अमेरिकाका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले अमेरिकी जनप्रतिनिधिहरूसँग स्थानीय नेपाली समुदायका महत्त्वपूर्ण सरोकारहरूका बारेमा एक छलफल कार्यक्रमको आयोजना गरेको छ।
नेजाद्वारा शुक्रवार न्यूयोर्कमा आयोजित "अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती" विषयक अन्तरक्रियामा सहभागी अमेरिकी सरकारका विभिन्न निकायका जनप्रतिनिधिहरूले आप्रवासीहरूका लागि अवसरको देश अमेरिकामा नेपाली समुदायले समेत त्यसबाट लाभ लिन सक्नेमा विश्वास व्यक्त गरेका छन् ।
नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेकोमा त्यसको प्रशंसा गर्दै अमेरिकी जनप्रतिनिधिहरूले आगामी दिनहरूमा हाल सम्मका उपलब्धिको रक्षा गर्दै नयाँ तरिकाले अमेरिकाको नेपाली समुदाय हिँड्नु पर्ने सुझाव दिएका छन्।
नेजाले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलका सदस्य रोरी ल्यान्सम्यानले अन्य आप्रवासीहरूको तुलनामा नेपाली समुदायले छोटो समयमै लोभलाग्दो प्रगति गरेको भन्दै प्रशंसा गरेको जनाएको छ । उनले नेपाली समुदायले सदैव इमान्दारिता र लगनशीलताको परिचय बनाएको बताउँदै त्यसलाई जोगाएर भविष्यमा धेरै उपलब्धि हासिल गर्न सक्ने दिशामा नेपाली समुदाय अगाडि बढ्नेमा आफू विश्वस्त रहेको जनाए ।
अर्का काउन्सिल सदस्य कोष्टा कन्सटेन्टिनीडेसले अमेरिका सबैको निम्ति अवसरको भूमि भएको बताउँदै एक आप्रवासीको रूपमा आफ्ना पुर्खाहरूले गरेको सङ्घर्ष सुनाउँदै समय लागे पनि अमेरिकामा सबैले अवसरको उपयोग गर्न सक्ने बताएको विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले नेपाली समुदायले अमेरिकन मूलधारमा आफ्नो पहिचान स्थापित गर्न सङ्घर्ष गरिरहेको उल्लेख गर्दै फरक भाषा र संस्कृतिको कारण धेरै चुनौती व्यहोर्नु परेको बताए । क्विन्स कम्युनिटी बोर्ड सदस्य तथा हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवालीले स्थानीय राजनीतिक गतिविधि र सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागी नभएसम्म समुदायका सरोकारहरू सम्बन्धित निकायमा पुग्नै नसक्ने बताए ।
अर्का कम्युनीटि बोर्ड सदस्य नवराज केसीले सामुदायिक एकता नै अवसरको पहिलो सर्त भएको बताए । कार्यक्रममा अर्का सहभागी, बङ्गाली समुदायका अगुवा जोय चौधरीले ट्याक्सी चालक देखी अमेरिकन आर्मी भेट्रान्ससम्मको आफ्नो कथा सुनाएका थिए । नेपाल विद्यार्थी सङ्घ अमेरिकाका अध्यक्ष प्रभात सापकोटाले नेपाली विद्यार्थीहरूले भोग्नु परेका विविध समस्याहरूका बारे प्रकाश पारेका थिए । सो अवसरमा गैर आवासीय नेपाली सङ्घ
-एनआरएनए न्यूयोर्क च्याप्टर सभापति रामहरि अधिकारीले नेपाली मौलिक पहिचान स्थापित गर्न एनआएनएले गरेका विविध प्रयासका बारेमा जानकारी दिएका थिए ।
नेजाका महासचिव किरण मरहठ्ठाले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाहरूको सिटी काउन्सिल सदस्य रोरी र कोष्टाले सहभागीहरूले जवाफ दिएको नेजाका सचिव सुरज भण्डारीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ।