एनआरएनको पहिलो बिज्ञ सम्मेलन धेरै महत्वपूर्ण रह्यो।
जुन १६ तारिखमा अमेरिकाको सानफ्रान्सिस्को शहरमा नेपाली डायस्पोराको पहिलो बिज्ञ सम्मेलन भएको थियो।
यो बिज्ञ सम्मेलन कस्तो तरिकाबाट सम्पन्न हुने हो भन्ने कुरामा संसारभरी रहेका नेपाली डायस्पोराका साथै नेपाल सरकारकोसमेत चासोको विषय थियो।
एनआरएन आईसीसीले अहिले नेपालमा अक्टोबर १२ देखि १४ सम्म गर्दै गरेको कार्यक्रमको रूपरेखा यो क्यालिफोर्नियाको बिज्ञ सम्मेलनमा तय गरिएका आधारभूत तरीकालाई हेरेर योजना बनाएको थियो।
समग्रमा भन्दा यो बिज्ञ सम्मेलनले एनआरएन आईसीसीको आउँदा दिनमा विदेश बाहिर रहेका नेपाली विज्ञलाई एनआरएनको मञ्चमार्फत नेपालको विकास योजनामा कसरी सहभागी गराउन सकिन्छ भन्ने कुराको मार्ग निर्देशन गरेको छ।
के भएको थियो यो सम्मेलनमा?
नेपाल सरकारका मन्त्रीस्तरीय प्रतिनिधि नेपाली डायस्पोराका बिभिन्न विषयका विज्ञ, विद्यार्थी, अमेरिकन सिक्षाविद, एनआरएनका केन्द्रीय प्रतिनिधि कार्यक्रममा सहभागी थिए।
यो सम्मेलनले नेपालभन्दा बाहिर रहि बिभिन्न बिषयमा शिप र दक्षता हाशिल गरेका नेपाली डायस्पोराका विशेषज्ञलाई एकै ठाउँमा ल्याउन सफल थियो।
नेपाली सोँच र दक्षतालाई नेपालसँग जोड्ने रोडम्याप तयार पारेको थियो। अमेरिका, क्यानाडा, साउथ अमेरिकाका नेपाली डायस्पोरामा रहेका बिज्ञलाई लक्षित गरेर सम्मेलन तयार पारे पनि संसार भरीबाटै बिभिन्न विषयका बिषेशज्ञहरुले कार्यपत्र पेश गरेका थिए।
विदेशमा रहेका नेपाली विषेशज्ञलाई नेपालको पोलिसी क्षेत्र सुधार र परिमार्जन गर्ने सम्बन्धमा, राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने सम्बन्धमा, विश्व विद्यालयमा अनुसन्धानका कार्यक्रमहरू लैजाने र सम्बन्धित विश्वविद्यालयका प्राध्यापकसँग सहकार्य गर्ने, नेपालका विश्वविद्यालयलाई अमेरिका, क्यानाडालगाएतका विश्वविद्यालयसँग समन्वय गर्न भूमिका खेल्न प्रोत्साहन गर्ने जस्ता बिषय सम्मेलनका आकर्षणहरू थिए।
यसका साथै विज्ञान तथा प्रविधि, कृषि, सिक्षा, सहरी विकास, वातावरण, सामाजिक सशक्तिकरण, स्वास्थ्य बिभिन्न रीन्यूएबल ईनर्जीलगायतका विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।
विशेष गरी नेपालसँग सम्बन्धित भएर तयार पारिएका कार्यपत्रलाई महत्व दिइएको थियो।
स्वेतपत्रमा के-के कुराहरू समेटिए?
स्वेत पत्रमा विज्ञ सम्मेलनमा प्रस्तुत कार्यपत्रहरू, सहभागीहरू र प्यानल कमिटिलगाएत विज्ञ बिचको छलफलबाट चार पेजको एक्ज्यूकेटिभ समरी र २५ पेजको विस्तृत स्वेत पेपर तयार पारियो।
नेपाललाई विज्ञान र प्रविधिको क्षेत्रमा स्थापित गर्न नेपाल सरकारलगाएत सम्बन्धित क्षेत्रसँग मिलेर डायस्पोराले काम गर्ने, रिमोट सेन्सिङ प्रविधि र भौगोलिक सूचना केन्द्रको स्थापना गरेर नेपालमा हुने बाढीपहिरोलगाएत प्राकृतिक समस्याको सूचना तुरून्तै जानकारी लिनेलगाएतका विषय स्वेतपत्रमा समावेश छ।
नेपालको वैज्ञानिक अनुसन्धान क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरका वैज्ञानिक परिक्षणको प्रयोगशालासँग सम्बन्ध विस्तार गरिने सम्भावनाको बारेमा साथै बायोब्याङ्कको स्थापना गरी स्वास्थ्य सम्बन्धका विषयमा विशेष अनुसन्धानात्मक योजना बनाउनेजस्ता विषयलाई स्वेतपत्रमा जोड दिइएको छ।
बायो टेक्नोलोजी, बालीनाली उत्पादन गरिसकेपछि कसरी सुरक्षित राख्न सकिन्छ र बजारसम्म वैज्ञानिक तरिकाबाट पुर्याउने प्रविधिको बारे स्वेतपत्रमा समावेश गरिएको छ।
कृषियोग्य जमिनलाई बालिनालीको प्रकारको आधारमा कसरी तयार पार्ने, कृषिमा आधारित उद्योगलाई प्रश्रय दिई नेपालको आर्थिक विकासमा विशेष सहयोग पुर्याउने, नेपालका कृषकको सम्बन्ध अन्तर्ष्ट्रियस्तरका कृषक संगठनसँग विशेष सम्बन्ध बढाउन एनआरएनले भूमिका खेल्नेसहित नेपालका कृषि विश्वविद्यालयमा नेपाली डायस्पोराका कृषि विशेषज्ञले सहयोग पुर्याउने भन्ने बारेमासमेत स्वेतपत्रको कृषि सम्बन्धिको भागमा प्रस्तुत गरिएको छ।
स्वेतपत्रको शिक्षा सम्बन्धी भागमा विद्यालयमा अध्यापन गराउने शिक्षकप्रति राज्यले विशेष सम्मानस्वरुप उनीहरूको पारिश्रमिकप्रति विशेष ध्यान पुर्याउने, विद्यार्थीको ब्यवसायीक विषयमा विशेष पाठ्यक्रमको ब्यवस्था गरेर उनीलाई ब्यवसायीक रूपमा दक्ष बनाउने जस्ता विषयमा विशेष महत्व दिइएको छ।
सबैलाई सिक्षा भन्ने सिद्धान्तमा आधारित नेपालमा सामुदायिक कलेजलाई सरकारी स्तरबाटै प्रोत्साहन गर्ने जस्ता कुराहरु समेटिएका छन् स्वेत पत्रमा।
यसैगरी शहरी विकास सम्बन्धीका योजनाहरु दिर्घकालिन रूपमा रहने गरी बनाउने, नेपाली डायस्पोराका विशेषज्ञलाई नेपालको नयाँ सहरीकरणको योजनामा सहभागी बनाउने कुराहरु समेत समेटिएको छ।
नेपालको वायु प्रदुषण कम गर्न बिभिन्न उपायहरू जस्तै प्रत्येक सहरमा गाडीको कडाईका साथ् जाँचबुझ गर्नुपर्ने, उद्योगबाट निस्कने प्रदुषणयुक्त हावालाई बिशेष फिल्टर जडान गरी हावामा प्रदुषण कम गर्ने टेक्नोलोजीको उपयोग गरिने भन्ने बारेमालगाएत नेपालको आर्थिक क्षेत्रमा प्रभाव पार्ने टुरिजम क्षेत्रलाई बिशेष जोड दिएर एनआरएनका सदस्यहरु आफ्नो देशको भ्रमणप्रति बढी ध्यान दिनुपर्ने र नेपालको प्राकृतिक सुन्दरतालाई संसार सामु प्रचार प्रसारमा बिशेष जोड पुर्याउने खालका कुराहरुलाई स्वेतपत्रमा ध्यान दिइएको छ।
प्रधान मन्त्रीलाई स्वेतपत्र हस्तान्तरण
सेप्टेम्बर २९ तारिखमा संयुक्त राष्ट्रसंघको कार्यक्रममा न्युयोर्क आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहबीच स्वेतपत्र हस्तान्तरण गरिएको थियो।
सो समयमा प्रधानमन्त्री ओलीले एनआरएनले खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्ने र देश विकासको निम्ति एनआरएनले यसरी आफ्नै तरीकाबाट योजना गरेर इनिशियशन लिएकोप्रति नेपाल सरकारको तर्फबाट खुसी व्यक्त गरेका थिए।
एनआरएनएले यति धेरै जनशक्ति र समय लगाएर तयार पारिएको स्वेतपत्र नेपाल सरकारले बिशेष महत्त्व दिने भन्ने कुरामा विश्वस्त भएको र आउँदा दिनमा कार्यान्वयन पक्षमासमेत के भईरहेको छ भनेर सरकारसँग सहकार्य गरिरहने कुरा जनाएको छ।
डा. अर्याल स्वेतपत्र तयारी समितिका संयोजक हुन् भने डा. पण्डित सलाहाकार समितिका सदस्य हुन्।