अमेरिका नेपाल सोसाईटीले दोस्रो पुस्ता र पहिलो पुस्ताका नेपालीबीच आत्मीय सम्बन्धका माध्यमले एक आपसमा जानकारीको आदान-प्रदान गर्ने उद्धेश्यका साथ भर्जिनियास्थित फल्स चर्चमा एक कार्यक्रमको आयोजना गरेको छ।
आईतवार ‘एएनयस कनेक्शन्स’ नामक पहिलो अन्तरक्रिया कार्यक्रममा अमेरिकास्थित नेपाली दूतावासमा कार्यरत नेपाल सरकारका ईकोनोमिक काउन्सलर कैलाशराज पोखरेलसहित डिसि मेट्रो क्षेत्रका दोस्रो पुस्ताका युवाहरूको उपस्थिति थियो।
कार्यक्रममा दोस्रो पुस्ताका युवाले नेपालको वर्तमान राजनीतिक अवस्था, नेपालको विकासका लागि नेपाल सरकारको योजनाका वारेमा काउन्सिलर पोखरेलसँग जिज्ञासा राखेका थिए।
त्यस्तै, अमेरिकामा जन्मे हुर्केका र पढेका युवाहरूका लागि नेपाल सरकारका कार्यक्रमहरू, नेपाली कला भाषा र संस्कृतिको प्रचार प्रसार र प्रवर्द्धनका विषयमा दोस्रो पुस्ताले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा समेत जिज्ञासा राखेका थिए।
कार्यक्रममा युवाहरूको जिज्ञासालाई स्पष्ट पार्दै काउन्सलर पोखरेलले नेपालको वर्तमान राजनीतिक र आर्थिक अवस्थाका बारेमा चर्चा गरेका थिए।
नेपाल सरकारको अबको पहिलो काम नै नेपाललाई आर्थिक सम्वृद्धिमा पुर्याउनु रहेको बताउँदै त्यस उद्देश्य प्राप्तिका लागि स्वदेश र विदेशमा रहेका सवै नेपाली र शुभचिन्तकको सहयोग र सदभाव आवश्यक पर्ने पोखरेलले बताए।
प्रवासमा जन्मे हुर्केका नेपाली युवाहरूले शिक्षा ग्रहण गरी आफूले सिकेका कुरा विभिन्न तरिका र माध्यमले नेपालको विकासका लागि लगानी गर्न सक्ने वातावरण भइदिए नेपालको आर्थिक सम्वृद्धिमा ठूलो सहयोग पुग्ने धारणा राखेका थिए।
नेपाली कला, भाषा, संस्कार र संस्कृतिको महत्वमाथि प्रकाश पार्दै पोखरेलले आफ्नो परिचय र पहिचानका लागि यो विषय अत्यन्त महत्वपूर्ण रहेको र यसका माध्यमवाट दोस्रो पुस्ताले नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने व्यहोरा उल्लेख गर्दै सवै तह र तप्काले दोस्रो पुस्तालाई प्रेरणा र सहयोग प्रदान गर्नु पर्ने बताए।
एएनयस कनेक्सनका सञ्चालक सुदिप पोखरेल अमेरिकामा जन्मे हुर्केका स्कूल हुँदै कलेजमा पढे लेखेका, रोजगारी गर्दै गरेका नेपाली युवाहरूका दुःख सुखका प्रेरणादायी कथाहरू , उनीहरूको अनुभव र नेपालको विकासका लागि उनीहरूको सहयोग र योजनाका बारेमा दोस्रो भाग आगामी अक्टोवर २९ तारिखका दिनका लागि तय गरिएको जानकारी गराए।