सिकाइको यात्रा अचम्मको हुँदो रै’छ। कहिले सुरु भयो, कहिले सकिने हो थाहै नहुने।
सुरुवात त जन्मिँदै, आमाको दुध चुस्दै गर्दा भयो होला। त्यसपछि त सिकेको सिक्यै। बालखकालमै बढी सिकियो कि!
एकदिन कालो पाइपमा बाँसको ठेडी कोचेर बनाएको पांग्रालाई लौराले धपाउँदै, कुदाउँदै थिएँ। बुढी औँला ढुङ्गामा बजारियो। औँलाबाट रगत,
आँखाबाट आँसु र मुखबाट डाँको एक्कैचोटि छुट्यो, ‘मरँे नि आमा!’
पछि पछि गाउँका दाइहरु आउँदै रै’छन्। ‘यत्ति छुस्स ठोक्किँदा पनि के रोको, केटीजस्तो पिन्चे।’
म रुन त छोडिन होला, तर त्यो दिन सिकेँ, ‘केटा जब्बर, केटी पिन्चे।’
अर्कोदिन, आमालाई कुरा लगाइदिएँ, ‘दाइले काँक्रो चो¥यो, कसैलाई नभन्नु भनेर मलाई पनि खान दियो।’ आमा मज्जाले हाँस्नुभयो। दाइचाहिँ रिसाए र एकान्तमा भने “केटीजस्ता,े मनमा कुरा अडाउन नसक्ने, तेरो रुद्रघण्टी छैन” मैले त्यही नयाँ कुरा सिके। कति कति स्रोतबाट सिकिरहे। केटीमान्छेले भाडा पकाउने, भाडा माझ्ने हो, धेरै बोल्ने होइन आदि आदि।
एक दिन मोजाको बलको पछिपछि दौडिँदै थिए। बाटोमा आँपको रुखमुनि बुढी बज्यैै भेटिइन्, आँप चुस्तै गरेकी।
यी बज्यैको कथा अनौठो छ। गाउँभरि डुल्ने बज्यै कहिले कसको काम सघाउने उतै खाने, सुत्ने, केही पक्का ठेगान नभएजस्ती। भगवानको फोटोमा हुने मुद्राजस्तो चोरी औँला र बुढीऔँलामा चुरोट च्यापेर फुइफुइ धुवाँ उडाउँदै हिँड्ने ‘हावा’ बज्यै। मनमा लागेका कुरा फ्याट्ट भन्न सक्ने ‘हक्की’ बज्यै। चाउरी नै चाउरी, यस्तो लाग्थ्यो समयले सम्झनाका पत्र पत्र पट्याएर राखेको थियो उनको अनुहारभरि। बोल्दा गहिरो गुफाबाट निस्केजस्तो आवाजमा उनी भन्थिन्, “बाबु हाम्रो पालामा...।’ लाग्थ्यो, उनीसँग हरेक प्रसंगका लागि घटनाहरू छन्, आफ्नो चाउरीको तह तह पल्टाएर हामी केटाकेटीहरूको प्रश्न जवाफ दिइरहन्थिन्। वर्खा लागेदेखि दशैँतिहारसम्म उनी अलि व्यस्त हुन्थिन्। बाबुआमा खेतमा हुँदा, गाउँका केटाकेटी स्याहार्ने जिम्मा उनको हुन्थ्यो। हामी अलि ठूलाहरू उनको वरिपरि झुम्मिरहन्थ्यौं, उनका अनौठो कुरा सुन्न। रोपाइँको रन्को, वेँसीमा निकै रमाइलो हुन्थ्यो। पाकेर लटरम्म। फाँटभरि रोपाइँ भइरहेको, गोरुहरू हिलाम्मे छोडिएको र सबैको अनुहारको उत्साहले फाँट नै जुरुक्क उचालिन्थ्यो।
आँपहरू पाकेर लटरम्म हुन्थे। सिंदुरे आँप, सिन्दूरे आँप, बम्बै आँप आदि आदि। ती सबै आँपहरूको भीडमा अलि छुट्टै, अलिक ढुङ्यान जस्तोमा मज्जाले नहुर्केजस्तो, स–साना फल लाग्ने आँप थियो, “बुहारी आँप।” बज्यै त्यही आँप चुस्तै थिइन्।
मैले मोजाले बनाएको फुटबल लात्ताले हान्दाहान्दै टक्क अडिएर सोधेँ, “बज्यै, यसलाई बुहारी आँप किन भनेको?” बज्यैले लामो सास तानेर भनिन्, “खै बाबु, ठ्याक्कै त थाहा छैन, हामीले जानेदेखि यसलाई यही भनेको सुनेको छु। यो आँप यो ठाउँको सबैभन्दा सानो र नमीठो आँप हो। बुहारीलाई मीठो, मसिनो नदिनु भनेर होला कि।”
म त्यसपछि मेरो भकुण्डोको पछि दौडे हुँला, तर अहिले सम्झिन्छु। बज्यैको उत्तर बुहारी आँप जस्तै नमीठो तर सत्यको नजीक थियो।
हरेक युगलाई कागजजस्तो खातैखात चाङ मिलाएर राख्न मिल्ने भए, मानव सभ्यताको हरेक कालखण्डमा बुहारी आँपहरू ठिङ्ग उभिएरहेका भेटिन्थे होला। समयको गतिशीलता सँगै तिनीहरूको स्वरूपमा भिन्नता अवश्य छ, तर तिनीहरू सधैँ छन् हरेक युगमा। तिनीहरूको विस्तृति हाम्रो जीवनको अनेक पक्षमा सजिलै देख्न पाइन्छ। अत्यन्तै सुक्ष्म र मीहिन छ यो विस्तार, हाम्रो भाषामा, कतिपय ठाउँका नामहरूमा, हाम्रा उखान टुक्काहरूमा र सबैभन्दा महत्वपूर्ण हाम्रो व्यक्तिगत र सामाजिक व्यवहारहरूमा। हरेक युगको सत्ताले भन्छ, हामी पहिलेजस्तो होइनौं। हाम्रो शासनमा सबै ठीक छ र अतिशय सुन्दर पनि, अब योभन्दा पर पुग्ने बाटो छैन। यथास्थितिको रक्षा हरेक सत्ताको चरित्र हो र पिरामीड यसको स्वरूप। बाहिरबाट झट्ट हेर्दा पिरामीडको टुप्पोमा राजनैतिक सत्ता देखिए पनि त्यो सत्ताको चौडा आधार समाजको हरेक क्षेत्रमा, परिवार र व्यक्तिगत जीवनमा फैलिएका हुन्छन्। यो सत्ताको आधार दैनिक जीवनमा, संस्कृति र परम्परामा नजानिँदो गरी बुनिएको छ। हाम्रो समाजको राजनैतिक सत्ता बेला बखत परिवर्तन भइरहे पनि सत्ताको बाँकी अंग सदियौँदेखि उस्तै र उही छ। यही सामाजिक सत्ताले हरेक युगमा बुहारी आँपहरू रोपिरहेको र त्यसको संरक्षण गरिरहेको हुन्छ।
सामाजिक सत्ताको तन्तुले एउटा सानो भाइलाई ‘दिदी तिम्रो रक्षाको लागि म छु नि’ भन्न सिकाउँछ। यो छोरी मान्छेले गर्न नसक्ने काम हो भन्न सिकाउँछ। तिमी नारी हौ र तिम्रो जीवनको उडान र सीमाहरूको विस्तार यति मात्रै हो भनेर स्वीकार गर्न सिकाउँछ। यही छलपूर्ण संरचना अन्तर्गत निर्लज्जतापूर्वक हामी भनिरहन्छौं, “या देवी सर्वभुतेषुः शक्तीरूपेण संस्थीता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।”
दुर्गा सप्तसतिको यो मन्त्र पढ्न सजिलो छ, तर दैनिक÷सामाजिक जीवनमा यसको सम्मान नहुँदासम्म यो एकाङ्गी र कपटपूर्ण लाग्दछ।
सामाजिक विकासका सुचकांकहरूमा महिलाहरू पछाडि परेको देखेर शासनको कमजोरी औँल्याउन सजिलो छ, तर हरेक घरभित्र छोरीहरू अरूको घर जाने जात भन्दै गरिने फरक व्यवहार परिवर्तन गर्नु कठिन। हरेक युगमा बुहारी आँपको जराहरूलाई यी र यस्तै व्यवहारहरूले जोगाइरहेको छ।
यस्तो लाग्छ, सामाजिक सञ्जालहरू, पत्रपत्रिकाहरू महिलाविरुद्धको हिंसाका खबरले भरिएका छन्। तर यो हिंसा आजको मात्र कथा भने अवश्य होइन। स्त्रीजातिले आपूm हुनुकै कारणले भोग्ने पीडा, अपमानको गाथा धेरै लामो र पुरानो छ।
सम्पूर्ण निष्ठा र भक्तिपूर्वक नवदुर्गाको पूजा गरिरहँदा हाम्रो दैनिक, सामाजिक र राष्ट्रिय जीवनमा महिलाहरूमाथि गरिने व्यवहारमा बुहारी आँपहरू प्रश्नवाचक चिन्ह बोकेर उभिएका छन्। यी प्रश्नहरूको उत्तर कानुन परिवर्तनमा मात्र छैन, हामी सबैको घर र व्यक्तिगत जीवनसम्म फैलिएको छ।
फेरि उनै बज्यैकोे चाउरीको अर्को मूजा।
दशैंको मुखमा श्राद्ध गरिरहँदा मैले सोधेको थिएँ।
“यो के गरेको बज्यैै?”
“सोह्र श्राद्ध, आफ्ना बाउ, बाजे स्वर्गमा भोकै पर्लान् भनेर पिण्ड पानी दिएको।”
“बाहरूलाई मात्र, आमाहरूलाई खान पर्दैन?”, मेरो स्वभाविक प्रश्न।
“खोइ, आमाहरूको छुट्टै सोह्र श्राद्धको चलन छैन बाबै”, लामो सास तानेर उनले भनिन्।
“बाँचुञ्जेल त फरक गरे गरे, मरेपछि पनि कति हेपेका। आमाहरूको सोह्रश्राद्ध हुँदैन, मरे पछि साँच्चिकै पिण्ड खान मिल्ने भए, आमाहरु दशैंमा भोकै बस्नेछन्।”
मसँग त्यत्रो ठूलो प्रश्नको जवाफ न त्यतिबेला थियो न अहिले छ। दशैँभरि पढिने दुर्गा सप्तसतिको श्लोक सम्झिन्छु, “कुपुत्रो जायेत क्वचिदपी कुमाता नभवती” (सन्तान कुपुत्र हुनसक्छ तर आमा कुमाता हुँदिनन्) बज्यैै सबै कुरा देखेर सहेर पनि जीवनको स्रोत त तिमीबाट बगेकै छ तर घर–घरमा, समुदायमा, मुलुकमा डाडूपन्यू बोक्नेहरू सुपुत्र हुन नसकेको चाहिँ पक्कै हो।