केही पुराना कथा, केही पढ्न बाँकी पुस्तक, केही शुभेच्छा, अनि केही विदाईका हातहरु– ती सबै छुटे, यात्रामा।
अहिलेसम्म नव्यहोरेको हावाको बेगबाट आफूलाई बचाउँदै यहाँका चीसा सडकहरुमा हिँड्दाखेरी मलाई कहिलेकाहिँ आफ्नो न्यानो बिछ्यौना याद आउँछ। अझ कपास चुटेर बनाएका ठूल्ठूला बाक्ला सिरकहरु याद आउँछन्। यहाँका सडकहरु निकै परसम्म फैलिएका छन्। आँखाले देख्दाखेरी सडकको एक छेउ क्षितिजमा जोडिएको देखिन्छ।
घाम अस्ताउँदाको सिन्दुरे आकाश, पात झरेर नांगै भएका रुखहरु, ७५/८० माइल प्रतिघण्टाको गतिमा बत्तिएका गाडीहरुको स्याईं–स्याईं– यो ठाउँमा अनौठो शुन्यता छ। घरबाहिर मान्छेहरु भेटिँदैनन्। हिजो अलिकति घाम लागेको थियो। किचनको झ्यालबाहिर स्कूल जान हिँडेका ३ जना फुच्चेहरु देखिएका थिए। एक्कैछिनअघि बाटो पारीको घरको मान्छे आफ्नो कुकुरलाई दिसा गराउँदै थियो।
सडकको दुवै छेउमा लस्करै पार्क गरेर राखेका गाडीहरु छन्। चौबाटोमा ‘STOP लेखिएको एउटा बोर्डलाई हावाले ढलाउन खोज्छ हरेकपल्ट। त्यही बोर्डनेर आएर कोहिबेला कुनै स्कूल बस रोकिन्छ। ‘मेलबक्स’को मास्तिर परेको शीत चुहिएर फुत्त झर्छ। आज कुनै चिठ्ठी या सामानको अभिलाषा छैन।
‘अडिसन’को क्लासमा ‘ब्राड पिट’ को कुरा गर्दा प्रोफेसर ‘रक्स्यान’ खुब लजाइन् भन्थिन् समुनाजीले। ‘मेरील स्ट्रीप’ का फोटोहरुले ‘एक्टर कोलाज’ बनाइसकेर ‘टम सेपार्ड’ को ‘फूल फर लभ’ का ‘मोनोलग’ हरु ‘रिहर्स’ गर्दैछिन् उनी। ‘एक्सेन्ट’ र ‘डिक्सन’ मा बढी काम गर्दैछिन्। म ‘शर्ली मेक्लेन’ को एउटा ‘मेमोयर’ देखाएर भन्छु, “यो कुकुर–बूढीले सही लेख्दिरैछे।” हामीले ‘स्टील म्याग्नोलियाज्’ मा ‘शर्ली मेक्लेन’ ले जतिबेला पनि आफूजत्रै कुकुर घिच्याउँदै हिँडेको देखेका थियौँ। बाहिर फेरि हिउँ पर्न थालेको छ। हिउँ नपर्दा पनि कुकुर भुकेको त सुनिँदैन यतातिर। अलि बेस्सरी हावा चल्दाचाहिँ ‘भूमरीले लान्छ कि क्या हो!’ भनेर डराउँदो रहेछु। अघि ‘मेलबक्स’ बाट चुहिएर झरेको शीतले यस्तो कविता लेख्ने बनाइदिएको छ मलाईः
प्रिय शीत,
इन्द्रेणीका चञ्चल रागजस्तै
पातहरुले सुसेल्ने चित्रजस्तै
आकाशझैँ भिरालो छानाबाट
तिमी उक्लिरहेको एउटा बिम्ब
मेरो सम्झनाको गहिराईमा अझै पनि उस्तै छ।
(मिजोरी – २०१६)
...
किम्बुका पातहरुले सुसेल्छन्। उही एकैनासको स्याईँ–स्याईँ। ‘कित्ली’ मा छु। धेरैबेर भयो ‘एप्रोन’ फुकालेर बसेको। ‘खुकुरी रम’ मा घरी ‘पेप्सी’ घरी ‘ड्यू’ मिसाउँदै गमला छेउको फूलसँगै बस्छु। आधा शहर निदाइसकेको छ। औँलाहरुमा मसलाका गन्ध अझै टाँसिएकै छन्। म सामानहरु एकदेखि अर्को टेबलमा सारिरहेको छु। किन हो, त्यस्सै छट्पटी भइरहेको छ। कहिलेकाहीँ एक्लो हुनु अनि त्यो एक्लोपनमा छट्पटी हुनु विनाअर्थै आनन्द लाग्छ। तर यस्ता छट्पटीहरु बयान गर्ने शब्दहरु छैनन् मसित।
म ‘लिभ उल्म्यान’ सँगसँगै ‘फेडेरिको फेलिनि’ को अपार्टमेन्टमा घुमिरहेको छु। “जाऊ, गएर आरामले सुत,” मैले समुना जीलाई अघि नै घर पठाइदिएको थिएँ। ‘थ्रीडी पेन्टिङ’ गर्दागर्दैको नीलो रङ विकासजीको हत्केलामा सर्लक्कै सरेको थियो। त्यही हत्केलामा गिलास अड्याएर ‘रम’ घुटुक्क पारेर उनी पनि अघि नै बत्तिहालेका थिए। साइकलका ‘प्याडल’ हरु घचेट्दै उनी कुनबेला भक्तपुर पुगे, सोध्दा पनि सोधिनँ, सोच्दा पनि सोचिनँ। ‘शिल्पी’ को हलको भुइँमा झुल टाँगेर लस्करै केटाहरु सुतेका छन्। नाटकको ‘सेट’ उस्तै छ, मौन। बाँसका कप्टेराहरुले यहाँ यथार्थ र कल्पनाको मिश्रित रङहरु पोतिदिएझैँ देख्छु। रङको भाषा कहिले बुझेँ, कहिले बुझिनँ। यतिखेरका रङहरु ठ्याक्कै कस्ता छन्, म भन्न सक्दिनँ।
पानीको बोतल छचल्किएपछि लाग्छ, ४.४ को कम्पनले भर्खरै छोएर गयो। हैन रहेछ। पुरै खारिन नपाएको घ्यूजस्तै पानाका काला अक्षरहरु मलाई सधैँ आफूजस्तै लाग्छन्। कमिलाको एक लस्कर पानाको फेदबाट माथितिर पुग्छन् र सलाईको बट्टाछेउ पुगेर रुमल्लिन्छन्। घुमौरो धुप खरानी झार्दै सल्किरहेको छ। धुवाँको परिधि र शक्तिको केन्द्रबाट भागेर/उम्केर २–४ वटा लामखुट्टे मेरो तिघ्रातिर घुम्न थाल्छन्। पैतालाका छालाहरु भत्भत पोल्दै छन्। म टेबुलको मुन्तिर खुट्टा पसार्छु।
बट्टामा अन्तिम खिल्ली बाँकी बसेको छ। चुरोटको गन्ध औँलाको कापहरुमा टाँसिन्छ। मसलाका गन्धहरु विस्तारै विस्थापित हुन्छन्। ‘BERGMAN’ को ‘GM’ छोपिनेगरी फुत्त एक ढिको खरानी झर्छ। म फुस्स फुकेर पन्छाइदिन्छु। जहाज एकदमै नजिकबाट उडेझैँ लाग्छ। यो टोलमा कुकुरहरु छैनन्। नत्र कुकुरको झिँझोलाग्दो भुकाईमा अभ्यस्त हुन सक्ने मान्छे म हैन। म लेख्ने मान्छे हो भन्ने कुराले एकफेर अनायासै झक्झक्याउँछ। तास फिटेर छोडेजस्तै यो किताबका हरेक अध्यायहरु फिटेर अन्धाधुन्ध पढ्दापनि उत्तिकै हुन्थ्यो जस्तो लाग्छ।
सायद पढाईको सिलसिला टुटेको धेरै भएछ। यसपाली पढ्दा–पढ्दै एकपल्ट फेरी रात कटाइदिउँ जस्तो लागेको छ। यतिखेर कागहरु कराएका छैनन्। काग कराएपछि लामो सास फेर्दै आत्तिँदै भुक्ने कुकुरहरु पनि चुपचाप छन्, यदि यो टोलमा छन् भने। पृथ्वीको स्थापत्य सामान्य छ। मान्छेहरु आधी रातमा चिच्याउँदै बाहिर निस्किनुपरेको छैन। फेरि भुइँचालो आउनु पहिला मलाई यी अक्षर टाँसिएका पानाहरु छिचोलिसक्नु छ।
(काठमाडौँ– २०१५)
...
धेरै कुरा शान्त देखिएका छन्। झ्यालको खापामा राखेका नटराज, बुद्ध, आफ्नै तस्बिरका फ्रेमहरु अनि कफीको सुरिलो मग– सबै शान्त छन्। ‘रेभेर बीच’ मा शंखेकिराका ठूल्ठूला खबटाहरु भेटिएका थिए। तिनमा केही डबलहरु राखेर मैले झ्यालको खापामै सजाइदिएको छु। तल मूलढोकाबाहिरको बेञ्चमा बसेर पारीपट्टीको ‘पार्किङ् लट’ मा हेर्छु। खरानी रङको ‘कार’ को मुन्तिर ४, ५ वटा भँगेराहरु उफ्रिँदै छन्। ‘माउन्ट अबर्न सिमेटरी’ तिरबाट यति नै खेर एक हुल चराहरु म बसेको घरको माथितिर उडेका छन्। सडकको डिलमा अलिअलि पानी जमेको छ। हाम्रोतिर पर्ने जस्तै जुम्रे पानीमा भिज्दै म बेञ्चबाट उठ्छु र एकछिन त्यही डिलमा हेरिरहन्छु। माथि कोठामा ‘फ्रोस्वाँ त्रुफो’ को जीवनी मेरो सिरानीनेरै छ। ‘फोर हन्डे«ड ब्लोज’ र ‘जुल्स एण्ड जिम’ का दृश्यहरु अनायासै घुमिरहन्छन्। डिलमा पानी जमेको पनि मलाई अर्थपूर्ण लागिदिन्छ। एक्कैचोटी हैन, जुम्रे पानीले यो ठाउँको आयतन विस्तारै फराकिलो बनाउँदै गरेको पनि बिम्ब जस्तो लागिदिन्छ।
समय आफ्नो पक्षमा छ कि छैन भन्ने लेखाजोखामै जिन्दगीका अनेक दाउपेच पहिल्याएको हो। उहिल्यैको जस्तै संयोग अचेल फेरि आइपरेको छ। घडी हेर्दा कि १ः११, कि २ः२२ या ४ः४४ र ५ः५५ भइराखेको देख्छु।
“यो त ‘कोइन्सिडेन्स्’ मात्रै हैन होला नि त है दाइ!” भन्थ्यो किशोरले। अब उतिबेला जे पनि संकेत झैँ लाग्ने बेला थियो। संयोग मात्रै हो भन्ने त मैले पनि मानिनँ।
“ए दाइ, एउटा हरर फिल्म हान्दिम् यार। माक्कसम! सई हुन्छ। साइकोलोजिकल।”
त्यसपछि कति रात त्यसकै गन्थन गर्दै कटाएकै हो। न त्यो फिल्म बन्यो, न त्यस्ता संयोगलाई नकार्न सकियो, न अहिले फेरी त्यस्तै संयोग आइपरेको बेला त्यतिबेलाका किस्सा सम्झिनै छाडिएको छ। समय आफ्नो पक्षमा छ कि छैन भन्ने लेखाजोखा त अझैपनि सकिएको छैन। ‘वसन्तपूर’ मा ‘अग्र्यानिक टी–सप’ को पछाडितिरको ‘लोकेसन’ मा ‘स्मोक’ हानेर ‘ब्ल्याक एण्ड ह्वाइट’ दृश्यहरु खिच्ने अनि अग्लो ‘प्लेटफर्म’ हरु राखेर ती ‘फ्रेम’ हरु अलि उँचो देखाउनलाई ‘चीट’ गर्ने योजना कुनबेला हरायो, ठ्याक्कै भन्न सकिँदैन। ‘प्रज्वल’ ले ‘क्र्याप्स् लास्ट टेप’ गर्दाखेरीको अँध्यारो ‘सेटिङ्’ अनि ‘क्यारेक्टराइजेसन’ को ‘रेफेरेन्स’ दिमागमा खेलाउँदा–खेलाउँदै कुनबेला स्वाट्टै हरायो, कसैसँग त्यसको पनि जवाफ छैन। समय हाम्रो पक्षमा छ कि छैन भन्ने कुराको लेखाजोखा त अझैपनि गरिरहेकै छौँ।
(बस्टन– २०१७)