एक निर्दोष व्यक्तिले लुटपाट सम्वन्धि एउटा अपराधका लागि अमेरिकाको कान्सास जेलमा १७ वर्ष बिताउनु पर्यो।
उनले त्यो अपराध गरेका थिएनन्, कुनै अर्कै व्यक्तिले गरेको अपराधको सजाय उनले भोगेका थिए।
सजायको कारण थियो-अपराध गर्ने कसुरवाला व्यक्तिसँग अनुहार मिल्नु।
उनको नाम हो रिचर्ड जोन्स। केन्सास अदालतले जोन्सलाई निर्दोष ठहर गरी १७ वर्षपछि गत साल जेलबाट रिहा गरेको थियो। आफूले नगरेको अपराधमा भुक्तान गरेको १७ वर्षे लामो जेल सजायका लागि क्षतिपूर्तिवापत ११ लाख अमेरिकी डलर राज्यमाथि दाबी गर्दै आधिकारिक रूपमा आफू निर्दोष भएको घोषणाका लागि जोन्सले अदालतमा मुद्दा दायर गरेका छ्न्।
सन् १९९९ मा वालमार्ट पार्किङ लटमा एक महिलालाई लुटेको आरोपमा जोन्सलाई दोषी ठहर गरिएको थियो।
जोन्स एउटा परिबन्दमा परेका थिए। त्यस दिन उनी एउटा जन्मदिनको पार्टीमा थिए। त्यस पार्टीमा उनलाई धेरै मान्छेले देखेका पनि थिए। तर, उनको कर्ममा जेल जानु भन्ने लेखेको रहेछ। कुनै अर्को मान्छेसँग उनको अनुहार, नाम र जिउडाल लगभग मिल्दो देखिएका कारण अपराधको लागि दोषि ठहरार्याइए। अन्ततः अनुहार मिलेकै आधारमा उनी सबैको नजरमा संदिग्ध साबित भए।
घटना यस्तो थियो:
सन् १९९९ मा एउटा मान्छेले केन्सास राज्यको रोयल्यान्ड पार्कस्थित वालमार्टको पार्किङ लटमा एउटी महिलाको ब्याग लुट्ने प्रयास गर्छ। बिना हतियारको त्यस व्यक्तिबाट ती महिलाले आफ्नो ब्याग बचाउँछिन्। तर, उक्त व्यक्तिले उनको फोन लुट्न सफल हुन्छ र त्यहाँबाट बेपत्ता हुन्छ।
पछि आएर घटनाको एक प्रत्यक्षदर्शी ड्राइभरले अपराधीलाई ‘हल्का पातलो स्पेनिक या अफ्रिकी-अमेरिकन मान्छे’ जसले लामो कपाललाई पछाडि बाँधेको 'रिकि' नामक व्यक्ति भएको प्रहरीलाई जानकारी दिए।
त्यसपछि घटनाको प्रत्यक्षदर्शी ड्राइभरलाई प्रहरीले कार्यालयमा लगेर थप जानकारी लियो। छानविनका समय त्यस घटनाका प्रत्यक्षदर्शी ड्राइभरले कान्सासको एक अपार्टमेन्टबाट आफूले रिकिलाई ल्याएको जानकारी प्रहरीलाई दिए र उक्त अपार्टमेन्टसमेत देखाए।
प्रत्यक्षदर्शी ड्राइभरले अपार्टमेन्ट देखाएता पनि छानविनका लागि खटिएका अधिकारीले निवास भित्र कसैसँग सोधपुछ गरेनन्।
तर, घटनाका दिन जोन्स आफ्नी प्रेमिकासँग एउटा जन्मदिनको पार्टीमा थिए, जहाँ धेरैले उनलाई देखेका पनि थिए जुन कुरा पार्टीका सहभागीले समेत बताएका थिए। जोन्सले त्यस पार्टीमा अर्को दिनसम्म बिताएको, सिनेमा हेरेको र सरसफाईमा सहयोग गरेका थिए। उनको प्रमाणले जुरीलाई चित्त बुझाउन सकेन।
अन्ततः प्रत्यक्षदर्शीले दिएको बयान कै आधारलाई मान्यता दिदै रिचर्ड जोन्स बढ्दो लुटपाटको आरोपमा दोषि ठहरिए र ३० वर्षको जेल सजाय सुनाईयो।
जोन्सले अपराध स्वीकारेका थिएनन्। आफू निर्दोष भएको बारम्बार बताउँदै आएका जोन्सले पुनः अदालतमा अपिल गरे तर मुद्दा हारे।
त्यसपछि उनले कन्सास विश्वविद्यालयको ‘प्रोजेक्ट फर इनोसेन्स’ सँग सहकार्य गरी काम गर्ने संस्था- ‘मिडवेस्ट इनोसेन्स प्रोजेक्ट’को बारेमा जानकारी पाए र आफू निर्दोष भएकाले सहयोगको आग्रह गरे।
इनोसेन्स प्रोजेक्टले आफ्नो काम सुरु गर्यो । उक्त प्रोजेक्टको टिमले अन्तमा बास्तविक आरोपित ‘रिकी’ नामक व्यक्तिलाई पत्ता लगायो। ‘रिकी ली आमोस’ नामक त्यस व्यक्तिको अनुहार र जिउडाल रिचर्ड जोन्सको जस्तै देखिन्थ्यो र घटनासँग सम्वन्धित ठेगानामा बसोबास गर्थ्यो ।
प्रोजेक्टले आफ्नो खोजीबाट प्राप्त सबै प्रमाण र तथ्यहरू प्रत्यक्षदर्शीहरु सामुन्ने राख्यो -कसैले पनि जोन्स नै लुटेरा हो भन्न सकेनन्। अन्तमा अदालतको फैसलाबाट जोन्सको जेल यात्राको अन्त भयो।
उनी जुन ८, २०१८ मा जेल मुक्त भए। उक्त अपराध माथिको कानुनी सीमा पारित भएकाले यदि वास्तबिक आरोपी आमोसका विरुद्ध उक्त अपराधमा कुनै मुद्दा थियो भने अब त्यस अपराधमा मुद्दा चलाउन नसकिने समेत अदालतले निर्णय गरेको थियो।
ईनोसेन्स प्रोजेक्टका तर्फबाट अटर्नी एलिस क्रेगले निःशुल्क जोन्सका लागि सहयोग पुर्याउँदै आएका छन्। प्रत्यक्षदर्शीबाट अपराधी पहिचान गरिएको आधारलाई मान्यता दिदै जोन्सलाई दोषि ठहर गरिएको धारणा अटर्नी क्रेगले उल्लेख गरेका छ्न्।
जोन्सको सुनुवाईमा साक्षीहरुलाई मात्र प्रस्तुत गरिएको र अन्य कुनै पनि बिकल्पको प्रयोग नगरीएकोले साक्षीहरुले दिएको जानकारीका आधारलाई मान्यता दिदा रिचर्ड जोन्सलाई दोषि ठहर्याईको थियो ।
यसै घटनाका कारण सन् २०१६ मा क्यान्सास राज्यले दोषि प्रमाणित गर्न प्रत्यक्षदर्शीमार्फत पहिचान गर्ने प्रकृयाका सम्वन्धमा लिखित नीति लागू गर्न एक कानुन पास गर्यो।
जोन्सले आफूलाई निर्दोष घोषणा र ११ लाख अमेरिकि डलर (प्रत्येक वर्षको भुक्तानी कैदको लागि ६५ हजार डलर) का अतिरिक्त, उनको मुद्दासँग सम्बन्धित गिरफ्तारी र सजायका लागि आधिकारिक रुपमा आफू निर्दोष भएको घोषणा, कलेजको ट्यूशन फी को छूट, उनका दुई छोरीहरूलाई शिक्षाको लागि सहायता, स्वास्थ्य हेरविचार सहायता, परामर्श, आफ्नो मुद्दासँग सम्बन्धित सबै जैविक नमूनाहरूको नष्ट र मुद्दाका लागि भएको खर्चको क्षतिपूर्तिको माग गरेका छ्न्।
श्रोत : मिड वेस्ट ईनोसेन्स प्रोजेक्ट