साउथ एशिया पत्रकार संघ (साजा) ले वाशिंगटन डिसीस्थित नेशनल प्रेस क्लवमा शनिबार आयोजित एक कार्यक्रममा एक्सिलेन्स इन जर्नालिजम अन साउथ एसिया अवार्ड २०१८ वितरण गरेको छ।
दक्षिण एसियाबारे लेखिएका विभिन्न सात विधामा साझाले सन् २०१८ का लागि पुरस्कार वितरण गरेको हो। २०१८ को द डानियल पर्ल आउटस्ट्याण्डिङ साजा अवार्ड द वाशिंगटन पोष्टकी रिपोर्टर एनी गोविनले पाइन्। यस्तै आउट स्ट्याण्डिङ साजा डाएस्पोरा इन्टरप्राइज अवार्ड ‘इन्साइड द ग्रोइंग गेष्ट प्रोग्राम’ विषयक पुरस्कारको लागि निखिल स्वामीनाथनलाई दिइएको थियो।
यस्तै आउटस्ट्याण्डिङ साजा डायस्पोरा नन फिक्सन अवार्ड नेहा थिरागी बांग्रीलाई ‘देयर ईज नो वीचेज हेयर, रोड्स एण्ड किंगडम’ नामक पुस्तकको लागि, आउटस्ट्याण्डिङ स्टोरी राईटिङ साजा अवार्ड अनिस गवान्डेलाई, आउटस्ट्याण्डिङ साजा बेस्ट स्टोरी राईटिङ अवार्ड अञ्जली इन्जेटीलाई र आउटस्ट्याण्डिङ साजा साउथ एसिया रिपोर्टिङ अवार्ड पनि अनिस गवान्डेलाई दिइएको थियो।
वाशिंगटन डिसीस्थित नेसनल प्रेस क्लवमा आयोजित उक्त समारोहमा अमेरिकी सञ्चारका वर्तमान समस्या र चुनौती विषयक अन्तरक्रियामा अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को सहभागिता रहेको अध्यक्ष गुणराज लुईटेलले जानकारी गराए।
सीएनएनका प्रमुख संसदीय मामिला रिपोर्टर मनु राजु मुख्य बक्ता रहेको उक्त अन्तरक्रियामा सामाजिक सञ्जालले मिडियामा पारेको प्रत्यक्ष असर, श्रब्यदृष्य सञ्चारको बढ्दो प्रभाव र प्रेसमाथि सरकारी हस्तक्षेपजस्ता विषयमा उपस्थित पत्रकारले गम्भीर प्रश्न उठाएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक दिन बिहान गर्ने ट्वीटले समाचार निर्माताका दैनिक प्राथमिकतानै परिवर्तन हुने गरेको यथार्थता बताउँदै पत्रकारले जस्तोसुकै चुनौतिमा पनि संचारले सन्तुलित हुनुपर्ने विचार ब्यक्त गरे ।
सो पुरस्कार हस्तान्तरण र अन्तरक्रिया कार्यक्रममा अन्तराष्ट्रिय अमेरिका नेपाल पत्रकार संघ (इन्जा) का तर्फबाट अध्यक्ष गुणराज लुइँटेल र कार्यकारी सदस्य विश्व थापाले सहभागीता जनाएका थिए।
प्रेस क्लवका अधिकृत तथा साझाकी अध्यक्ष प्रेरणा ठाकुरदे़ाईले इन्जासँग सहकार्य र समझदारीमा काम गर्न प्रस्ताव राखेको अध्यक्ष लुईटेलले जानकारी दिए।
उनले नेपाली पत्रकारहरुसँग साजाले मिलेर काम गर्न आतुर रहेको र यसका लागि छिट्टै कार्यक्रम तय गरी सहकार्यका लागि सम्झौता गरिने बताइन्।
साजाद्वारा छनोट विभिन्न सात विधामा सफल रिपोर्टिङ गर्ने दक्षिण एसियाली पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो जसमध्ये डानियल पर्ल अवार्डको लागि नेपाली पत्रकार सुगम पोखरेल पनि नोमिनेसनमा परेका थिए। आउट स्ट्यानडिङ आर्ट एण्ड कल्चर साउथ एशियन डायस्पोरा अवार्ड नेपाली पत्रकार अतुल भट्टराईले जितेका थिए।
अवार्ड छनोट समितिकी संयोजक तथा साजा उपाध्यक्ष जैनव इमामले साझा अवार्डमा भाग लिन नेपाली पत्रकारहरुलाई आह्वान गरेका थिए।
साजाले अमेरिकामा रहेका नेपाली पत्रकारहरुको तथ्यांक उपलव्ध गराईदिन समेत ईन्जालाई अनुरोध गरेको छ ।
ईन्जा र साजाविचको सहकार्य दोस्रो भएको र यसअघि ईन्जाले अमेरिकाको पेशागत पत्रकारहरुको संस्था सोसाईटी अफ प्रोफेसनल जर्नालिष्टससंग द्विपक्षीय भाईचारा विकास गरिसकेको ईन्जाका अध्यक्ष गुणराज लुईटेलले जानकारी दिए।