अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले विश्वभरी फैलिएका नेपाली पत्रकारहरूलाई समेटी पत्रकारिताका विषयहरुको उठान, सामाजिक महत्व र चासो, वहस र निराकरणको शुरुवात गर्ने सिलसिलामा पहिलो ईपोसोडका रूपमा ‘ईन्जा नेटवर्किंङ’ कार्यक्रमको शुरूवात गरेको छ।
यसै प्रयास अनुरूप नेपालबाट आएकी सूचना आयोगकी आयुक्त तथा सक्रिय पत्रकार यसोदा तिम्सिनासँग भर्जिनियाको स्टेरलिङमा एक अन्तरक्रिया मार्फत “ईन्जा नेटवर्किंग” कार्यक्रमको विधिवत रूपमा सम्पन्न गरेको छ।
अमेरिकाको भर्जिनिया राज्यमा आयोजना भएको अन्तरक्रियामा नेपालका राम्रा पक्षलाई सञ्चारमाध्यमबाट कसरी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने तथा कानुनमा उल्लेख गरिएका सुचनाको हक अधिकारलाई कसरी व्यवहारमा लागू गर्ने भन्ने बारेमा छलफल भएको थियो।
त्यस्तै, नेपालमा रहेका पत्रकारहरूको क्षमता अभिव्रिद्दिका लागि अन्तर्राष्ट्रियस्तरको तालिमको आयोजना तथा प्रवासमा रहेका नेपाली पत्रकारहरूसँग अनुभवको साटासाट गर्न ईन्जाको भूमिका महत्वपूर्ण हुने र यसका लागि आफ्नो तर्फवाट सक्दो सहयोग रहने आयुक्त तिमिल्सिनाले व्यक्त गरिन्।
ईन्जा नेटवर्किङ कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष गुणराज लुईटेलले गरेका थिए। सूचनाको हक सम्वन्धि उपस्थित पत्रकारहरूले जिज्ञासाहरू राखेका थिए।