फ्लोरेन्स आँधीका कारण धेरै अमेरिकिहरू विस्थापित भए पनि अमेरिकाको बेरोजगारी दर सेप्टेम्बरमा ४८ वर्ष पछिकै न्यूनस्तरमा झरेको छ।
ब्यूरो अफ लेवरले गत शुक्रबार जारी गरेको मासिक रोजगारी तथ्याङ्क अनुसार सेप्टेम्बरमा अमेरिकाको बेरोजगारीदर घटेर ३ दशमलव ७ प्रतिशत पुगेको छ। जुन डिसेम्बर १९६९ पछिको कम रोजगारी दर हो।
त्यसताका रिचर्ड निक्सन अमेरिकाका राष्ट्रपति थिए।
बढ्दो अर्थव्यवस्थाको सूचकका रूपमा कम बेरोजगारीको दरलाई मानिन्छ। एकातर्फ कम बेरोजगारी एक स्वस्थ अर्थव्यवस्थाको सूचक हो भने अर्कातर्फ कम्पनीका लागि चिन्ताको विषय हो।
बेरोजगारीको दर घट्दा कम्पनीलाई कामदारको अभाव हुने गर्छ।
बढ्दो रोजगारीका कारण साना ब्यवसायमा काम गर्ने कामदारहरू सुविधा र तलब बढी दिने ठूला कम्पनीमा जाने भएकाले यस्तो अवस्थामा रेस्टुरेन्ट, चेन स्टोरहरू बढी मात्रामा प्रभावित हुन्छन्।
यसैको परिणामस्वरुप गत साता अनलाईन स्टोर - अमाजनले कामदारहरुको न्युनतम ज्याला बढाएर १५ डलर प्रतिघन्टा तोकेको छ। वालमार्ट तथा कस्ट्को जस्ता चेन स्टोरहरुले यसअघि नै ज्याला बढाईसकेका छ्न्।
यसले पनि श्रम बजारलाई निरन्तर दवाबमा राखेको देखाउँछ, अन्ततः कम्पनीहरूलाई कामदारहरूको ज्याला तथा सुविधा बढाउन दवाब दिएको छ।
त्यस्तै, औषतप्रति घन्टा ज्याला पूर्वानुमान अनुसार मासिक ० दशमलव ३ प्रतिशत र वार्षिक वृद्धिदर २ दशमलव ८ प्रतिशत रहेको ब्यूरोअफ लेवरले जनाएको छ।