भारतको साबरिमाला मन्दिरमा महिलालाई मन्दिर प्रवेशमा रोक थियो। भारतको सम्मानित सर्वोच्च अदालतले उक्त रोकलाई बिभेद्कारी र लैङिक समानताको विरूद्ध ठहर गर्दै प्रवेश खुला गरिदियो।
यद्यपी लामो समयदेखि यसको आवाज उठ्दै आइरहेको थियो। प्रदर्शन र ‘प्रोटेस्ट’ हुँदै गरेका थिए। सर्वोच्चको फैसलाविरूद्ध पनि प्रदर्शन जारी छ। लोकतन्त्रमा प्रदर्शन र प्रोटेस्टको सांकेतिक अर्थ हुन्छ चाहे त्यो करोडौंले गरेका हुन् या एक जनाले।
तर , जब अन्यायविरूद्ध सडकमा उर्लिएको भीडमाथि गोली चलाइन्छ त्यसको पनि सङ्केत हुन्छ। खतरनाक सङ्केत। खतरा शासक र गोली चलाइएका दुबैलाई हुन्छ। र जीत निहत्थाकै हुन्छ। इतिहास साक्षी छ।
प्रसंग महेन्द्रनगर अर्थात भिमदत नगरपालिका को हो। म बेलिबिस्तार साथ घटना क्रमको रिपोर्टङ गर्न चाहन्नँ। यो प्रयाप्त मात्रामा भईसक्यो। माफ गर्नु होला म ती अबोध बालिकाको नाम पनि लिन चाहन्नँ थिएँ। तर, उनको नाम र शरीर श्रब्य, दृश्य, छापा र जनजिब्रोमा यसरी झुन्डिसक्यो कि, अब उनको नाम नलिनु अत्याचारलाई ढाक्न खोज्नु बराबर भाईसक्यो। अत्याचारलाई बिर्सनु अर्को अत्याचारलाई निम्ता दिनु सरह हो।
मलाई कतिपयले सोधे- बलात्कार दिनहुँ हुन्छन्, निर्मलाको सवालमा यती बिघ्न खैला बैला किन? मैले जवाफ दिइनँ, तर ती प्रश्नकर्ताले बुझ्नुपर्ने कुरा के भने, निर्मला एक गरिब परिवारकी छोरी थिइन्। कमजोर थिइन्, मित्रतामा विश्वाश गर्थिन्। गरीब बाउकी आँखाकी नानी थिइन्। यही सत्यलाई देखेर यो अपराधलाई सजिलै दबाउन सकिन्छ भन्ने दम्भबाट अपराध गरेको देखिन्छ।
यस पछाडिको बिकृत यौन मानसिकताको चर्चा अरू कुनै बेला गरौला। तर, जो सुकैले यो कुकृत्य गरे पनि उसले यो बुझ्न सकेन कि- शक्ती, शक्तीबिहिनसँगनै हुन्छ।
यसैको परिणाम हो, बर्ग, जात, समुदाय केही नभनी मानवसागर महेन्द्रनगर र माइतीघर मन्डलामा उत्रियो। हुनेखाने र पहुँचवालाका लागि मात्र मैनबत्ती जल्ने स्थानमा गरिबकी छोरी मेरी बहिनी निर्मलाको लागि जोडदार स्वर सुनिन थाल्यो।
महेन्द्रनगर ठप्प हुन पुग्यो। आखिर किन महिनौं पुगिसक्दा पनि अपराधिको पहिचान भएको या भनौं गरिएको छैन।
सबै छर्लङ छ-रिक्सावालादेखि राष्ट्रपतिसम्मलाई यस् घटनाको जानकारी छ। यती मात्र होइन, कतैबाट लापरबाही भएमा देशको कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्रीले प्रत्यक्ष हस्तक्षेप गर्न सक्छन्।
प्रधानमन्त्रीले गरे पनि होलान्। तर खै त परिणाम? प्रधानमन्त्री स्वयम् पीडा भोगेका ब्यक्ति हुन्। गरिबी के हो बुझ्छन्। उनी अन्यायको खिलाफ लडेका योद्धा हुन्। निर्मलाको सवालमा उनले कानुन कार्यन्व्यनमा अर्थात ‘ड्यू प्रोसेस्स अफ ल’ पालन भएको सुनिश्चित गर्नुपर्थ्यो।
प्रधानमन्त्रीले नजिर स्थापना गर्न सक्थे। किन चुके उनी? प्रधानमन्त्री भन्दा ठूलो शक्ति अर्को कोही छ र? खैर यो उहाँलाई नै थाहा होला।
नेपाली समाजको बिडम्बना के भने, हरेक बलात्कार, हत्या, छुवाछुतको घटनापछि पीडित र नागरिक समाज ‘डेलिगेसन’ लिएर सरकारका बिभिन्न निकाय धाउनुपर्छ, पर्याप्त कानूनको विद्यमान्ता बाबजुद। आश्वासन लिएर डेलिगेसन फर्कन्छ। अन्त्यमा न्यायको अवसान हुन्छ।
निर्मलाको तस्बिर एक पटक देखेपछि फेरी हेर्न सकेको छैन। मलाई उनको फोटो हेरेपछि समाजप्रती घिन लाग्छ। यो समाज पुरूषभन्दा पनि पुरूषवादी सोँचबाट बनेको छ।
यौन सम्बन्धका लागि पुरूषले पहल गर्नुपर्छ भन्ने हाम्रो हुर्काइ हो। सिक्षाले जागिर खान तयार पार्छ, तर हाम्रो दिमागको फोहोर सफा गर्दैन।
समाजले संविधानभन्दा ठूलो आचार संहिता नारीका लागि तयार पारेको छ। कपडाको साइजले महिलाको चरित्रको मापन गरिन्छ। रात पर्यो कि, एक मिनट अबेर हुँदा, लामो प्रश्नावलीको सामना गर्नुपर्छ महिलाले।
पुरुषका लागि रात उन्मुक्तता र मनमौजी स्वतन्त्रताको बिहानी हुन्छ। यो त भयो समाजको ‘क्यान्भास।’
यस् क्यान्भासमा कानुन पालन गर्ने र गराउने निकाय समाजकै बिस्तारित रूप बन्न पुग्छन्। उनीहरू रक्षक नभई भक्षक बन्न पुग्छन्।
निर्मलाको जस्तो बलत्कार र निर्मम हत्या बिगतमा पनि देखिएका छन्। तर, यसको एउटा डरलाग्दो पाटो छ। यसमा बल्त्कारका सबै हथकन्डा अपनाइएको छ.
पितृसतात्मक नीति, पुरूषको फोहोरी दिमाग, सत्ता, शक्ती र पैसाको उन्माद।
यो बलात्कार र हत्याका साथ नातासम्बन्ध, मित्रता र विश्वाशको पनि हत्या भएको छ।
महिनौं बितीसक्यो निर्मला र उनको परिवारले न्याय पाएको छैन। प्रदर्शनकारी र न्यायप्रेमी जनतालाई ‘भिखारी’ झै व्यवहार गरिएको छ। मनन गर्नुपर्ने के छ भने यो जनता भिखारी होइन, जनताले ठूला ठूला साम्राज्य ढाल्ने सामर्थ्य राख्छन्।
अबको बाटो के त? भन्ने आजको प्रमुख सवाल हो। हामीसँग तीन बिकल्प छन्:
एक, मौन प्रदर्शन जारी राख्ने। मौनताले शक्ति सञ्चय गर्छ। यसले शक्तिशालिलाई नैतिक रूपमा परास्त गर्छ।
दोस्रो, महिला र पुरूषले संयुक्त रूपमा ‘दिमाग भित्रको फोहोर’ सफा गर्न लाग्नुपर्छ। जुन आफ्नै घरबाट थालनी गरिनुपर्छ।
तेस्रो, जे हुँदैछ हुन दिने, अर्थात अन्याय, अत्याचारलाई 'थ्रेश होल्ड’ सम्म पुग्न दिने। जसले एउटा बुनियाँदी क्रान्तिलाई जन्म दिनेछ।
यसको नतिजा- समाज पुनर्निर्माणको बाटोमा अग्रसर हुनेछ। मुल्य मान्यतामा आधारित सभ्यताको निर्माण हुनेछ। तर, यो लामो यात्रा हो।
मैले रोजेको बाटो दोस्रो हो। निर्मला अब न्याय र ‘सोसल ईन्जिनियरिङ’ कि प्रतिक बनिसकेकी छिन्।
निर्मला अर्थात ‘स्वछ मन’ अब ‘दिमाग सफा गर्ने’ आन्दोलन बन्नुपर्छ। यो भन्दा ठूलो सफाइ र वैचारिक क्रान्ति केही हुन सक्दैन।
त्यसैले, मैले न्यायका लागि भीख माग्न छोडिसकेँ। मलाई लाग्छ सबैले भीख माग्न छोड्नुपर्छ।