मेरो शहरमा कुनै समय प्रेम वर्जित थियो। त्यहिँ, निदाउन खोज्नेहरुका विरुद्ध अनेक हल्लाहरु पनि जगेडा थिए। घरमाथिको दोबाटोमा पुगेर जब केहि हल्लाहरु बाँडिन्थे, म ‘इयरफोन’ को आवाज विस्तारै घटाउँथेँ। अँध्यारो आकाशका पिलिक पिलिक ताराहरुसँगै ‘किशोर कुमार’ को आवाज नाचिरहेको हुन्थ्यो। प्रेमका संवादहरु मध्यरातपछि अलि चर्का भएका हुन्थे। फेरी अचानक कहिँ रहलपहल हल्लाहरु वरपरका घरहरुमा ठोक्किएर मेरै अगाडि आइपुगेर गिज्याए झैँ लाग्थ्यो। मैले ‘बाबा......’ भन्दा ‘ह्म्म्म्......’ भनेको सुनिरहन मन हुन्थ्यो। नसुन्न खोजेका केहि हल्ला अनि नहुन चाहेको एउटा अस्तित्वले मलाई कतै प...र जान झक्झक्याइरहन्थ्यो। अहिले यतिखेरै लेख्न मन लाग्यो एउटा चिठ्ठी, एक्लिन खोज्नेहरुका नाममा।
...
“कस्ती एकलकाँटे होली ! समाज, घर, परिवार, इष्टमित्र कोहि नचाहिने।”
“कस्तो एकलकाँटे होला ! समाज, घर, परिवार, इष्टमित्र कोहि नचाहिने।”
“कस्ता एकलकाँटे होलान् ! समाज, घर, परिवार, इष्टमित्र कोहि नचाहिने।” यस्तो सुन्नेहरु धेरै छन् र ती धेरैमध्ये कोहि यस्ता कुरा मान्नेहरु छन् अनि नमान्नेहरु पनि छन्। यसो भन्नुमा लिंगको विभेद छैन र कुनै एक व्यक्तिलाई भनेकै कुराले एकभन्दा बढि व्यक्तिहरुमा पनि उहि असर छोड्न सक्छ। मेरो शहरका यस्ता एकलकाँटेहरुलाई समाजले आफूखुशी ‘डायग्नोस’ गरिदिन्थ्यो र चलाइदिन्थ्यो परम्पराका ‘डेट एक्स्पायर्ड’ औषधीहरु।
मलाई बाबाजी बासुको खुब याद आउँछ यस्तैबेलामा। ऊ आफूलाई खोज्न हिँड्यो या अरु केहि खोज्न हिँड्यो, त्यो मैले अनुमान मात्रै गर्ने कुरा हो। उसको सत्यको नजिक म पुग्दिनँ तर कुनैबेला सोध्न मन छ “खोज्नै हिँडेको थिइस् भने केके भेटिस् साथी?” र यसरी सोध्न मन छ कि, सोधिसक्दा उसलाई पनि लागोस् मैले साँच्चै जान्न चाहेरै सोधेको हो, अरुले “कस्तो एकलकाँटे होला!” भनेकै ‘टोन’ मा गुनासो गरेको हैन र गिज्याउन या उक्साउन सोधेको हैन। हामी प्रश्न सोध्न जान्दैनौँ। प्रश्न सोधे पनि त्यसको ‘टोन’ सधैँ एउटै हुँदैन र हरेक ‘टोन’ मा फरक संवेदनाका सम्भावना हुन्छन् भन्ने कुरा वास्ता गर्दैनौँ।
मैले उसलाई धेरैपछि भेटेको थिएँ। पाटन दरबार स्क्वायरमा ‘नेपथ्य’ को ‘कन्सर्ट’ थियो। ‘नेपथ्य’ का ‘कन्सर्ट’ हरु उसले सकभर छुटाउँदैन भन्ने मलाई थाहा थियो। केहि वर्ष पहिला जोरपाटीमा ‘कन्सर्ट’ हुँदापनि हामी गएकै थियौँ। तर ऊ पहिलाजस्तो अल्लारे थिएन, केहि खोजी गर्ने मान्छेको अनुहारमा हुनेजस्तै उज्यालो थियो उसको अनुहारमा। त्यतिखेर मलाई एउटै कुरा लागेको थियो, “मेरो साथी पहिलाजस्तो अनौपचारिक रहेन।” म समुना जीसँगै थिएँ उसलाई पाटनमा भेट्दा। पहिलाको ऊ हुन्थ्यो भने ऊ आफैँले हाँसी हाँसी हामीलाई सोध्थ्यो होला, “टन्नै भइसक्यो तिमीहरुको लभ परेको?” हामीले केहि भन्नु अगाडि नै अघिभन्दा अलि बढि हाँसेर अर्को प्रश्न फालिदिन्थ्यो होला, “बाबुराम सरलाई थाहा छ त?” तर त्यसो भएन। ऊ र म स्कूल पढ्दा बा हाम्रो प्रिन्सिपल हुनुहुन्थ्यो। अमेरिकाबाट फर्किनुअघि उसले मलाई भनेको थियो, “मलाई बाबुराम सरसँग कुरा गर्न मन छ। मेरो दाइको जेठान भनेर पनि हैन, मेरो साथीको ड्याड भनेर पनि हैन, मेरो प्रिन्सिपल सर भनेर कुरा गर्न मन छ। मलाई उहाँको नम्बर दे।” इन्जिनियरिङ्बाट अध्यात्ममा उसको ‘सिफ्टिङ्’ कसरी भयो, त्यो मलाई अझैपनि राम्ररी थाहा छैन। बीचमा कुनैबेला मैले सोध्नपनि खोजिनँ। मैले उसलाई सधैँ अरुले गरेको ‘जजमेन्ट’ को माध्यमबाट हेरेको थिएँ। त्यो एउटा कारण हो र अर्को कारण मेरो आफ्नो ज्ञानको सिमितता पनि हो। मेरो आफ्नो ‘लिमिटेसन’ ले मलाई ऊसित उसको लेभलमा पुगेर गफ गर्ने सहुलियत दिएन।
‘कन्सर्ट’ बाट फर्किएर म ऊसँगै घर गएँ। दिदी भिनाजुले त्यहिँ बस्नु भन्नुभयो, म बसेँ तर मलाई ऊसँगको अनौठो दुरी महशुश हुन थालिसकेको थियो। पहिलाजस्तो जेपनि गफ गर्ने कुरा थिएन, न चेस खेल्यौँ। चेस खेल्न थालेको भए म हार्थेँ अनि भिनाजुलाई भनेजस्तै भन्दिन्थेँ, “मेरो बुद्धि त छ तर चेस खेल्दा बुद्धि लाउन मन लाग्दैन के।” हाँसो ठट्टा चल्दाखेरी उसले “अलि बौद्धिक स्तरको कुरा गरौँ न” भन्थ्यो। त्यो दिन एउटा बिन्दुमा पुगेर केहि मौन र केहि असमञ्जसहरु हराए अनि उसले साँच्चैको बौद्धिक कुरा गर्यो, “कुनैबेला तँ तेरो फिल्डको ‘टप्’ मा पुग्, म मेरो फिल्डको ‘टप्’ मा पुग्छु, अनि त्यतिबेला गफ गर्न मजा आउँछ।” ‘टप्’ को भ्रम या ‘टप्’ मा पुग्ने भन्ने भ्रम आज ममा छैन, मैले अचेल त्यसरी सामान्यीकरण गर्न छोडेको छु। कहिँ पुगेँ होला, कहिँ पुगिनँ होला, तर अहिले यतिखेर जे छु, यहि हुनुमै एउटा आग्रह यसरी आइदियो, “ल गरौँ एउटा लामो संवाद।”
...
‘मान्छेसँग धेरै घुलमिल हुने’ र ‘धेरै मान्छेसँग घुल्मिल हुने’ – यो शब्दजाल र शब्दजालमा धमिलिने मेरो बिम्ब। कोहिबेला फेरी कत्तिपनि ‘कम्युनिकेट’ नै नगरौँजस्तो, कत्तिपनि ‘इन्टरयाक्ट’ नै नगरौँजस्तो हुन्छ। कुरा गर्दा गर्दै कुनबेला कोहि मान्छे अलि बढि ‘पर्सनल’ भइदिन्छ। एउटा रेखा कोरिराख्न मन लाग्छ र ‘भर्बल्ली’/‘नन्भर्बल्ली’ संकेत छोड्दिइराख्न मन लाग्छ, रेखा कटेर यता नआउनु। “10 ways to know the toxic people around you and get rid of them” भन्ने पपुलिस्ट आर्टिकलहरुका आधारमा मान्छेले आफ्नो जिन्दगीका स–साना चोरबाटाहरु बनाउँदै फुत्किन्छन् भीड्देखि? ‘ह्युमन इन्टरयाक्सन’ भनेको एउटा ‘डबल बाइन्ड’ अवस्था हो जसलाई जसरी अथ्र्याएपनि हुन्छ। यो ‘टर्म’ ‘स्किजोफ्रेनिया’ का ‘पेसेन्ट’ हरुको अध्ययनको सन्दर्भमा प्रयोग भएको देखेको थिएँ मैले एउटा ‘एकेडेमिक पेपर’ मा। केहि गर्दापनि र नगर्दापनि नतिजा उत्तिकै आफ्नो प्रतिकुल हुने र त्यसैले निम्त्याउने अल्मल् अलि धेरै फैलिने हुँदोरैछ ‘स्किजोफ्रेनिया’ का ‘पेसेन्ट’ हरुमा। तर यो ‘डबल बाइन्ड’ लाई ‘मेडिकल्ली’ नहेरेर सामाजिक अर्थमा हेरौँ न एकफेर, उत्तिकै अर्थपूर्ण देख्छु म त।
हरेक व्यक्तिको आफ्नो ‘प्राइभेट स्पेस’ हुन्छ भन्ने कुरा सबैले नबुझ्ने रैछन्। हाम्रो सामाजिक संरचनामा ‘प्राइभेट स्पेस’ लाई ‘अलग्गै बस्ने’ अथवा ‘कसैसँग सम्बन्धित हुन नखोज्ने’ भन्ने बिल्कुलै फरक सन्दर्भमा लगेर जोडियो। “पढिराख्नुभा रैछ, म त यतिखेर व्यस्त हुनुहुन्छ कि जस्तो लाग्याथ्यो।” यसरी कसैको “प्राइभेट स्पेस” मा हामी जानी नजानी घुसिदियौँ र उनीहरुका क्रियाकलापलाई असम्मान गरिदियौँ। काम गर्नु या व्यस्त हुनु भनेको केहि निश्चित जागिर या नोकरी हो भन्ने ‘लिमिटेसन’ ले आफूलाई बाँधिदियौँ। मान्छेहरु योग र योगीका कुरा गर्छन्, ‘सद्गुरु’, ‘रमण महर्षी’ र अरु कति आध्यात्मिक गुरुहरुका कुरा गर्छन्। उनीहरुका प्रवचन सुनेर दंग पर्छन्, सत्संग भन्छन्। मेरो साथी तिनै गुरुहरुले जस्तै ज्ञान पाउँछु र त्यो ज्ञान बाँढ्छु भनेर अलिकति एक्लिन खोज्यो। सहि गर्यो, गलत गर्यो, त्यस्तो लेखाजोखा गरेर अन्त्यहीन् बहसमा अल्मलिनु छैन मलाई तर उसले एउटा दृश्य दियो। एउटा संवाद अझै उधारो छ भन्ने कुराले मेरो ज्ञानको क्षितिज फराकिलो पार्न सघाएको छ। यो २–३ दिनमा फेसबुकमा २–३ फेरै झुल्किएको देखेको छु। उसको अनुहारमा महत्वाकांक्षा र लहड हैन दृढता देखेको छु आजपनि।
...
अचेल ‘किशोर कुमार’ को गीत सुनेर आकाशका पिलिक पिलिक ताराहरु हेर्दिनँ। हल्लाहरु त अझैपनि छन् तर ती पहिलाजस्तो अदृश्य छैनन्। सेप्टेम्बरका अँध्यारा बिहानहरुमा रेलको आवाजसँगै दौडिने हावा अनि हावाको बेगमा ताल मिलाएर दौडिने पहेँला पातहरु– गुलाबको एउटा पत्र, पिपलको हरियो पात र प्रेमिल बनाइदिने ‘म्यापल लिफ’– यस्तो कोलाजमा म धेरैजना एकलकाँटेहरुको संयुक्त तस्बिर देख्थेँ। यो संसारमा भिड्भित्रै एक्लो हुन खोज्नेहरु छन्, जोडिने चाहना सबैभन्दा धेरै तिनैलाई छ। एक्लिन खोज्नेहरुका नाममा एउटा चिठ्ठी यतिखेरै लेख्न मन लाग्यो र दिन मन लाग्यो भीडको ठेगाना।