अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपाली मूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित भएका छन्।
बाल्टिमोर काउन्टीको मेरिल्याण्ड डिष्ट्रिक्ट ८ बाट विधायकसभा (स्टेट डेलिगेटस) मा उनले जीत हासिल गरेका हुन्। अमेरिकाको राजनीतिक तहमा रहेका नेपाली मूलका व्यक्तिमध्ये भण्डारी नै सबभन्दा उच्च तहमा पुगेका हुन्।
तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हुँदै उनी निर्वाचित भएका हुन्। उनले २० हजारभन्दा बढी मत ल्याएका छन्।
भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बनेका थिए। गत जुनमा उनी डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए।
नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका आएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक थिए। अमेरिकामा पनि प्राध्यापन पेशामै आवद्ध छन्।
एकचालिस वर्षे भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिन्छन्।
गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उनी दोस्रो भएर निर्वाचित भएका थिए। यसअघि सन् २०१४ मा अमेरिकामा पहिलोपटक उम्मेदवार बनेका भण्डारी त्यतिबेला भने पराजित भएका थिए।
अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ का दिन निर्वाचन हुने गर्छ। दुई वर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो।
अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सयमध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र स्टेट डेलिगेटस (विधायकसभा)का साथै स्थानीय तहको निर्वाचन भएको हो।