले। कुर्सीबाहिर बस्नुको पीडा मात्रै बोलेको हो यो त्यसो भए?
उहाँहरुले कुन प्रसंगमा त्यसो भन्नु भएको हो नबुझिकन म त्यसमा बोल्नु उपयुक्त ठान्दिनँ। तर यो सरकारले देशको स्वाधीनतालाई बलियो बनाएकोलगायतका राम्रा काम छोडेर खाली एक दुई नरामा घटनामा मात्रै केन्द्रित भएर बोल्नु ठीक हुँदैन। कसले कुन सन्दर्भमा बोलेको हो त्यो बुझ्न जरुरी छ खाली मिडियामा आएका कुरामा मात्रै आधारित भएर बोल्न जरुरी ठान्दिन म।